कीवर्डहरू -

नेपाल मै अक्सिजन सिलिण्डर उत्पादनको सफल परीक्षण, अब ‘मास’ उत्पादनमा जाने (भिडियो)

नेपाल मै अक्सिजन सिलिण्डर उत्पादनको सफल परीक्षण, अब ‘मास’ उत्पादनमा जाने (भिडियो)

नेपालमै पहिलो पटक अक्सिजन सिलिण्डर उत्पादनको दोस्रो परीक्षण सफल भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले अक्सिजन सिलिण्डर उत्पादनको दोस्रो परीक्षण सफल रूपमा गरेको हो ।

सोमबार राति नाष्टमा गरिएको अक्सिजन सिलिन्डरको दोस्रो परीक्षण सम्पन्न भएको हो । दोस्रो परीक्षणबाट उत्साहित भएको नाष्टका बरिष्ठ प्राविधिक अधिकृत डा. इन्जिनियर शंकर ढकालले बताए । नास्टले हिजो गरेको परीक्षणमा अक्सिजन सिलिन्डरमा ५०० बढी बार प्रेसर दिन सफल भएको छ ।

‘अक्सिजन सिलिन्डर परीक्षण गर्दा ३७५ बार प्रेसर सम्म दिएर हेरौं त्यसपछि रप्चर भएपनि ठिकै छ भन्ने थियो । तर हाम्रो अनुमान भन्दा बढी ५०० बार प्रेसर दिदा अक्सिजन सिलिन्डर केही पनि भएन,’ उनले भने ।

त्यसपछि ५१०-२० बार प्रेसर दिदा अक्सिजन सिलिन्डर बलास्ट भएको थियो । बलास्ट हुँदा सिलिन्डरको तलपट्टिको बटमको प्लेट मात्रै रप्चर भएको थियो ।

नेपालमा उपलब्ध स्रोत साधनको प्रयोग गरेर अक्सिजन सिलिन्डर बनाइएको हो । ‘पहिलो परीक्षणबाट मास उत्पादनमा जान हामी अलिकति डराएका थियौं । सेकेण्ड चरणको परीक्षण गरेर मात्रै मास उत्पादनमा जानुपर्छ भन्ने थियो,’ ढकालले आइसिटी समाचारसँग भने, ‘अब हामी ढुक्क भएका छौं । हामी अब नेपालमै अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्छौं ।’

‘सिलिन्डरको तलको प्लेटको थिकनेसलाई बढाएर एक खालको परीक्षण गर्छौं । त्यसपछि त्यसलाई हामी सार्वजनिक गर्छौं,’ ढकाल भन्छन्, ‘नाष्टले रिसर्च एण्ड डेभलपमेन्टको काम मात्रै गर्ने हो । यसले आफै उत्पादन गर्दैन् ।’

ढकालले अगाडि भने, ‘उत्पादनका लागि हामीले बनाएको डिजाइन र स्पेसिफिकेसनमा काम गर्न सक्ने उद्योगसँग एक चरणको एमओयु गर्छौं । त्यसपछि हामीले त्यसलाई स्ट्यान्डर्ड बनाउन नापतौल विभाग र नेपाल स्वास्थ्य व्यवसायी परिषदसँग कुरा गर्छौं ।’

नाष्टले नेपालमै पहिलोपटक अक्सिजन सिलिन्डर ‍टेष्टका लागि ‘टेष्ट सेटअप’ समेत बनाएको छ । अब उत्पादन भएको सिलिन्डर नाष्टमै परीक्षण गर्न सकिन्छ ।

\"\"

उनी भन्छन्, ‘उत्पादन भएको अक्सिजन सिलिन्डर बलास्ट हुने गरी परीक्षण गर्छौ । तर २२५ केजी पर सेन्टिमिटर स्क्वायरसम्म राख्दा खेरी केही पनि नहुने भइसकेपछि त्यो सिलिन्डर पास भन्ने हिसाबबाट हामी अगाडि बढाउछौं ।’

नाष्टले परीक्षण गरिरहेको अक्सिजन सिलिन्डरमा चौधरी ग्रुप र युएनडिपीले यसमा लगानी गर्न तथा वितरण गर्न चासो देखाएका छन् ।

‘हाम्रो डिजाइन र गुणस्तर अनुसारको अक्सिजन सिलिन्डर बनाउन सक्छु भनेर कोही आउछ भने उहाँहरुलाई हामीले एक खालको अवसर दिन्छौं । उहाँहरुले बनाउनु हुन्छ । त्यसपछि हामीले ल्याएर परीक्षण गर्छौं,’ उनले भने ।

पहिलो परीक्षण गर्दा देखिएका कमजोरीलाई सुधार गर्दै नाष्टले दोस्रो परीक्षण गरेको थियो । दोस्रो परीक्षण गर्दा ५०० बार प्रेसर पार गरिसकेको तेस्रो परीक्षण गर्न जरूरी नभएको ढकालले बताए ।

अक्सिजन सिलिन्डरलाई १५० बार प्रेसर चाहिन्छ । यसको परीक्षण गर्दा २.५ गुणा बढी प्रेसर दिएर हेरौ भन्ने थियो त्यो पनि पुरा गरेर ५०० बार प्रेसर क्रस भएपछि तेस्रो परीक्षण गर्नु नपर्ने उनले बताए  ।

तर पनि आन्तरिक सन्तुष्टिका लागि अर्को परीक्षण पनि गर्ने ढकालले जानकारी दिए । अब मास उत्पादनका लागि तयार भएको पनि उनले बताए ।

नेपालमै अक्सिजन सिलिन्डर बनाएर विदेशमा पनि निर्यात गर्न सकिने ढकाल बताउँछन् ।  उनी भन्छन्, ‘नेपालमा आवश्यक पर्ने अक्सिजन सिलिन्डर मात्रै उत्पादन गर्न सकियो भने पनि यहाँको पैसा बाहिर जानबाट बच्छ ।’ नेपालमै बनेको यो सिलिन्डर अहिले बजारमा पाइने मूल्य भन्दा सस्तो हुनेछ ।