कीवर्डहरू -

यसरी सुरक्षित प्रयोग गर्नुहोस् जूम

यसरी सुरक्षित प्रयोग गर्नुहोस् जूम

पछिल्लो समय नेपालमा पनि जुमको प्रयोग ह्वातै बढेको छ । वेबिनार, मिटिङ तथा कन्फेरेन्सिङको लागि जुमको प्रयोग हुने गरेको छ ।

जुम बाहेक माइक्रोसफ्ट टिम्स र गूगल मिट लगायतका विकल्पहरु पनि छन् । तर वेबिनारको लागि जुमको प्रयोग धेरै नै भइरहेको छ । जुम निःशूल्क तथा सःशूल्क भर्सन दुबैमा उपलब्ध रहेको छ ।

जूम मिटिङमा धेरै सुनिएको कुरा हो जुम बम्बिङ । जसले गर्दा कसैले तपाईको स्क्रीन कब्जामा लिएर गलत काम गर्न सक्छ । त्यसकारण आज हामीले तपाईलाई जुम बम्बिङबाट कसरी बच्ने र कसरी जुमको सुरक्षित प्रयोग गर्ने भनेर जानकारी दिदै छौं ।

जूम एप अपडेट गर्नुहोस्

जुम एप अपडेटेड गरिसकेपछि मिटिङ टुलबारमा सेक्युरिटीको नयाँ अप्सन देख्न सकिने छ । त्यसैले जूम एप चेक गर्नुहोस र नयाँ अपडेट डाउनलोड गर्नुहोस ।

कलको लागि युनिक आईडी र पासवर्डको प्रयोग

जुममा नयाँ अकाउन्ट बनाउदा तपाईलाई एक व्यक्तिगत मिडिङ आईडी दिइएको हुन्छ । यो एउटा न्युमेरिक कोड हो जुन मिटिङको लागि अरुलाई दिन सकिन्छ ।

त्यहाँ अर्को अप्सन पनि हुन्छ जसबाट नयाँ युनिक आईडी जेनेरेट गर्न सकिन्छ । तपाईले त्यहाँ पासवर्ड पनि परिवर्तन गर्न सक्नु हुनेछ । एकपटक तपाईले मिटिङको लागि पासवर्ड सेट गर्नभयो भने भविष्यको मिटिङको लागि पनि यसको आवश्यकता पर्दछ ।

वेटिङ रुमको सिर्जना

वेटिङ रुमको सहयोगले होस्टले सहभागीहरुलाई कन्ट्रोल गर्न सक्दछ । वेटिङ रुमको सहयोगले मिटिङमा सहभागीलाई एक एक गरेर वा एकैपटक प्रवेश गराउन सकिने छ ।

होस्टले मात्रै स्क्रीन शेयरको निश्चित गर्ने

जुमब मिटिङमा स्क्रीन हाइज्याक हुन बाट बच्न स्क्रीन शेयर होस्टले मात्रै गर्ने निश्चित गर्नुहोस ।

मिटिङ सुरु भएपछि लक गर्नुहोस्

यदि तपाईले मिटिङ सुरु गर्नुभयो र तपाईले अपेक्षा गरेका सबै मिटिङमा जोडिनु भयो भने मिटिङ लक गर्नुहोस । जसबाट पछि आउने नयाँ सहभागीहरु सहभागी हुन् सक्दैन्न ।

सहभागीलाई हटाउन वा होल्डमा राख्न सकिने

जुममा मिटिङमा सहभागी भएकालाई होल्डमा राख्न सकिन्छ । यसबाट सहभागीको अडियो तथा भिडियो होल्डमा राख्न सकिनेछ ।

त्यस्तै सहभागीलाई मिटिङबाट हटाउनको लागि सहभागीको नाममा माउस ओभर गर्नुहोस । त्यसपछि त्यहाँ रिमुभ अप्सन सँगै अन्य विभिन्न विकल्पहरु देख्न सकिने छ ।

भिडियो डिसेबल गर्नुहोस्

जूम मिटिङमा कसैको भिडियो पनि होस्टले बन्द गर्न सक्छन् । जुमको यस सुविधाले होस्टलाई अनावश्यक ध्यान भंग गर्ने वा भिडियो अयोग्य इशाराहरु ब्लक गर्न अनुमति दिनेछ ।

च्याटमा एनिमेटेड गिफ तथा अन्य फाइललाई रोक्ने

जुम मिटिङको च्याट एरियामा सहभागीहरुले शेयर गरेका फाइल, इमेज वा एनिमेटेड गीफलाई पनि रोक्न सकिन्छ ।

च्याट म्यानेज गर्ने

यदि तपाईले मिटिङ होस्ट गर्नु भएको छ र अपरिचित व्यक्तिले व्यक्तिगत च्याट गरेर सताएका छन् भने यो अप्सन तपाईको लागि हुन् सक्छ । यसबाट बच्न तपाईले प्राइभेट च्याटलाई डिसेबल गर्न सक्नु हुनेछ ।

मिटिङको पासवर्ड सामाजिक सञ्जालमा नराख्ने

मिटिङको पासवर्ड सोसियल मिडियाहरूतिर पोस्ट नगर्नुहोस् । पोष्ट गर्दा गलत मनसाय भएका व्यक्तिहरूले हात पारेर मिटिङ तथा कार्यक्रम बिथोल्ने प्रयास गर्न सक्छन् ।

सामाजिक सञ्जालमा मिटिङ आईडी र पासवर्ड शेयर गर्नुको साटो सहभागी हुन् रजिष्टरका लागि लिंक राख्न सकिन्छ ।