कीवर्डहरू -

कोशी र मधेश प्रदेशमा डिजिटल संवाद ४.० सम्पन्न, डिजिटल प्रदेश बारे वृहत छलफल

कोशी र मधेश प्रदेशमा डिजिटल संवाद ४.० सम्पन्न, डिजिटल प्रदेश बारे वृहत छलफल

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल संवाद ४.० कोशी र मधेश प्रदेशमा सम्पन्न भएको छ ।

प्रदेशको डिजिटल सक्षमताको मापन गर्ने प्रयास अनुरूप गत वैशाख ४ गते विराटनगरमा डिजिटल कोशी संवाद र वैशाख ६ गते जनकपुरमा डिजिटल मधेश संवाद आयोजना भएको हो । अब यसपछि अन्य ५ वटा प्रदेशमा पनि डिजिटल संवाद ४.० हुनेछ ।

कोशी र मधेश प्रदेशमा आयोजना भएको डिजिटल संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल भएको थियो ।

\"\"

डिजिटल कोशी संवाद ४.० मा प्रमुख अतिथिको रूपमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको उपस्थिति रहेको थियो भने अतिथिको रूपमा कोशी प्रदेशको सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, चेम्बर अफ मोरङका अध्यक्ष सुयश प्याकुरेल, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम कोशी प्रदेशका आईटी तथा ई-गभर्नेन्स विज्ञ निरज दाहालले कोशी प्रदेशको डिजिटल गभर्नेन्स बारे प्रस्तुती दिएका थिए ।

\"\"

सक्षम डिजिटल प्रदेश बारे प्यानल छलफल समेत भएको थियो । छलफलमा कोशी प्रदेशको योजना आयोगका पूर्व उपाध्यक्ष सुबोध प्याकुरेल, गाउँपालिका महासंघ कोशीका अध्यक्ष आयुव अन्सारी, कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश वस्नेत, पूर्वाञ्चल विश्वविद्यालयका डेपुटी डीन मनोज कुमार हलवाई, जनरल टेक्नोलोजीका प्रबन्ध निर्देशक सुनैना घिमिरे र डायनामिक ईआरपीका सहसंस्थापक सोम कुमार शाह वक्ताको रूपमा थिए । उक्त शत्रलाई आइसिटी विज्ञ हेमपाल श्रेष्ठले सहजीकरण गरेका थिए ।

यस्तै वैशाख ६ गते सम्पन्न भएको डिजिटल मधेश प्रदेश ४.० मा प्रमुख अतिथिको रूपमा मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा कमर्स मन्त्री महेश प्रसाद यादवको सहभागीता थियो ।

यस्तै विशिष्ट अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि गणेश शाह, मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष नटु प्रसाद चौधरी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कार्यवाहक प्रमुख सचिव किशोर कुमार चौधरी र जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार शाहको उपस्थिति थियो ।

कार्यक्रममा प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम मधेश प्रदेशका आईटी तथा ई-गभर्नेन्स विज्ञ कृष्ण कुमार शाहले मधेश प्रदेशको डिजिटल गभर्नेन्स बारे प्रस्तुती दिएका थिए ।

डिजिटल मधेश ४.० मा डिजिटल प्रदेश बारे प्यानल डिस्कसन समेत भएको थियो । यसमा वक्ताको रूपमा मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष नटु प्रसाद चौधरी, जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार शाह, मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयका उप सचिव देवेन्द्र झा, लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जलान र इन्फोटेक नेटवर्क्सका प्रबन्ध निर्देशक सतिस यादव थिए । उक्त उक्त शत्रको सहजीकरण आइसिटी विज्ञ हेमपाल श्रेष्ठले गरेका थिए ।

\"\"
डिजिटल मधेश संवाद

गत वर्ष पनि आइसीटी फाउन्डेसन नेपालले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना गरेको थियो । यस वर्ष पनि कोशी प्रदेशको राजधानी विराटनगरमा डिजिटल कोशी संवाद र मधेश प्रदेशको राजधानी जनकपुरमा डिजिटल मधेस संवाद आयोजना भइसकेको छ ।

बाँकी प्रदेशमा पनि लगत्तै कार्यक्रम हुनेछ जनाइएको छ । यस वर्ष गण्डकी प्रदेशको पोखरामा प्रदेश संवादको समापन हुनेछ ।

\"\"

सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित एक पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ ।

आयोजकले ग्रान्ड प्रोग्रामको रुपमा जुन तेस्रो साता काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने जानकारी दिएको छ । गत वर्षदेखि प्रदेशसहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो ।

सातै प्रदेशमा आयोजना हुने कार्यक्रम र सहभागिताको लागि www.digitalsamvad.org हेर्न सकिनेछ । संवादमा निःशुल्क सहभागी हुने सकिने छ ।