कीवर्डहरू -

युवालाई उद्यमसँग जोडन सम्मेलन शुरू, करिब चारसय युवा वैज्ञानिक सहभागी

युवालाई उद्यमसँग जोडन सम्मेलन शुरू, करिब चारसय युवा वैज्ञानिक सहभागी

युवालाई अनुसन्धान, उद्यमतासंग जोड्नका लागि राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवर्द्धन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि शुरु भएको छ ।

आजको सत्रमा खोजमुलुक विभिन्न तीन वटा अध्ययन अनुसन्धानमा सहभागीलाई प्रशिक्षित गरिएको छ । जनस्वास्थ्य विज्ञ डा. शेरवहादुर पुनले संक्रमण रोग, डा. असिम ढकालले शिक्षा र रोजगारी, डा. भानुभक्त ढकालले विज्ञान शिक्षामा सम्भाव्यताको गरिएका अनुसन्धानबारेमा युवालाई प्रशिक्षण दिएका छन् ।

प्रशिक्षण अगाडि कार्यक्रमको उद्घटान गर्दै परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासंग जोड्नका लागि सम्मेलन आयोजना गरिएको बताए ।

उनले सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पुर्‍याउने बताए । उनले सूचना प्रविधि र विज्ञानका विद्यार्थीलाई अनुसन्धानमुलक बनाउनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यकारी उपाध्यक्ष ढुङ्गेलले युवाको प्रतिभालाई प्रस्फुटन गराउनका लागि सातवटै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गरिने समेत जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विद्यालय तहमा विज्ञान र प्रविधि विषयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्न तयारी  गरिरहेको बताए ।

उनले सम्मेलनले  विज्ञान र प्रविधि शिक्षामा सहयोग पुर्‍याउने भन्दै विज्ञान र प्रविधिलाई समाजसंग जोड्नुपर्ने भनाई राखेका थिए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. धर्मकान्त वाँस्तोलाले अनुसन्धान र नवप्रवद्धनमा हाम्रै शिक्षा कमजोर रहेको भन्दै सरकारले उच्च शिक्षामा बजेट बढाउनुपर्ने बताए ।

उच्च शिक्षामा अनुसन्धान, नवप्रवर्द्धन काम हुने सके युवालाई स्वरोजगारमुखी बनाइने भन्दै सम्मेलनले युवालाई नवउद्यमीको सिर्जना गर्न अवसर प्राप्त गर्ने बताए ।

नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. सुनिलबावु श्रेष्ठले विज्ञान र प्रविधि समाजको समस्या समाधान गर्नतिर जोड्न पर्ने बताए ।

उनले विज्ञान र प्रविधि मार्फत युवा जनशक्तिलाई परिचालन गरे मुलुकले समृद्धि हासिल गर्न सक्ने भनाइ राखे ।

विज्ञान र प्रविधि क्षेत्रमा लगानी गरे प्रतिफल प्राप्त गर्न सकिने भन्दै विज्ञान र प्रविधि क्षेत्रका काम गर्ने संस्थाबीच अन्तरसम्बन्ध गराउनुपर्ने उनको भनाई रहेको छ ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले विज्ञानबाट सिकेको कुरालाई उद्यमशिलतातर्फ जानुपर्ने बताए । उनले युवाले आफूसंग भएको सीपलाई उत्पादनशिलतामा जोडन् आवश्यक रहेको बताए ।

सम्मेलनमा स्नातकोत्तर तह अध्ययन गरिरहेका विद्यार्थीलाई युवा वैज्ञानिकले अनुसन्धान गरेको विषयमा जानकारी गराइने परिषद्का प्रमुख प्रशासकिय अधिकृत डा. बाबुराम ढुंगानाले जानकारी दिए ।

सम्मेलनमा विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य विषय लगायत चार बिषयमा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गरिने छ । भोलिसम्म सञ्चालन हुने सम्मेलनमा करिब ४०० युवा वैज्ञानिकको सहभागिता रहेको छ ।