कीवर्डहरू -

एक दशकको अनुसन्धानपछि नेपाली लेखनलाई सजिलो बनाउन तयार भएको हिज्जे डटकम (भिडियो)

एक दशकको अनुसन्धानपछि नेपाली लेखनलाई सजिलो बनाउन तयार भएको हिज्जे डटकम (भिडियो)

तपाई हामी धेरैलाई अहिले कम्प्युटरमा नेपाली लेख्न आउँदैन् । आएपनि शुद्ध नेपाली लेख्न आउँदैन् । नेपाली भाषाका पाठ्य सामाग्रीहरूको शुद्धाशुद्धि मिलाउने कामका लागि अलि धेरै भाषिक नियमहरूको ज्ञानको आवश्यकता पर्दछ।

हिज्जे लगायतका नियमहरूले गर्दा साधारणतया मानिसहरूले शुद्धसँग लेख्न सकिरहेको देखिदैन । भाषा सम्बन्धी राम्रो ज्ञान भएको व्यक्तिले काम गर्दा पनि कहिले काही मानवीय त्रुटीका कारण गल्ति हुन सक्छ।

यस्तै खालका समस्याको निराकरण गर्न इन्टिग्रेटेड आइसिटी प्रालिले ४ वर्षअघि सायक सजिलो नेपाली सिस्टम विकास गरेको थियो । अहिले सायक सजिलो नेपाली अनलाइन र अफलाइन दुबै माध्यममा प्रयोग गर्न सकिन्छ ।

सायक सजिलो नेपाली सफ्टवेयर र वेबसाइटमा उपलब्ध रहेको छ । सायक सजिलो नेपालीको वेबसाइट हिज्जे डटकम बाटनिःशुल्क सेवा लिन सकिने छ ।

हाल यो सेवा कम्प्युटरबाट लिन सकिने र निकट भविष्यमा मोबाइलमा पनि चलाउन मिल्ने गरी यसको विकास भइरहेको इन्टिग्रेटेड आइसिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत विरोध रिजालले बताए । अब यो छिट्टै माइक्रोसफ्ट वर्ड र क्रोम एक्सटेसनबाट पनि लिन सकिने छ ।

१० वर्षको अध्ययन अनुसन्धानबाट बनेको सायक

सन् २००५ मा सायक सजिलो नेपालीको रिसर्च शुरू भएको थियो । नेपाल इन्जिनियरिङ कलेजमा नेपाली भाषासँग सम्बन्धित एनएलपी (नेचुरल ल्याङवेज प्रोसेसिङ) थियो । जहाँ नेपाली भाषासँग सम्बन्धित विविध विषयमा रिसर्च भइरहेको थियो । जसमध्ये सायक सजिलो नेपालीमा तत्कालिन नेपाल इन्जिनियरिङ कलेजका शिक्षक तथा हाल इन्टिग्रेटेड आइसिटीका अध्यक्ष सन्त बहादुर बस्नेतले रिसर्च गरिरहेका थिए ।

लगतै पछि तत्कालिन समयमा नेपाल इन्जिनियरिङ कलेजमा पढिरहेका विद्यार्थी विरोध रिजाल पनि यसमा जोडिए । पढाइ सकिएपछि सन् २००६ बाट रिजालले पनि नेपाल इन्जिनियरिङ कलेजमा पढाउन थाले र सन्त बहादुरसँग रिसर्चको कामलाई पनि अगाडि बढाए ।

रिसर्च गरेर मात्रै भएन अब सबैले प्रयोग गर्न सक्ने गरी सिस्टम विकास गरौं भन्ने उद्देश्यका साथ सायक सजिलो नेपाली सन् २०१५ बाट बनाउन शुरू गरेको इन्टिग्रेटड आइसिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरोध रिजालले बताए ।

‘हामीले गरेको रिसर्च मानिसको प्रयोग गर्न सक्ने गरी सिस्टम विकास गरौं भन्ने जहिले पनि ध्यान हुन्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘त्यही अनुसार सायक सजिलो नेपाली सिस्टम विकास भएको हो ।’

\"\"

उनीहरुले सन् २०१४ सम्म नेपाल इन्जिनियरिङ कलेजमा पढाए । त्यसपछि इन्टिग्रटेड आइसिटी प्रालि नामक आइटी कम्पनी स्थापना गरी सायक सजिलो नेपालीलाई अगाडि बढाए । रिसर्च गर्दा अरू टिमहरु भएपनि अहिले भने सन्त बहादुर र विरोधले यसलाई अगाडि बढाइरहेका छन् ।

उनीहरुले सन् २०१५ मा सायक सजिलो नेपालीको विकास गर्न शूरू गरे र सार्वजनिक रूपमा जानु भन्दाअघि सन् २०१७ मिडिया हाउसहरुले प्रयोग गरे । त्यसपछि सन् २०१८ को अन्त्यदेखि वेबसाइट मार्फत सबैका लागि उपलब्ध भएको हो ।

दैनिक एकहजार प्रयोगकर्ता

सायक सजिलो नेपालीको वेबसाइट हिज्जे डटकम हाल दैनिक १ हजारले प्रयोग गरिरहेका छन् । ५ हजार बढीले यसमा रजिष्टर गरेका छन् । यसको दोस्रो भर्सनबाट मात्रै रजिष्टरको सुविधा राखिएको हो ।

सायक सजिलो नेपालीको वेबसाइटलाई सधैंभरी नै निःशुल्क बनाउने कम्पनीले योजना रहेको रिजालले सुनाए । अहिले विभिन्न संस्थाका ५ हजारभन्दा व्यक्तिले सायक सजिलो नेपाली सफ्टवेयर प्रयोग गरिरहेका छन् ।

सफ्टवेयर प्रयोग गर्न भने कही शुल्क तिर्नुपर्छ । जसमा आफूलाई आवश्यक भएका सुबिधाहरु राख्न सकिन्छ । तर कम्पनीले सफ्टवेयरलाई खासै प्राथिकतामा राखेको छैन् ।

हिज्जै डटकम वेबसाइटबाट हाल शुद्धाशुद्धि जाँच, फन्ट रूपान्तरण, टाइपिङ, नेपाली शब्दकोष लगायतका सुविधा प्रयोग गर्न सकिन्छ ।

मोबाइल, माइक्रोसफ्ट वर्ड र क्रोममा सायक

सायक सजिलो नेपाली माइक्रोसफ्ट वर्ड र एक्टेन्सनबाट क्रोममा पनि आउन लागेको रिजालले बताए । अहिले वेब नै धेरै प्रयोग भइरहेकाले आवश्यकता अनुसार मोबाइलमा पनि यो सुविधा ल्याउने कम्पनीको योजना छ ।

माइक्रोसफ्ट वर्डमा नेपाली युनिकोडमा लेखेको कुरालाई १२ वटा फन्ट (प्रिति, युनिकोड, आकृती, आलेख, गणेश, हिमालबी कान्तिपुर, नवजीवन, पीसीएस, सांग्रिला, श्रीनाथ र समुदाचार्य) मा रूपान्तरण गर्न सकिने छ भने १२ वटा फन्टबाट युनिकोडमा रूपान्तरण गर्न सकिने छ ।

माइक्रोसफ्ट अफिसका लागि कम्पनीले पल्गिनको विकास गरिरहेको छ र एक महिना भित्रमा उक्त पल्गिन सार्वजनिक हुने उनले बताए । सायक पल्गिनमा शुद्धाशुद्धी जाँच गर्न र फन्ट रूपान्तरण गरी २ वटा सुविधा हुनेछन् ।

हिज्जे गलत भएको शब्दमा रातो धर्को लगाउने छ ।शुरूमा सायकलाई इन्स्टल गर्दा कुन कुन सुविधा आफुले माइक्रोसफ्ट वर्डमा राख्ने त्यो छनोट गर्न सकिने छ ।

कसैलाई यी फन्टबाहेक अन्य फन्ट आवश्यक परेमा आवश्यकता अनुसार थप गर्ने रिजालले बताए । पल्गिन एक वर्षसम्म निःशुल्क हुने र त्यसपछि केही शुल्क लाग्न सक्ने उनले बताए ।

‘हाम्रो चाहना भनेको सकेसम्म निःशुल्क दिने हो,’ रिजालले आइसिटी समाचारसँग भने, ‘सरकारबाट वा अन्य कतैबाट सहयोग आए यसलाई हामी पुर्ण निःशुल्क गर्न सक्छौं । तर धेरै प्रयोगकर्ता आउन थाले र हार्डवेयरमा धेरै खर्च हुन थाल्यो भने कि बन्द गर्नुपर्‍यो की केही शुल्क लिएर सञ्चालन गर्नुपर्‍यो ।’

सरकारबाट सहयोग भएन

नेपाली भाषालाई इन्टरनेट र कम्प्युटरमा उपलब्ध गराउन धेरै प्रयास गरेपनि यसमा सरकारको तर्फबाट कुनै किसिमको सहयोग नभएको उनले बताए ।

‘इन्टरनेट र कम्प्युटरमा नेपाली भाषामा धेरै कुरा उपलब्ध छैनन् । यसले गर्दा धेरै मान्छे बञ्चित पनि भएका छन् । नेपालीमा टाइपिङ गर्न नसकेर रोमानाइजमा टाइपीङ हुन्छ । त्यसले भाषालाई पनि बिगारिरहेको छ,’ उनले भने ।

यि टुलहरु पैसा नलिएर निःशुल्क दिने उनीहरुको उद्देश्य छ । सरकार वा अन्य कतैबाट फन्डिङ नभएको हुनाले सस्टेन हुन गार्‍हो  भइरहे पनि निःशुल्क दिन सक्नेसम्म दिइरहेको बताए ।

सरकार वा अन्य कसैसँगको सहकार्यमा यसलाई निःशुल्क दिने उनीहरुको चाहना छ । प्रविधिमा हामीले जति सुकै ठूलो प्रगति गरेको भने पनि जबसम्म चाहेको कुरा इन्टरनेटमा लेख्न सकिदैन्, कम्प्युटरमा लेख्न सकिदैन् त्यहाँ जहिले पनि बाधा हुने उनको भनाइ छ ।

\"\"

‘अंग्रेजीमा लेख्न र बोल्न नसक्ने मानिसहरुले इन्टरनेटमा लेख्न तथा पढ्न पाउनु पर्थ्यो । तर नेपालमा त्यो वातावरण छैन्’ उनले भने ।

अहिलेसम्म कुनैपनि हिसाबबाट सरकारको एक पैसा सहयोग नभएको र हालसम्म आफुहरुले मात्रै लगानी गरेको उनले बताए । उनी भन्छन्, ‘सरकारले यसमा चासो दिनुपर्थ्यो त्यो दिएको छैन् ।’

धेरै मानिसहरु नेपाली भाषामा इन्टरनेट चलाउन र कम्प्युटर चलाउन बञ्चित भइरहेका छन् । नेपाली भाषालाई कम्प्युटरमा सहज रूपले चलाउन सक्ने र शुद्ध तरिकाले लेख्न सक्ने माध्यममा गयौ भने भाषाको मानकीकरण पनि हुँदै जान्छ । यसले डिजिटल डिभाइडलाई पनि कम गर्छ ।

मिडिया मोनिटरिङ सिस्टम

इन्टिग्रेटेड आइसिटी प्रालिले प्रेस काउन्सिल नेपालका लागि मिडिया मोनिटरिङ सिस्टम पनि बनाएको छ । उक्त सिस्टमले अनलाइनमा प्रकाशित भएको कन्टेन्टहरु मोनिटर गर्ने काम गर्छ ।

प्रेस काउन्सिलको डिजिटल ट्रान्सफरमेसनमा आफुहरुले काम गरेको रिजालले बताए । कुनै पनि अनलाइनले प्रकाशित गरेको समाचार  उक्त सिस्टमको सर्भरमा बसेको हुन्छ ।

प्रकाशित भएको समाचार कसैले डिलेट गर्‍यो वा परिवर्तन गर्‍यो भने पनि त्यो सर्भरमै बसेको हुन्छ । नेपालमा भएका एफएम रेडियोहरुको मनिटरिङ सिस्टममा पनि कम्पनीले विकास गरेको हो ।

सायकमा के के सुविधा छन् ?

सायकबाट नेपाली भाषाको हिज्जे लगायतका शुद्धाशुद्धि मिलाउने काम मात्र नभएर यसमा अन्य सेवाहरू पनि उपलब्ध छन्।

नेपाली भाषामा कम्प्युटरमा काम गर्दाको अर्को जटिलता फन्टका कारणले हुने हुँदा परम्परागत फन्टहरू जस्तै प्रीति, कान्तिपुर, नवजीवन, श्रीनाथ लगायतका फन्टहरुबाट युनिकोडमा रूपान्तरण गर्ने र युनिकोडबाट पुन: परम्परागत फन्टहरूमा रूपान्तरण गर्ने सुविधा पनि उपलब्ध छ।

नेपाली भाषाको शब्द देवनागरी र अङ्ग्रेजी भाषाको शब्द रोमनमा लेखिएको छ भने पनि युनिकोडमा रूपान्तरण हुँदा सम्बन्धित भाषाको शब्दमा रूपान्तरण हुन्छ।

जसले गर्दा नेपाली र अङ्ग्रेजी मिसाएर लेखिएको पाठ्यसामग्रीलाई रूपान्तरण गर्दा पुन मिलाउन पर्ने झन्झट हुँदैन् । सायकमा एआई र मेसिन लर्निङ प्रविधिको प्रयोग गरिएको छ, जसले गर्दा यो सम्भव भएको हो।

यसबाहेक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित नेपाली वृहत शब्दकोशका शब्दार्थ खोज्नका लागि पनि यो प्रणाली उपयोगी छ।  मूल शब्द खोज्दा त्योसँग जोडिएका अन्य शब्दको समेत अर्थ दिनसक्ने गरी यसमा सुविधा उपलब्ध गराइएको छ।

कम्पनीले सायक सजिलो नेपालीमा अन्य विविध सुविधा पनि थप गर्दै लैजाने योजना पनि बनाएको छ । यसमा २५ लाख नेपाली शब्दहरु राखिएका छन् ।