कीवर्डहरू -

पाँच विधामा सरकारले वितरण गर्‍यो नेसनल आइसिटी अवार्ड, क-कसले पाए ? 

पाँच विधामा सरकारले वितरण गर्‍यो नेसनल आइसिटी अवार्ड, क-कसले पाए ? 

सरकारले पाँच विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार वितरण गरेको छ । मंगलबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाँच विधामा ६ व्यक्ति तथा संस्थालाई नेसनल आइसिटी अवार्ड वितरण गरेको हो ।

विजेतालाई १ लाख नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । यस वर्ष पुरुषतर्फ नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ पूर्व सह-सचिव विरेन्द्र मिश्रलाई प्रदान गरिएको छ । सरकारी सेवालाई डिजिटलाइज गर्न महत्त्वपूर्ण योगदान दिएको भन्दै मिश्रलाई सरकारले सम्मान गरेको यो ।

यस्तै महिलातर्फ  नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ प्रा. तिमिला यमी थापा सम्मानित भएकी छन् । त्यसैगरी नेपालको सूचना प्रविधिमा क्षेत्रमा निजीक्षेत्रबाट उल्लेखनीय योगदान दिने २ कम्पनीलाई पनि सरकारले सम्मान गरेको छ ।

यस अन्तर्गत नेसनल आइसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि र गभर्नेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित भएका छन् ।

५ विधा मध्ये यस वर्षको नेसनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ मा सर्वोच्च अदालत सम्मानित भएको छ । नागरिकलाई प्रविधिमैत्री सेवा दिएको भन्दै सरकारले  सर्वोच्च अदालत सम्मान गरेको हो ।

यसका साथै नवप्रवर्तन तर्फ प्रिक्सा टेक्नोलोजी सम्मानित भएको छ । प्रविधिको क्षेत्रमा इन्नोभेटिभ प्रडक्ट बनाइरहेको प्रिक्सा नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको हो ।

नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्न सरकारले नेसनल आइसिटी अवार्ड वितरण गर्दै आएको छ ।

वि.सं. २०७४ जेठ १९ गते बसेको मन्त्रीपरिषद्‍को निर्णय अनुसार प्रत्येक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस मनाउन थालिदै आऐको छ ।