कीवर्डहरू -

क्लाउड कम्प्युटिङ किन प्रयोग गर्ने ? यस्ता छन् फाइदा

क्लाउड कम्प्युटिङ किन प्रयोग गर्ने ? यस्ता छन् फाइदा

इन्टरनेटबाट भर्चुअल स्पेसमा सफ्टवेयर, सूचना, तथ्यांक र अन्य फाइलहरु शेयर गर्नुलाई क्लाउड कम्प्युटिङ भनिन्छ । आज साना साना कम्पनीदेखि ठूला ठूला कम्पनीमा क्लाउड कम्प्युटिङको प्रयोग हुने गरेको छ ।

क्लाउड कम्प्युटिङमा स्टोर गरेको कुनै पनि फाइललाई इन्टरनेट प्रयोग गरेर जहाँबाट पनि पहुँच पाउन सकिन्छ । उक्त फाइललाई एडिट र शेयर पनि गर्न सकिन्छ ।

गूगल ड्राइभ, ड्रपबक्स, जीमेल, फेसबुक, अमेजन वेब सर्भिसेस, आईबीएम क्लाउड लगायत क्लाउड कम्प्युटिङका उदाहरण हुन् ।

क्लाउड कम्प्युटिङ सस्तो पनि हुन्छ । क्लाउड कम्प्युटिङको प्रयोग गर्न हार्डवेयर, सफ्टवेयर, सेटअप आदी बनाउनु पर्दैन् ।

त्यसकारण तपाईले क्लाउड कम्प्युटिङ फाइदा पनि थाहा पाउन जरूरी छ । आज हामी तपाईलाई क्लाउड कम्प्युटिङको फाइदा बारे जानकारी दिदैछौं ।

विश्वव्यापी पहुँच

क्लाउड कम्प्युटिङको प्रयोगले तपाईंले आफ्नो डकुमेन्टहरु कुनै डिभाइसबाट विश्वको कुनै कुनाबाट हेर्न सक्नुहुन्छ ।

कुनै पनि कम्प्युटर वा डिभाइस जसमा इन्टरनेटको सुविधा छ, त्यहाँबाट सजिलै क्लाउड कम्प्युटिङ सिस्टमको प्रयोग गर्न सकिन्छ ।

तपाईंले कुनै डकुमेन्ट नबोकी घरमा बसेर वा ट्रिपमा भएको बेला पनि काम गर्न सक्नुहुन्छ । त्यसको अर्थ तपाईंको डाटा कुनै पनि व्यक्ति वा कम्पनीको कम्प्युटरमा सिमित हुने छैन ।

सजिलै सेटअप

क्लाउड कम्प्युटिङ सेट गर्न कुनै झन्झट गर्नुपर्दैन । कुनै पनि डिभाइसमा इन्टरनेटको सुविधा भएमा क्लाउड कम्प्युटिङ सिस्टमको सजिलै प्रयोग गर्न सकिन्छ ।

तपाईंले आफ्नो व्यक्तिगत सेटिङ र कन्फिगेरेसन गरेपछि अकाउन्ट बनाएर त्यसमा पासवर्ड हालेर आफूले चाहेको डिभाइसमा कनेक्ट गरेपछि तपाईं यसलाई प्रयोग गर्न सक्नुहुन्छ । कम्पनी वा व्यक्ति जसले पनि प्रयोग गर्न सक्ने हुँदा यसको प्रयोगकर्ता बढ्दै गएका छन् ।

धेरै स्टोरेज

क्लाउड कम्प्युटिङले आफ्ना ग्राहकहरुलाई केही स्पेस बिना शुल्क दिने गरेका छन् । उक्त निःशुल्क स्पेश आफुलाई पुगेन भने थप स्पेस खरिद गर्न सकिन्छ ।

स्पेस खरिद गरेपछि कम्पनी वा व्यक्तिले त्यो स्पेस लिएबापत तोकिएको शुल्क क्लाउड कम्प्युटिङ डेभलपर कम्पनीलाई मासिक वा वार्षिक रुपमा तिर्नुपर्ने हुन्छ ।

तर यसको प्रयोगले गर्दा खर्च कम लाग्ने हुँदा कम्पनीहरु वा कुनै व्यक्तिलेस्पेस लिँदा आफैलाई फाइदा हुन्छ । त्यस्तै क्लाउड कम्प्युटिङमा स्पेस सकिनेबारे कम्पनीहरु वा व्यक्तिले चिन्ता गर्नुपर्दैन ।

काम गर्न सहज

कम्प्युटरको भरमा चल्ने कम्पनीहरुलाई धेरै सफ्टवेयरहरुको आवश्यकता पर्दछ । तर हरेक कर्मचारीहरुको निम्ति कम्पनीले सफ्टवेयरहरु खरिद गरिदिन सक्दैन ।

त्यसको सट्टामा कम्पनीले क्लाउड कम्प्युटिङ कम्पनीलाई मासिक रुपमा पैसा तिरेर आफ्ना डाटाहरु क्लाउड कम्प्युटिङ सेभ गर्न सक्नेछन् ।

पछि कम्प्नीले हरेक कर्मचारीलाई चाहेअनुसारको डाटा र सफ्टवेयर क्लाउडबाट झिकेर सजिलै दिन सक्छ । यसो गर्दा कामहरु पनि एकै पटकमा सकिने हुन्छ ।

कम खर्च

क्लाउड कम्प्युटिङको प्रयोग गर्न व्यक्तिले आफ्नो डाटा अरु हार्डवेयर डिभाइसमा सेभ गरिरहन नपरेको हुनाले धेरै खर्च बचत हुन्छ ।

क्लाउड कम्प्युटिङले तपाईंको सिस्टमको हेरचाह गरिदिने हुनाले तपाईंले धेरै मेमोरी भएको कम्प्युटर खरिद गरिरहनुपर्दैन ।

क्लाउड कम्प्युटिङको एप्लिकेसन निःशल्क हुन्छ । मासिक वा वार्षिक रुपमा कम खर्चमा स्टोरेज थप गरेर पनि क्लाउड कम्प्युटिङ प्रयोग गर्न सकिन्छ ।