कीवर्डहरू -

संसारभरका ऐतिहासिक नेपाली दस्तावेज अब अनलाइनमा हेर्न, पढ्न र सुन्न सकिने

संसारभरका ऐतिहासिक नेपाली दस्तावेज अब अनलाइनमा हेर्न, पढ्न र सुन्न सकिने

संसारभर रहेका नेपाल सम्बन्धी ऐतिहासिक दस्तावेज अब अनलाइनबाटै हेर्न, पढ्न र सुन्न सकिने भएको छ । त्यसका लागि नेपाल अर्काइभ डट ओआरजी वेबसाइट निर्माण भइरहेको छ ।

संसारभर रहेका नेपालका सम्पूर्ण अभिलेखहरुको डिजिटल अभिलेख नेपाल अर्काइभमा राखिनेछ । जसले गर्दा नेपाल सम्बन्धी कुनै पनि विषयमा अध्ययन र अनुसन्धान गर्नेलाई सहज हुने छ ।

नेपालको इतिहास वा कुनै पनि विषयको खोज अनुसन्धान गर्न नेपाल अर्काइभमा आए पुग्ने नेपाल अर्काइभको निर्माणमा जुटेका अजय मणि पौडलले बताए ।

संसारभरिबाट जसले पनि नेपालको इतिहास वा कुनै पनि कुरा बुझ्न सकोस् भन्ने उदेश्यले नेपाल अर्काइभको विकासमा लागिपरेको उनले बताए ।

कम्प्युटर साइन्स पढेका काठमाडौंका अजय मणि पौडेल नेपाली भाषा बचाउन, नेपाली इतिहास जोगाउन र नेपालको इतिहास बारे विश्वलाई थाहा दिन विगत ३ वर्षदेखि नेपाल अर्काइभमा काम गरिरहेका छन् । उनले भाषासँग सम्बन्धित काम गर्न एनएलपी (नेचुरल ल्याङवेज प्रोसेसिङ) हब स्थापना गरेका छन् ।

नेपाल अर्काइभ डट ओआरजीमा नेपालका ऐतिहासिक दस्तावेज, विभिन्न वैदिक कालदेखि लिच्छवी कालसम्मका अभिलेखहरु राखिने पौडेलले आइसिटी समाचारलाई जानकारी दिए । नेपाल अर्काइभलाई ओपन सोर्स प्लेटफर्मको रूपमा सञ्चालन गर्ने उनको योजना छ ।

यस प्रोजेक्टमा पौडेललाई केही साथीहरुले सघाएका छन भने केही इन्टर्नसीप राखेका छन् । भने केही काममा उनका साथिभाईले पनि सहयोग गरेका छन् ।

विगत केही वर्षदेखि नेपाल अर्काइभमा काम भइरहेको छ । ‘अब छिट्टै यसलाई सार्वजनिक गर्ने तयारी रहेको छ,’ उनी भन्छन्, ‘लकडाउनकले सार्वजनिक मिति केही पर हुन गएको हो ।

नेपाल अर्काइभमा आएर कुनै व्यक्तिले केही कुरा अपलोड गर्न सक्नेछन् । त्यसपछि कपिराइट भएको कुरा होकी होइन भनेर भेरिफाई गरेपछि स्वीकृति गर्ने उनले बताए ।

यो सँगै मोबाइल एप बनाउने तयारीमा उनीहरु छन् । कुनै ठाउँमा अभिलेख भटिएको खण्डमा एपबाट त्यसको फोटो खिचेपछि एपले नै त्यो कुन भाषामा लेखिएको हो, कुन लिपिमा छ र कहिले लेखिएको हुन सक्छ भनेर देखाइ दिनेछ ।

त्यसका लागि उनीहरुले एउटा डेटाबेस बनाएका छन् । एपमा राखिएको विवरण नेपाल अर्काइभमा अपलोड हुनेछ । एपबाट त्यसरी राखिएको अभिलेखको बारेमा सबैलाई जानकारी हुने र सुरक्षित पनि हुने उनको भनाइ छ ।

नेपाल अर्काइभ सार्वजनिक भएको केही समयपछि मोबाइल एप सार्वजनिक हुनेछ । पौडेलले मोबाइल एपको बारेमा राष्ट्रिय अभिलेखालयमा समेत बताएका थिए । त्यहाँबाट पनि सहयोग गर्ने प्रतिबद्धता आएको उनले जानकारी दिए ।

नेपाल अर्कोइभमा योगी नरहरीनाथले खोजेका संकलन गरेका अभिलेखहरु पनि राखिने छ । यसमा कपीराइट नलाग्ने किताबहरु अपलोड भइरहेका छन् ।

‘लेखक मृत्यु भएको ५० वर्षपछि कपिराइट नलाग्ने एउटा अन्तर्राष्ट्रिय कानून छ,’ उनले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘त्यो कानून अन्तर्गत जति पनि कपीराइट इस्यु नभएका दस्तावेजहरु, पुस्तकहरु जे जे छन् । सबै राख्दै छौं ।’

उनीहरुले विभिन्न मन्दिरहरुमा गएर त्यहाँको अभिलेखको फोटो पनि ल्याएका छन् । पौडेलका अनुसार पछि नेपाल अर्कोइभमा थ्रीडी इमेजिङ राख्ने योजना समेत रहेको छ । नेपाल अर्कोइभमा कपीराइट नलाग्ने सबै फोटो, भिडियो, अडियो र पुस्तक राखिने छ ।

‘हामीसँग धेरै ठूलो मात्रामा टेराबाइटमा डेटा छ । डेटा राख्नका लागि कसैले हामीलाई ठाउँ दिए हुन्थ्यो,’ उनी भन्छन्, ‘डेटा राख्नका लागि अष्ट्रिया एकेडेमी अफ साइन्स र अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरुले हामी पनि सहयोग गर्न सक्छौं भन्नुभएको छ । विदेशमा भन्दा पनि नेपालमै डेटा राख्न पाए राम्रो हुन्थ्यो ।’

‘नेपालमै कसैले डेटा राख्न ठाउँ दिए त्यो झनै राम्रो हुन्थ्यो,’ उनले भने, ‘त्यो मिल्ना साथ हाम्रो आधा काम सकिन्छ । अभिलेख राख्ने काम अन्तिम चरणमा पुगिसकेको छ । अब छिट्टै सार्वजनिक हुन्छ ।’

यसका लागि आईएनजीओसँग सहयोग नलिने उनले बताए । पौडेलका अनुसार विश्वविद्यालयसँग सहयोग लिन सकिने छ । विश्वविद्यालय अलि प्राज्ञिक हुने र त्यहाँबाट सहयोग लिदा फरक नपर्ने उनको धारणा छ ।

उक्त डेटाको ब्याकअप पनि राख्ने उनले बताए । उनको सपना नेपाल अर्कोइभलाई अमेरिकाको अन्तर्राष्ट्रिय लाइब्रेरी अर्काइभ डटओआरजी जस्तै बनाउने रहेको छ । नेपाल अर्काइभ निःशुल्क अकाउन्ट खोलेर प्रयोग गर्न सकिने छ ।

साथै नेपाल अर्काइभमा योगदान पुर्‍याउने योगदानकर्ताको सूचीमा समेत त्यहाँ राखिने छ । नेपाल अर्काइभ शुरूमा नेपाली र अंग्रेजी भाषामा प्रयोग गर्न सकिने छ । पछि अन्य भाषा पनि आवश्यक परे त्यसमा थप हुनेछ ।