कीवर्डहरू -

मैथिली विकिपिडियाका संस्थापक २१ वर्षिय नेपाली युवा, जो विश्वका टप १८ योगदानकर्तामा छानिए

मैथिली विकिपिडियाका संस्थापक २१ वर्षिय नेपाली युवा, जो विश्वका टप १८ योगदानकर्तामा छानिए

करिब एक महिना अगाडि विकिपिडियाले आफ्नो २० औं वार्षिकोत्सव मनायो । नन प्रफिट संस्था विकिमिडिया फाउन्डेसनबाट सञ्चालित विकिपिडिया ल्यारी सेञ्जर र जीमी वेल्सले सन् २००१ जनवरी १५ मा स्थापना गरेका हुन् ।

विकिपिडियामा हाल २ लाख ८० हजार भन्दा बढी व्यक्तिहरु हरेक महिना एडिट (सम्पादन) गर्छन् । अमेरिकाबाट सुरु भएको विकिपिडियामा अहिले ४ करोड ५० लाख भन्दा बढी लेखहरु करिब ३०० भाषामा अवस्थित रहेका छन् ।

विकिपिडिया हरेक महिनामा १५ बिलियन पटक पढिन्छ । यसको मतलब मानिसहरु हरेक सेकेण्ड ६ हजार पटक विकिपिडिया पढ्छन् ।

गत जनवरी १५ अर्थात माघ २ गते विकिपिडियाको २० औं वार्षिकोत्सव एकजना नेपाली युवाका लागि पनि विशेष रह्यो । किनभने विकिपिडियाले आफ्नो स्थापना दिवसको अवसरमा विश्वभरबाट विकिपिडियामा योगदान पुर्‍याउने उत्कृष्ट १८ जनालाई फिचर गर्‍यो । जसमा जनकपुरका २१ वर्षिय नेपाली युवा तथा मैथिली विकिपिडियाका संस्थापक तुलसी भगतको नाम पनि समावेश थियो ।

२१ वर्षिय तुल्सी भगतलाई मैथिली विकिपिडिया निर्माणमा योगदान पुर्‍याएको भन्दै विकिपिडियाले उत्कृष्ट १८ मा फिचर गर्‍यो ।

विकिपिडयाले विश्वभरबाट मलाई उत्कृष्ट १८ योगदानकर्तामा समावेश गर्नु गर्वको कुरा भएको तुल्सी भगतले बताए । ‘आफ्नो मातृभाषा मैथिलीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकियो,’ उनले आइसिटी समाचारसँग भने, ‘मैथिली भाषा अहिले लोप हुँदै गएको छ । यसको त्रियौटा स्क्रीप्ट पनि लोप हुँदै गएको छ ।’

त्रियौटा स्क्रीप्ट एकदम कमलाई मात्र थाहा भएको र आफुलाई पनि यो स्क्रीप्ट नआउने उनले जानकारी दिए । यस स्क्रीप्टलाई पुनर्जिवित गराउने आफुहरुको योजना रहेको उनले सुनाए ।

\"\"

सन् २०१४ नोभेम्बर ६ मा तुल्सी भगतसँगै विजय चौरासिया, विप्लव आनन्द, पंकज देव र संजोग देवले मैथिली विकिपिडियाको सुरुवात गरेका थिए ।

उनले मैथिली विकिपिडियामा पाँचसय भन्दा बढी लेखहरु लेखिसकेका छन् । मैथिली भाषाको विकिपिडियामा अहिले ९ हजार भन्दा बढी प्रयोगकर्ता छन् ।

मैथिली विकिपिडियाको पेज भ्यूज महिनामा १३ हजार भन्दा आउने गरेको छ । त्यस्तै २५ जना मासिक सक्रिय प्रयोगकर्ताले योगदान गरिरहेका छन् । मैथिली विकिपिडियामा २ लाख भन्दा बढी एडिट भएका छन् ।

कसरी सुरु भयो मैथिली विकिपिडिया ?

तुल्सी सानै देखि राजविराज स्थित आफ्नो मामाघरमा बसेर पढ्दै आएका थिए । एसएलसी पनि उनले मामाघरमा पढेरै पास गरेका हुन् । स्थानीय दाईहरुले सन् २०१४ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा इन्फो ल्याण्ड इन्स्टिच्युटमा एउटा इभेन्ट आयोजना गरेका थिए, जसमा उनी पनि सहभागी थिए ।

उक्त इभेन्ट मार्फत अंग्रेजी भाषाको विकिपिडिया भएको तर मैथिली भाषाको विकिपिडिया नभएको भगतले थाहा पाए । त्यसपछि सन् २००८ मा नै मैथिली विकिपिडया बनाउने भनेर अरु कसैले आवेदन दिएको तथ्य उनीहरुले थाहा पाए । तर त्यो आवेदनमा कुनै पनि काम भएन र त्यसलाई होल्डमा राखिएको थियो ।

\"\"

यो कुरा थाहा पाए पछि सन् २०१४ मा अमेरिकामा रहेको विकिमिडिया फाउन्डेसनको कार्यालयमा उनीहरुले अनलाइनबाट सम्पर्क गरे । त्यसपछि मैथिली विकिपिडियामा केही काम नभएको र केही काम भएपछि मात्र यसलाई सार्वजनिक गर्न सकिन्छ भन्ने कुरा विकिमिडियाबाट जवाफ आयो ।

मैथिली विकिपिडियामा काम गरेर यसलाई सार्वजनिक गर्ने कुरा उनीहरुको टिमले सोचे । त्यसपछि परीक्षणको चरणमा भगतको टिमले ३ महिनाको अवधिमा ३ हजार भन्दा बढी आर्टिकल प्रकाशन गरेपछि मात्र मैथिली विकिपिडिया सुरु भयो ।

नेपाली विकिपिडियामा पनि उत्तिकै सक्रिय

भगत नेपाली विकिपिडियामा पनि उत्तिकै सक्रिय छन् । उनले नेपाली विकिपिडियामा १२ हजार भन्दा बढी आर्टिकलहरु एडिट गरिसकेका छन् । भने ३०० भन्दा बढी आर्टिकल समेत लेखिसकेका छन् ।

उनी मैथिलीसँगै नेपाली विकिपिडियाको एडमीनको भूमिकामा छन् । एडमीन भएपछि अरू प्रयोगकर्ताहरुको एडिट चेक गर्ने काम पनि गर्ने गरेको उनी बताउछन् ।

‘कसैले लेखेको आर्टिकलमा गएर कसैले गलत मनसायले नकारात्मक कुराहरु लेखिदिएको छ भने त्यो पनि ठिक गर्ने कार्यहरु हामीले नै गर्नुपर्ने हुन्छ,’ उनी बताउछन् ‘कसैले विकिपिडियामा आफ्नो बारेमा आर्टिकल लेखेको छ भने त्यसलाई डिलिट गर्नुपर्ने हुन्छ । विकिपिडियामा प्रमोसन गर्न पाइदैन् ।’

\"\"

सन् २००२ जुन ३ मा सुरु भएको नेपाली विकिपिडियामा अहिले ३० हजार भन्दा बढी आर्टिकलहरु रहेका छन् । त्यस्तै ५१ हजार भन्दा बढी रजिष्टर प्रयोगकर्ताहरु रहेका छन् ।

नेपाली विकिपिडियामा ८३ जना मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । भने ७ जना एडमीन रहेका छन् । नेपाली विकिमिडियामा हालसम्म ९ लाख भन्दा बढी एडिट भएका छन् ।

उनले हालसम्म विकिमिडिया फाउन्डेसनका विभिन्न प्रोजेक्टमा ८९ हजार भन्दा बढी एडिट गरेर योगदान गरेका छन् ।

भगतले मैथिली विकिपिडियासँगै नेपाली विकिपिडिया, विकिमिडिया कमन्स, मिडिया विकी, मेटा विकी लगायतका प्रोजेक्टमा योगदान गरिरहेका छन् । अहिले विकिमिडियाले १५ भाषामा आफ्नो प्रोजेक्टहरु सञ्चालन गरेको छ ।

उनीहरुको टिमले राजविराजमा ‘ओपन नलेज फर अल’ भन्ने नन प्रफिट संस्था खोलेको छ । यसबाट राजविराजका सरकारी विद्यालयहरुमा डिजिटाइजेनस के हो, कम्प्युटर तथा इन्फरमेसन टेक्नोलोजीको ज्ञान पनि दिदैं आएका छन् ।

\"\"

साथै विकिपिडियाबाट कसरी जानकारी लिन सकिन्छ र कसरी त्यसमा जानकारी राख्न सकिन्छ भन्ने कुरा पनि सिकाइरहेको भगतले जानकारी दिए । उक्त संस्थामा उनी सूचना अधिकारीको रुपमा कार्यरत रहेका छन् ।

राजविराजबाट एसएलसी पास गरेपछि तुल्सी जनकपुरमा आएर कक्षा ११ र १२ पढे । अहिले उनी जनकपुरमै बीबीएस दोस्रो वर्षमा पढ्दै छन् । आगामी योजनाको बारेमा हामीले प्रश्न गरेपछि भगतले विकिपिडियालाई नछोड्ने बताए ।

‘बीबीएस पढेपछि बिजनेस गर्ने वा बैंकिङ क्षेत्रमा जाने योजना रहेको,’ उनी सुनाउँछन्, ‘ओपन नलेज फर अल संस्था मार्फत् सामाजिक कार्यहरु समेत गर्नेछु ।’