कीवर्डहरू -

राजनीतिको नयाँ ‘कुरुक्षेत्र’ बन्दै छ सामाजिक सञ्जाल !

राजनीतिको नयाँ ‘कुरुक्षेत्र’ बन्दै छ सामाजिक सञ्जाल !

नयाँ प्रविधिसँगै विकास भएका सामाजिक सञ्जाल आधुनिक युगको जीवनशैली बनेका छन् । सूचनाको स्रोतमात्र होइन पक्ष–विपक्षबीच बहस र ‘झम्टाझम्टी’ गर्ने थलो बनेको छ सामाजिक सञ्जाल ।

यसले व्यक्तिगत रुपमा सम्पर्क बढाउन र जानकारी लिन सहयोग गरे कै छ, तर आज मैले कुरा गर्न खोजेको सामाजिक सञ्जाल र राजनीतिक हो । हामीले हेर्दाहेर्दै सामाजिक सञ्जाल यस्तो ठाउँ बनेको जहाँ राजनीतिकबाहेक अरु केही छैन भन्ने भइसकेको छ ।

हाली देखिरहेका छौं, राजनीतिक दलहरुले आफ्ना कार्य र अजेण्डाहरु जनतामाझ पुर्याउन सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् ।

सामाजिक सञ्जाल यति ठूलो र प्रभावकारी माध्यम हो जसको माध्यमबाट कुनै पनि समाचार लाखौं मान्छेका बीचमा केही मिनेटमै पुग्नसक्छ । छोटो समयमै नयाँ तरगं उत्पन्न गर्न सक्ने भएकाले राजनीतिक दल र नेताहरुको लागि आमजनता माझ पुग्न सामाजिक सञ्जाल ठूलो माध्यम बनेको छ । त्यसैले त उनीहरु कुनै पनि कुरा सार्वजनिक गर्नुपर्यो वा टिकाटिप्पणी गर्नुपर्यो भने फेसबुक, ट्विटर, क्लबहाउस, टिकटक प्रयोग गर्छन् ।

सामाजिक सञ्जाल आज अधिकांश मानिसहरुको समाचारको स्रोत पनि हो । एक रिपोर्टका अनुसार आज तीन चौथाई मानिसहरुले सामाजिक सञ्जालबाट विभिन्न समाचारहरु लिन्छन् । राजनीतिक समाचार त हाम्रो देशमा झनै व्यापकरुपमा यसैमाध्यबाट सार्वजनिक गरिन्छ ।

राजनीतिक दल र नेताहरु कुनै पनि कुरा सार्वजनिक गर्नुपर्यो वा टिकाटिप्पणी गर्नुपर्यो भने फेसबुक, ट्विटर, क्लबहाउस, टिकटक प्रयोग गर्छन् ।

सामाजिक सञ्जालले समाचार प्रसारणमा मात्रै नभएर समाचार उपभोगमा पनि आमुल परिवर्तन ल्याएको छ । हिजोको दिनमा हामी समाचारका निष्क्रिय उपभोक्ता मात्रै थियौं । रेडियो, टेलिभिजन र पत्रपत्रिकाले छापेका र प्रसारण गरेका समाचार हामीले एकतर्फी रुपमा मात्रै लिने गथ्र्यौं ।

सामाजिक सञ्जालले समाचार उपभोग शैलीमा फरक ल्याएको छ । यसले दोहोर अन्र्तक्रिया सृजना गरेको छ । हामी एकतर्फीरुपमा सामाचार पढ्ने र सुन्नेमात्रै नभएर कुनै पनि समाचार वा धारणाप्रति टिकाटिप्पणी गर्न, जवाफ दिन, आलोचना गर्न सक्छौं । चित्त नबुझेको खन्डमा आफ्ना वैकल्पिक धारणाहरु व्यक्त गर्न सक्छौं। कुनै पनि सूचना वा समाचारको तार्किकता वा सत्यतामा प्रश्न उठाउन सक्छौं । यो सबै सुविधाको श्रेय सामाजिक संजाललाई जान्छ ।

अहिले सबैजसो राजनीतिक दल, भातृ संगठनका सामाजिक सञ्जालका पेज, अकाउन्ट रहेका छन् । साथै, दल र संगठनका नेताहरुका आफ्नै पेज, अकाउन्ट छन्, जहाँ लाखौं मानिसले उनीहरुलाई पछ्याइरहेका छन् ।  बिभिन्न पार्टीका सबै उच्च पदस्तहरुका ट्विटर एकाउन्ट निकै सक्रिय रहेको देख्न सकिन्छ ।आफ्नो पार्टीका नेत्तृत्वको गुनगानदेखि आफ्ना अजेण्डा, गरिरहेका राम्रा कामहरु, आगामी योजनाहरु राम्रोसँग प्रचार गरिरहेका छन् ।

नेपालमा सामाजिक सञ्जालमा युवा पुस्ताको चाँसो व्यापक छ । १८–३४ बर्षका उमेरसमुहका ब्यक्तीहरुले सामाजिक सञ्जाल सबैभन्दा बढिप्रयोग गर्ने गर्छन । यसैकारण पनि सामाजिक संजालले युवा पुस्ताको राजनीतिक विचार, आस्था र विश्वासलाई आकार प्रदान गर्न निकै महत्वपूर्ण भुमिका खेलेको प्रत्यक्ष रुपमा देख्न सकिन्छ ।

नेपाली युवाहरु कति छिट्टै सामाजिक सञ्जालबाट संचालित हुन सक्छन् भन्ने उदाहरण गत बर्ष मात्रै भएको ‘इनफ इज इनफ’ नामको आन्दोलबाट प्रष्ट देख्न सकिन्छ । गतवर्ष बालुवाटार अघि थोरै युवाहरु भेला भएर सरकारको विरोध गरे, केहि मागहरु राखे । २०२० जुन ९ का दिन फेसबुकमा एउटा ईनफ ईज ईनफ नाम ग्रुप बन्यो, उक्त ग्रुपमा दुई दिनमै एक लाखभन्दा बढी प्रयोगकर्ता आवद्ध भए।

देशव्यापी रुपमा युवाहरु सहभागी भएर आ–आफ्नो क्षेत्रको सडकमा उत्रिए । बालुवाटारको आन्दोलन सरकार विरुद्ध फैलिदै गयो । उक्त विरोधमा शतप्रतिशत पीसीआर परीक्षणको मागका अगाडि सारे । आन्दोलनमा आउने अधिकांशव्यक्ती १८ देखि २५ बर्ष उमेर समुहका थिए । फेसबुक ग्रुपको माध्यमबाट पनि राष्ट्रव्यापी आन्दोलन गरेर सरकारलाई दवाब दिन सकिन्छ भन्ने राम्रो उदाहरण बन्यो ।

उक्त ग्रुप कहाँबाट संचालित भएको हो भन्ने प्रष्ट नभए पनि यसले केही कुरा प्रष्ट देखाएको छ । जस्तो कि सामाजिक सञ्जालका माध्यमबाट कति सजिलै मानिसहरु परिचालन गर्न सकिन्छ,  कति सजिलै  राम्रा र नराम्रा विचार मानिसको मस्तिष्कमा बसाउन सकिन्छ र कति सजिलै राजनीतिक स्वार्थ वा अजेण्डा पुरा गर्न सकिन्छ भन्ने प्रष्ट देखाएको छ ।

त्यसैले त आज राजनीतिक दल, संगठन, नेत्तृत्व, कार्यकर्ता र केही विदेशी शक्तिको ‘युद्ध’ गर्ने ‘कुरुक्षेत्र’ बनेको छ सामाजिक सञ्जाल । जहाँ सिपाईको भूमिकामा छन् युवाहरु ।
सरकारी पक्ष र विपक्षी पक्ष दुवै सामाजिक संजालमा निकै सक्रिय छन् । आफ्नो पक्षका ग्रुप बनाउन सक्रिय छन् । एकअर्कालाई आक्षेप लगाउन र समाजिक सञ्जालमै गालीगलौज गर्नसमेत पछि पर्दैनन् ।

सरकारी पक्ष र विपक्षी पक्ष दुवै सामाजिक संजालमा निकै सक्रिय छन् । आफ्नो पक्षका ग्रुप बनाउन सक्रिय छन् । एकअर्कालाई आक्षेप लगाउन र समाजिक सञ्जालमै गालीगलौज गर्नसमेत पछि पर्दैनन् ।

जसरी हुन्छ आफ्नै पक्षमा निष्कर्ष निकाल्ने प्रयत्न गर्छन् । अहिले त राजनीतिकरण यति धेरै भयो कि कुनै व्यक्तिको गल्तीलाई पनि यो पार्टीको व्यक्तिले यसो गर्यो भन्ने आरोप आउँछ ।
आफ्नो राजनीतिक दलको एकोहोरो समर्थन गर्ने कार्यकर्तालाई सम्बोधन गर्न साइबर सेना, हनुमान जस्ता शब्दको पनि प्यापक प्रयोग भइरहेको छ ।

आज कोरोना माहामारीका बीचमा सामाजिक सञ्जालले झनै व्यापकता पाएको छ । भर्खरै आएको क्लबहाउसमा समेत राजनीतिक गफ व्यापक हुन थालेका छन् । राजनीतिक दलले आफ्नो अजेन्डामा बहस गर्न समुहसमेत बनाइसकेका छन् । आफ्ना पार्टीले गरेका कामहरुको व्याख्या गर्ने, सरकारका पक्ष र विपक्षमा बहस चर्काउने काम पनि क्लबहाउसमा हुन थालेको छ ।

प्रत्यक्ष रुपमा हेर्दा क्लबहाउसमा विवेकशिल साझा पार्टीको सहभागिता धेरै देखिन्छ । युवाहरुको राम्रै समर्थन पाएकोले पनि विवेकशिल पार्टीलाई क्लबहाउसमा निरन्तर कार्यक्रम चलाउन सहज भएको छ । अन्य पार्टीका भातृ संगठन जस्तै, अनेरास्यवियु र नेबी संघजस्ता संगठनहरुले पनि आफ्ना आफ्नाकार्यक्रमहरु चलाएको देख्न सकिन्छ ।

त्यस्ता बहसमा सत्यको खोजीभन्दा पनि आफ्नो कुरा बलियो बनाउने प्रयत्न देखिन्छ । झुटले सिंगारिएका कुराहरु पनि सुन्न सकिन्छ । पक्ष–विपक्षले काल्पनिक कुराहरु समाजिक सञ्जालमा व्यापक प्रचार गरेको देख्न सकिन्छ ।

वर्तमान सरकार र ठूला राजनैतिक दलप्रति नयाँ पुस्ताको निकै वितृष्णा बढ्दै गएको छ । एक समयमा भारतबिरुद्ध राष्ट्रिय मुद्धा उठाएर जनमानसमा निकै चर्चा कमाएको सरकारलाई ‘व्याक अफ इन्डिया’ नामक ग्रुप र अभियन्ताहरुले सामजिक सञ्जालमा राम्रो समर्थन गरेका थिए तर आज सोही सरकारको छबी सामाजिक सञ्जालमा निकै तल झरेको देख्न सकिन्छ ।

वर्तमान सरकारको आलोचना आइरहदा तेस्रो पुस्ता साच्चै नै यो सरकारको काम छैन भन्ने मानसिकतामा पुगिसकेको छन् । यो सबै निष्कर्ष निकाल्ने वातावरण बनाएको सामाजिक सञ्जालबाट नै हो ।

विषेश गरेर नयाँ पुस्ता जसले भर्खर राजनीतिको बारेमा बुझ्दै छन् र प्रथम पटक मताधिकारको प्रयोग गर्न गइरहेका छन्, उनिहरु सामाजिक सञ्जालको यो लडाईबाट सबैभन्दा धेरै  प्रभावित हुने देखिन्छ । सामाजिक सञ्जालमा त्यसैले पनि विभिन्न कार्यक्रमहरुमा यही उमेरसमुहका मतदातालाई विषेश प्राथमिकतामा राखेको देखिन्छ ।

विषेश गरेर नयाँ पुस्ता जसले भर्खर राजनीतिको बारेमा बुझ्दै छन् र प्रथम पटक मताधिकारको प्रयोग गर्न गइरहेका छन्, उनिहरु सामाजिक सञ्जालको यो लडाईबाट सबैभन्दा धेरै  प्रभावित हुने देखिन्छ ।

युवाहरु मात्रै नभएर प्रत्येक उमेरका व्यक्तिहरुले विभिन्न समाचार सामाजिक सञ्जालबाट लिने गर्छन् । यस्ता प्लेटफर्मले देशका अधिकांश मतदाको मानसिकतामा सोझै असर गर्न सक्ने देखिन्छ ।

कुनै पनि कुरालाई राजनीतिक रुपले जोडेर सामाजिक सञ्जालमा पस्किदा आम जनमानसमा यसले सकारात्मक र नकारात्मक असर गर्ने निश्चित छ । त्यसैले पनि अबको राजनैतिक भविष्य कता जान्छ भन्ने निर्णायकको रुपमा सामाजिक संजालमा कसको दबदबा रहन्छ भन्ने कुराले पनि निकै ठूलो भूमिका खेल्नेछ ।

राजनीतिमा सामाजिक सञ्जालको प्रयोग अपरिहार्य भइसकेको छ तर सस्तो लोकप्रियताको होडबाजीमा कतै राजनीतिक दलहरुले यसको गलत प्रयोग त गरिरहेका छैनन् भन्ने प्रश्न भने पक्कै उठेको छ ।

प्रयोगकर्ताहरुले कत्तिको सहि जानकारी पाइरहेका छन् ? कतै ग्रुप र पेजको नाममा प्रयोगकर्ताहरुको राजनैतिक आस्थामै हेरफेर गर्ने प्रयास त भैरहेको छैन ? यस्ता प्रश्नहरुको उत्तरले पनि सामाजिक सञ्जालले देशको राजनीतिक अवस्थालाई कसरी असर पारिराखेको छ भन्ने कुरा बुझ्न निकै मद्दत पुर्याउँछ ।

सामाजिक सञ्जालको सदुपयोग गर्ने हो भने हरेक पार्टिलाई प्रत्यक्ष फाइदा हुने कुरामा दुई मत छैन । यसको सदुपयोग गर्ने र सत्यतथ्यमा आधारित कुराहरु मात्र सार्वजनिक गर्ने हो भने राजनीतिक पार्टी मात्रै नभएर जनतालाई पनि सहि राजनीतिक दल छान्न निकै ठूलो भूमिका खेल्ने देखिन्छ । राजनैतिक नेत्तृत्वले जनतासँग प्रत्यक्ष कुरा गरेर आफ्ना कार्ययोजनाहरु बनाउन पनि यसले बाटो खोलिदिएको छ ।

आफ्ना योजना र नेत्तृत्वको सहि व्याख्या गर्ने हो भने सामाजिक सञ्जालबाट पनि लोकप्रियता कमाउन सकिन्छ । स्वस्थ्य आलोचनाको माध्यमबाट सत्यतथ्यको पहिचान गर्न सकिन्छ । राजनीतिक दललाई चुनावमा जनतामाझ जान पनि ठूलो सहयोग हुनेछ ।

(सीटीईभीटीमा कम्प्युटर एप्लिकेसनमा डिप्लोमा गरेका न्यौपाने हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था सातदोबाटोमा चार्टर्ड काउन्टेन्सी र शंकरदेव क्याम्पसमा बीबीएस गर्दै छन् ।)