कीवर्डहरू -

चाडपर्वमा कालोबजारी गर्ने र गुणस्तरहीन वस्तु विक्री गर्नेलाई अनलाइनबाटै उजुरी दिन सकिने 

चाडपर्वमा कालोबजारी गर्ने र गुणस्तरहीन वस्तु विक्री गर्नेलाई अनलाइनबाटै उजुरी दिन सकिने 

चाडपर्वहरुको अवसरमा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र गुणस्तरहीन वस्तु विक्री वितरण गर्ने व्यक्ति तथा फर्महरूको सूचना अनलाइनबाटै दिन सकिने भएको छ ।

सरकारले कानुनबमोजिम कडा कारबाहीका लागि कोही कसैसँग सूचना भएमा हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा सूचना दिन आम उपभोक्तालाई सरकारले आग्रह गरेको छ ।

आसन्न चाडपर्वहरुको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुहरुको कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यबृद्धि, कालोबजारी र अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन वस्तु विक्री वितरण गर्नेजस्ता अनुचित कार्यहरु नगर्न नगराउन सम्पूर्ण उद्योगी, व्यवसायीहरुलाई सरकारले ध्यानाकर्षण गराएको छ ।

उपभोग्य वस्तुको विक्री वितरणसँग सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रहरुलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने सरकारले निर्देशन दिएको छ ।

अस्वभाविक मूल्यबृद्धि र कालोबजारी नियन्त्रण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक नाफाखोरी गर्ने र अस्वभाविक रुपमा मूल्य बृद्धि गरी कालोबजोरीमा संलग्न हुने जोकोहीलाई प्रचलित कानुनबमोजिम कडा कारवाही गर्न र सोको प्रतिवेदन सर्वसाधारण सबैको जानकारी लागि सम्बन्धित निकायबाट दैनिक रुपमा सम्प्रेषित गर्न सरकारले निर्देशन दिएको छ ।