कीवर्डहरू -

‘माइ सेकेन्ड टिचर’ : क्याम्ब्रिजको प्लेटफर्ममा नेपालको शिक्षा (भिडियो)

१८ देशमा झन्डै एक लाखले पढिरहेको \'माइ सेकेन्ड टिचर\' यो वर्ष ५० देशमा पुग्दै छ । 

‘माइ सेकेन्ड टिचर’ :  क्याम्ब्रिजको प्लेटफर्ममा नेपालको शिक्षा (भिडियो)

बैशाख एक गते ‘माइ सेकेन्ड टिचर’ सुरुवात गर्दै गर्दा सुलभ बुढाथोकीले भन्दै थिए– मुलुकको शिक्षा प्रणाली व्यापक सुधार गर्ने हो भने प्रविधिलाई सँगसँगै लैजानै पर्छ ।

प्रविधिमा आधारित शिक्षाले जसरी पश्चिमा देशहरुले ‘सगरमाथा’ चुमे, त्यसको सिको हामीले गर्नै पर्छ । खच्चडमा किताब पुर्‍याउने हिमाली क्षेत्रमा इन्टरनेट पुर्‍याउने हो भने विकट नै भए पनि गुणस्तरीय शिक्षा दिन सकिन्छ ।

यही सोँच थियो सुलभसँग ।

नेपाल जस्तो असमान शिक्षा (भौगोलिकरुपमा र निजी र सरकारीबीच) भएको ठाउँमा समान रुपले कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ त ?

उनी यस्तै एउटा प्लेटफर्मको खोजीमा थिए, जसले विद्यार्थीलाई गुणस्तरीय शिक्षा र शिक्षकलाई प्रशस्त शैक्षिक सामग्री पस्किन सकोस् ।

उता सिंगापुरमा क्याम्ब्रिज स्कुलले ‘माइ सेकेन्ड टिचर’ प्लेटफर्म डिजाइन गरिरहको थियो ।

उनले थाहा पाएका थिए, ‘यो एकदमै उच्चस्तरका सिकाइ प्रणाली हो । यो संसारभर फैलिनेवाला छ ।’

‘त्यसो हो भने नेपालमा पनि किन नल्याउने त ?,’ उनले सोचे, ‘विश्वस्तरको यो शिक्षा प्रणाली नेपालमा ल्याउन पाए गजब नै हुन्थ्यो ।’

उनले सिंगापर क्याम्ब्रिज स्कुलमा प्रस्ताव राखे– ‘हाम्रो खर्चमा हामीले नै कोर्ष डिजाइन गर्छौं । हामीलाई रोयल्टी नतिरी वा एकदमै कम शुल्कमा यो प्लेटफर्म उपलब्ध गराउनु पर्यो ।’

नेपालका सामुदायिक विद्यालयहरुमा निशुल्क उपलब्ध गराउन पाउनु पर्ने प्रस्ताव पनि उनले राखे ।

साथै, उनले अर्को प्रस्ताव पनि राखे यही ‘डेभलप’ गरेवापत यसको ‘अपरेसन सेन्टर’ नेपाल मै हुनुपर्छ ।

क्याम्ब्रिज स्कुलले आईएनजी ग्रुपको बिगतलाई हेर्यो । उनीहरुसँग २० वर्षदेखि  शिक्षा क्षेत्रमा काम गरेको अनुभव थियो । आईटी कलेजहरु र काम गर्न सक्ने दक्ष जनशक्ति थिए । ‘यति देखेपछि सिंगापुरको क्याम्ब्रिज स्कुलले नेपालमा दिने निर्णय गरेको हो,’ उनी भन्छन् ।

उनले सोचे जस्तै विश्व प्रसिद्ध ‘डिलिटल लर्निङ प्लेटफर्म’ पाउने भए जुन नेपालको लागि पनि उपयुक्त छ ।

विश्वका १८ देशमा लागु भइसकेको र यो वर्ष ५० देशमा पुग्दै गरेको ‘माइ सेकेन्ड टिचर’ नेपालमा औपचारिक रुपमा सुरुवात भएको एक महिना भएको छ ।

\"\"

लामो दूरदृष्टिसहित सुरुवात भएको यस प्रोजेक्टको लागि यो धेरै कम समय हो ।

तर पनि यसबीचमा ‘माइ सेकेन्ड टिचर’ले पाएको प्रतिक्रियाबाट सुलभ निकै उत्साहित छन् ।

विद्यार्थी, शिक्षक, अभिभावकले ठूलो चाहना देखाएका छन् । सरकारले पनि यो प्राजेक्टलाई नजिकबाट हेरिरहेको छ ।
‘विद्यार्थी, शिक्षक, अभिभावकदेखि शैक्षिक संस्थाहरुबाट धेरै राम्रो प्रतिक्रिया आएको छ,’ सुलभले आइसिटी समाचारसँग भने, ‘यो सफल रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने प्रेरणा हो ।’

अझ महिना दिनमा आएको ग्राहक संख्याले पनि उनलाई आशावादी बनाएको छ । एक महिनामा माइ सेकेन्ड टिचरमा ग्राहक बन्ने विद्यार्थीको संख्या करिब २० हजार पुगिसकेको छ ।

यसलाई उनले ठूलो सफलता मान्छन् । अहिले यस प्लेटफर्ममा कक्षा १० को ४ वटा मात्र विषय उपलब्ध छन् ।
‘पाइलट टेष्टिङ’को लागि सामुदायिक विद्यालयहरुमा उनको टिम गएको थियो । लकडाउनभन्दा अगाडि नवलपरासीको सुनवल नगरपालिकाको पाँचवटा स्कुलमा छलफल भयो ।

‘त्यहाँका विद्यार्थी र शिक्षकबाट एकदमै राम्रो प्रतिक्रिया आएको छ,’ सुलभ भन्छन्, ‘विद्यार्थी र शिक्षकलाई राम्रो कोर्ष हुने हो भने उनीहरु उत्साहित हुन्छन् भन्ने देखिएको छ ।’

माइ सेकेन्ड टिचरबाट विद्यार्थीलाई बुझाउन सजिलो भएको शिक्षकहरुले प्रतिक्रिया दिएका छन् ।
सम्बन्धित मन्त्रालयबाट पनि सहयोग गर्ने बताइएको छ । उनले शिक्षा मन्त्रीसँगको छलफलमा केही परे सहयोग गर्ने प्रतिवद्धता पाएका छन् ।

त्यसैगरी, प्याब्सन, एनप्याब्सनहरुसँग धेरै नै बैंठक भइसकेका छन् । ति निकायहरुबाट पनि राम्रो प्रतिक्रिया आएको छ ।
यसले नेपालको शिक्षालाई सुधार गर्ने अपेक्षा उनको छ । यहाँ निजी स्कुल र सामुदायिकबीच जुन असमानताको खाडल छ त्यो यसले कम गर्न सक्ने उनले देखेका छन् ।

अर्कोतिर, मुलुकमा यसले रोजगारी सृजना गर्न महत्वपूर्ण योगदान गर्ने छ । यो प्रोजेक्टमा अहिले ३ सयभन्दा धेरैले काम गरिरहेका छन् । लकडाउन कै अवधिमा पनि एक सयभन्दा धेरैको नयाँ विज्ञापन खुलाएको उनी बताउँछन् ।

‘२०२४ सम्म हामीलाई कम्तिमा ५ हजार जनशक्ति चाहिन्छ,’ उनी भन्छन्, ‘हाम्रो लक्ष्य दश हजार पुर्याउने छ ।’
यो अवसर हुने भएपछि प्रत्येक दिन आफ्नो टिमले १८–१९ घण्टा काम गरिरहेको सुलभ बताउँछन् ।

के हो ‘माइ सेकेन्ड टिचर ?’

माइ सेकेन्ड टिचर अनलाइनबाट पढ्न सकिने एउटा ‘प्लेटफर्म’ हो । जसलाई विश्व प्रसिद्ध क्याम्ब्रिज स्कुल, सिंगापुरका शिक्षाविद्हरुले डिजाइन गरेका हुन् ।

यो सिकाई पद्धतिलाई क्याम्ब्रिज स्कुलहरुमा लागु गरेका छन् । सुलभका अनुसार अहिलेसम्म १८ देशमा झन्डै एक लाख विद्यार्थीहरुले पढिरहेका छन् भने यो वर्षभित्र ५० देशमा पुग्दै छ ।

हो, यही विश्व प्रसिद्ध ‘डिजिटल टिचिङ एण्ड लर्निङ प्लेटफर्म’ हो माइ सेकेन्ड टिचर । क्याम्ब्रिज स्कुलले डेभलप गरेको यो प्लेटफर्मलाई नेपालमा सुलभ अध्यक्ष रहेको आइएनजी ग्रुप र इनोभेटिभ टेकले ल्याएको हो ।

नेपालको कोर्ष भने सुलभको टिमले नै डिजाइन गरेको छ । पाठ्यक्रम विकास केन्द्र (सिडिसी) को कोर्षअनुसार शैक्षिक सामग्री डिजाइन भइरहेका छन् ।

अर्थात, नेपालमा विद्यार्थीको लागि जुन कोर्ष तयार गरिएको छ त्यसैका आधारमा डिजाइन गरिएको सुलभले बताए । ६ महिनाको तयारीपछि वैशाख १ मा नेपालमा सार्वजनिक गरिएको थियो ।

यसमा प्रयोग भएको भाषा पनि बोलिचालीको छ । सबै विद्यार्थीले बुझ्न सकुन् भनेर अंग्रेजी र नेपाली भाषा दुवै मिसाएर कोर्ष डिजाइन गरिएको छ ।

अहिले कक्षा दशको अंग्रेजी, गणित, विज्ञान र अर्थशास्त्र चार विषय मात्र डिजाइन भए पनि अर्को वर्षसम्म कक्षा ६, ७, ८, ९, ११ र १२ कक्षाको सबै कोर्ष तयार हदै छन् ।

उनीहरुले नेपालको लागि मात्र होइन क्याम्ब्रिजको अंग्रेजीको कोर्षका कन्टेनहरु पनि यहाँबाट पठाइरहेका छन् ।
‘घोकेर होइन, बुझिबुझि हाँसेर पढौं,’ भन्ने नै हाम्रो नारा छ,’ उनले भने, ‘यसले शिक्षकहरुलाई पढाउन सजिलो हुन्छ ।’ पढ्दापढ्दै केही अलमल भएमा शिक्षकसँग लाइभ छलफल गर्न सकिनेछ ।

यसमा विद्यार्थीसँगै शिक्षकहरुको लागि पनि छुट्टै तालिम र शैक्षिक सामग्रीहरु प्रशस्त छन् ।

विद्यार्थीको व्यक्तिगत प्रदर्शनीका आधारमा पढाउन सकिने गरी डिजाइन गरिएको छ । परीक्षामा विद्यार्थी वा समग्र स्कुलले कस्तो प्रतिफल ल्याउन सक्ला भन्ने यसबाट बुझ्न सकिने सुलभ बताउँछन् । अभिभावकले पनि आफ्ना छोराछोरीको पढाई कस्तो भनेर परीक्षण गर्न सक्छन् ।

‘२० वर्षदेखिको अनुभवले भन्छ हाम्रो शिक्षा क्षेत्रमा काही न काही मिसिङ पार्ट छ,’ सुलभ भन्छन्, ‘हाम्रो अध्ययनले पाठ्यक्रम एउटा प्रमुख कारण हो भन्ने देखियो ।’

शिक्षा सुधारको निम्ती सबैभन्दा पहिला आउने भनेको पढाउने शैली हो, त्यसपछि शिक्षक ।

राम्रो प्रतिफल नआउँदा शिक्षकलाई दोष दिने चलन छ । शिक्षकले राम्रो नपढाउँदा विद्यार्थी उत्तिण भएनन् भनेर धेरै अभिभावकको गुनासो आउँछ । यो सोँचलाई परिवर्तन गर्ने बेला भएको सुलभ बताउँछन् ।

शिक्षकलाई दोष दिइरहँदा उनीहरुलाई कस्तो शैक्षिक सामग्री दिएका छौं त ? उनीहरुको सहयोगको निम्ती हामीले कहिले सोचेका छौं ? वैकल्पिक तरिका उपलब्ध गराएका छौं त ? भन्ने बारे पनि सोच्न जरुरी छ ।

शिक्षकलाई दोष दिइरहँदा उनीहरुलाई कस्तो शैक्षिक सामग्री दिएका छौं त ? उनीहरुको सहयोगको निम्ती हामीले कहिले सोचेका छौं ? वैकल्पिक तरिका उपलब्ध गराएका छौं त ? भन्ने बारे पनि सोच्न जरुरी छ ।

हरेक वर्ष शिक्षकहरुलाई कोर्ष सक्नु पर्ने बाध्यता हुन्छ ।

अर्को कुरा,‘टिचिङ लर्निङ कन्टेन’ अर्थात सिकाइको सामग्रीहरु परम्परागत भएको, व्यवहारिक नभएको गुनासो वर्षौंदेखि सुन्दै आएका छौं । अझ हाम्रा हिमाली क्षेत्रका विद्यालयमा त समयमा किताब पुग्दैनन् ।

‘यस्तो अवस्थामा हामीले विश्व प्रतिस्पर्धी शिक्षा दिन सकौंला ?,’ सुलभ प्रश्न गर्छन्, ‘अब हामीले गम्भिर भएर सोच्ने बेला भएको छ ।’

शिक्षा प्रणालीमा भएका यस्ता समस्या समाधान गर्न प्रविधिमा आधारित शिक्षा हुनुपर्छ भन्ने सुलभको मान्यता छ । हिमाली जिल्लामा खच्चडमा किताब पुर्‍याउनभन्दा इन्टरनेटमा आधारित शिक्षा पुर्याउन सजिलो छ भन्छन् सुलभ ।

‘टेक्नोलोजी समावेश नगरिकन अब नेपालको शिक्षामा व्यापक सुधार सम्भव छैन,’ उनले भने, ‘विद्यार्थी,  शिक्षक, स्कुल लिडर, अभिभावक र सम्पूर्ण शिक्षालाई माथि लैजान शिक्षामा टेक्नोलोजी चाहिन्छ ।’

‘विकसित देशले यही गरिरहेका छन् । हामी किन पछि पर्ने,’ उनी भन्छन् ।

माइ सेकेन्ड टिचर कसरी लिने ?

नेपाल र सिंगापुरको शिक्षा स्तर तुलना गर्न नसकिने भएकाले नेपालको परिस्थितिअनुसार संचालन गर्न सकिने गरी यसको मोडल तयार गरेको सुलभ बताउँछन् ।

सिंगापुरलगायतका अन्य देशमा मोबाइल एप र वेबसाइटबाट चलिरहेको छ । नेपालमा यो सँगै केही नयाँ तरिकाले यसको सुरुवात गरेका छन् ।

माइ सेकेन्ड टिचर प्रयोग गर्ने पहिलो माध्यम ‘नेपाल डट माइसेकेन्ड टिचर डट कम’ हो । यसको प्रयोग गर्दा सुरु मै शुल्क तिर्नु पर्दैन ।

केही समयको लागि यसको अनुभव लिने र त्यसपछि राम्रो लाग्यो भने ग्राहक बन्न सकिन्छ ।

अर्को माध्यम भनेको मोबाइल एप हो । आईओएस र एन्ड्रोइड दुवै मोबाइलमा माइ सेकेन्ड टिचार एप उपलब्ध छ । त्यहाँबाट पनि यसको ग्राहक बन्न सकिन्छ ।

यति हुदाहुदै पनि हाम्रा गाउँगाउँमा इन्टरनेट पुगेको छैन् । पुगे पनि गुणस्तरीय छैन । यही समस्यालाई समाधान गर्न भनेर सामुदायिक विद्यायमा डिस्प्ले युनिटबाट सबै कक्षालाई पढाउन सक्नेगरी डिजाइन भएको छ् ।

यसलाई पनि इन्टरनेट त चाहिन्छ तर वेबसाइट वा एपलाई जस्तो स्पिडको चाहिदैन ।

साउनभित्र विना इन्टरनेट वा अति कम स्पिडको इन्टरनेटमा चल्न सक्ने डिस्प्ले युनिट बनाउने भनेर सिंगापुरको कम्पनी, एसर र माइ सेकेन्ड टिचर नेपाल मिलेर अध्ययन गरिरहेका छन् । साउनभित्रमा यो मोडल तयार हुदै छ ।

त्यसपछि भने ग्रामीण क्षेत्रका स्कुलहरुमा डिस्प्ले युनिटको प्रोजेक्टर वा टिभि मार्फत यो पढाउन सकिने सुलभ बताउँछन् ।

यसको मूल्य कस्तो छ ?

विद्यार्थीको लागि सहज उपलब्धतासँगै यो सबैले प्रयोग गर्न सक्ने होस् भनेर ग्राहक शुल्कलाई पनि सस्तो बनाएको सुलभको भनाइ छ ।

यो कोर्ष सिंगापुर क्याम्ब्रिज स्कुलमा निकै महंगो छ । एउटा विषयको सय डलर लाग्ने सुलभ बताउँछन् ।

‘हामीले बिजनेस मोडलबाट फ्रेन्चाइज ल्याएर नेपाली कोर्ष दिन खोजिएको भए यो सम्भव थिएन,’ उनी भन्छन्, ‘त्यसैले हामीले यसलाई पैसा कमाउने तरिकाले मूल्यलाई महत्व दिएका छैनौं ।’

यो कोर्ष नेपालमा लागु गर्ने सम्झौता हुदा नै रोयल्टी नलाग्ने र लागे पनि एकदमै कम लाग्ने सहमति भएकाले नेपालमा सस्तो दिन सम्भव भएको उनको भनाइ छ ।

अहिले अंग्रेजी, गणित, विज्ञान अर्थशास्त्र चारवटा विषय उपलब्ध छन् । यी विषय ३ महिनाको प्याकेजमा १ हजार ८ सय ७० रुपैयाँ तोकेका छन् । सिंगापुरमा भने यीनै ४ विषयको ९ महिनाको ४ सय डलर शुल्क लिएको उनले बताए ।
अहिले तोकिएको शुल्क सुरुको परीक्षण भएको र यसको पुनरावलोकन गर्ने उनीहरुको योजना छ ।

‘भोलि यो मूल्य सरकारी वा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले तिर्न नसक्ने अवस्था आउन सक्छ,’ सुलभ भन्छन्, ‘त्यसको लागि हामीले छुट्टै प्याकेज ल्याउँदै छौं ।’

उनीहरुले सरकारी स्कुललाई मूल्य पनि सार्वजनिक गर्ने तयारी गरिरहेका थिए । त्यसैबीच, लकडाउन सुरु भएपछि रोकिएको छ ।

‘एकदमै कममा मूल्य राख्दै छौं,’ सुलभले भने, ‘हाम्रो लक्ष्य पैसा कमाउनेभन्दा पनि शिक्षामा केही योगदान होस् भन्ने हो ।’

सरकारको सहयोग

शिक्षा प्रणालीलाई सुधार गर्न निजी क्षेत्रले मात्र सम्भव छैन । सरकारी र अन्य सम्बन्धित निकायले पनि यसमा साथ दिन आवश्यक छ ।

माइ सेकेन्ड टिचरको बारेमा सुलभले सरकारसँग पनि छलफल गरेका छन् । सरकारले सबैको लागि शिक्षा भनेर विभन्न कार्यक्रम चलाइरहेको बेला यो ठूलो सहयोग हुन सक्छ ।

त्यसको लागि सरकारले पूर्वाधार निर्माणमा सहयोग गरे दूरदराजका विद्यार्थी, शिक्षक तथा अभिभावकलाई ठूलो राहत हुने सुलभको भनाइ छ । यस बारेमा उनीहरुले शिक्षा मन्त्रीसँग भेटेर छलफल गरिसकेका छन् ।

सरकारले कम्तिमा ग्रामिण क्षेत्रका स्कुलमा बत्ति र इन्टरनेट पुर्‍याइदिए हुन्थ्यो भन्ने चाहना उनको छ । स्थानीय सरकारलाई पनि बत्ति, इन्टरनेट र डिस्प्ले आइटम बनाइदिन आग्रह गरेका छन् ।

उनीहरुले यसबीचमा स्थानीय तहमा गएर पनि छलफल गरेका थिए । सुनवल नगरपालिकामा गएर स्कुलहरु, मेयर, उपमेयर, वडा अध्यक्षहरुसँग छलफल गरेका थिए ।

‘उहाँहरुले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर पूर्वाधार निर्माण गर्ने बताउनु भएको छ,’ सुलभले सुनाए, ‘बरु तीन किलोमिटर बाटो कम बनाएर भए पनि यसमा लगानी गर्ने भन्नु भएको छ ।’

मुलुकमा शिक्षाको असमानता धेरै छ । पहिलो त सरकारी र निजी स्कुलबीच ठूलो खाडल छ । अर्को कुुरा, कक्षा १२ वा स्नातक उत्तिर्ण गरेका विद्यार्थीमा सिपको विकास नै हुदैन। जसले गर्दा दक्षता विना नै खाडी मुलुक जान बाध्य छन् ।

एउटै विश्वस्तरको कोर्ष सरकारी र निजी स्कुलका विद्यार्थीलाई लागु गर्दा त्यस्तो खाडल कम हुदै जाने विश्वास सुलभको छ ।

शिक्षामा रहेको यस्तो असमानता र खाडललाई सम्बोधन गर्ने लक्ष्य यस कोर्षको भएको सुलभको भनाइ छ । यसले गर्दा सरकारले पनि यसलाई सहयोग गर्नेेमा विश्वस्त छन् ।

एउटै विश्वस्तरको कोर्ष सरकारी र निजी स्कुलका विद्यार्थीलाई लागु गर्दा त्यस्तो खाडल कम हुदै जाने विश्वास सुलभको छ ।

साथै, निजी र सरकारी स्कुलका शिक्षकले एउटै शैक्षिक सामग्री प्रयोग गर्न पाउनेछन् । शिक्षकले आफ्नो सामग्री राख्न र सेयर गर्न सक्छन् ।

क्याम्ब्रिजले धेरै अध्ययन र अनुसन्धान गरेर सबैको लागि हुने प्लेटफर्म तयार गरेको छ । नेपालमा पनि सबै क्षेत्रबाट यसको आत्मसाथ गर्न सकेमा पक्कै पनि अहिलेको शिक्षा प्रणालीमा नयाँ आयाम थपिने विश्वास सुलभको छ ।