कीवर्डहरू -

वैशाखमा मोबाइल बैंकिङ सेवा वृद्धि हुदा अरु सबै विद्युतीय कारोबार घटे

वैशाखमा मोबाइल बैंकिङ सेवा वृद्धि हुदा अरु सबै विद्युतीय कारोबार घटे

वैशाख महिनामा अधिकांस विद्युतीय कारोबारमा कमी आएको छ। मुलुकमा विद्युतीय कारोबार वृद्धि भइरहेको बेलामा दोस्रो पटकको लकडाउन सुरु भएको महिनामा चैतमा भन्दा कारोबार घटेको हो ।

अधिकांस विद्युतीय माध्यमका कारोबार घटेको बेला मोबाइल बैंकिङको कारोबार भने केही मात्रामा बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्यांकअनुसार चैत महिनामा भन्दा मोबाइल बैंकिङ कारोबार वैशाखमा बढेको छ ।

तथ्यांकअनुसार ४८ अर्ब ८८ करोड ७० लाख रुपैयाँको मोबाइल बैंकिङ कारोबार भएको छ । यो चैत महिनाको २३ करोड ५० लाख रुपैयाँले बढी हो । चैत महिनामा मोबाइल वैंकिङबाट ४८ अर्ब ६५ करोड ५२ लाख रुपैयाँको कारोबार भएको थियो ।

मोबाइल बैंकिङको कारोबारसँगै यसको भुक्तानी संख्या (ट्रान्जेक्सन नम्बर) मा पनि वृद्धि भएको छ । चैत महिनामा मोबाइल बैंकिङको ट्रान्जेक्सन संख्या १ करोड १० लाख ४७ हजार ४ सय ७४ रहेकोमा वैशाख महिनामा १ करोड १६ लाख १६ हजार ५ सय ६६ पुगेको छ ।

यो महिना एटिएम, कनेट आईपीएस, इन्टरनेट वैंकिङ, मोबाइल वालेट, क्युआर कोड, पिएसओ, इकमर्शलगायतका माध्यमबाट हुने विद्युतीय भुक्तानी घटेको छ ।

लकडाउनका कारण बजार बन्द भएसँगै वैशाख महिनामा क्युआर कोडबाट हुने भुक्तानी घटेको छ । चैतमा २ अर्ब ७२ करोड २० लाखको क्युआर कोडबाट भुक्तानी भएकोमा बैशाख महिनामा २ अर्ब ५२ करोड ९० लाखको भुक्तानी भएको छ ।

त्यस्तै, मोबाइल वालेटबाट हुने भुक्तानी चैतमा ११ अर्ब २ करोड १० लाख रुपैयाँ भएकोमा वैशाखमा १० अर्ब १० करोड ६० लाख भएको छ ।

त्यस्तै, इन्टरनेट बैकिङबाट हुने कारोबार १० अर्ब २१ करोड ५० लाखबाट १० अर्ब ८ करोडमा झरेको छ । त्यस्तै, पछिल्लो समय उच्च कारोबार गरिरहेको कनेट आईपीएसबाट हुने भुक्तानी पनि वैशाख महिनामा घटेको छ ।

तथ्यांकअनुसार चैतमा २ खर्ब ११ अर्ब ४३ करोड २० लाख रुपैयाँको भुक्तानी भएकोमा वैशाखमा १ खर्ब ७३ अर्ब ८७ करोड ९० लाखको कारोबार भएको छ ।

त्यस्तै, आटीजीएस, इसीसी, डेविट कार्ड, क्रेडिट कार्डबाट हुने भुक्तानीमा पनि कमी आएको छ ।