कीवर्डहरू -

फाइभजीको चटारो नसकिदै सिक्सजीको हतारो, कुन देशले के गर्दैछन् ?

फाइभजीको चटारो नसकिदै सिक्सजीको हतारो, कुन देशले के गर्दैछन् ?

नेपालमा थ्रिजीपछि भर्खर फोरजीको विस्तार हुँदैछ । सबै ठाउँमा फोरजी पुगेको छैन् । फाइभजीको चर्चा भर्खर हुँदैछ ।

विदेशमा कतिपय देशले व्यवसायिक सुरुवात गरिरहेका बेला नेपालमा भने परीक्षण गर्ने तयारी हुदैछ । छिमेकी देश भारतमा फाइजी परीक्षण भइरहेको छ ।

हाम्रोमा भने अझै कुन स्पेक्ट्रममा परीक्षण गर्ने निधो भएको छैन । यसको लागि अझै केही समय लाग्ने देखिन्छ । तर, विश्वका विकसित देशहरु भने नयाँ प्रविधि प्रयोग कसले पहिला गर्ने भनेर तछाडमछाड गरिरहेका छन् ।

फाइभजीको चटोरो नसकिदै सिक्सजीको हतारो गरिरहेका छन् । हाम्रो लागि धेरै टाढाको विषय भए पनि प्रविधिमा रुची राख्नेहरुका लागि भने यो रुचीको विषय हो ।

त्यसैले हामीले विश्वमा सिक्स जीको विकास कसरी भइरहेको छ, यो के हो ? के हामीलाई सिक्स जी चाहिएकै हो त भनेर चर्चा गर्दैछौं ।

सिक्सजी भनेको के हो ?

सिक्सजी भनेको वाइड एरिया वायरलेस प्रविधिको छैठौँ संस्करण हो । वायरलेस पुस्तालाई हरेक एक दशकमा अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनले मानकीकृत गर्ने गर्दछ र अहिले हाम्रो संसार फाइभजीमा रहेको छ ।

यसलाई एयर ईन्टरफेस पनि भनिन्छ जसको अर्थ ट्रान्समिसन वा इनकोडिङमा परिवर्तन ल्याउनु हो । फाइभजी सन् २०१७ मा आएको प्रविधि हो । आगामी सन् २०३० सम्ममा सिक्सजी आउने अनुमान गर्न सकिन्छ ।

फाइभजी हरेक दिन नयाँ नयाँ परिवर्तन र परिमार्जन हुँदै गइरहेको छ भने हामी बिस्तारै सिक्सजी तर्फ अघि बढ्दै गइरहेका छौँ । सिक्सजीमा चीन, दक्षिण कोरिया र जापानले एकदमै चासो देखाउँदै आएका छन् ।

त्यस्तै एप्पल, नोकिया, एरिक्सन, ह्वावे, सामसङ र एलजी जस्ता कम्पनीले पनि यसको विकासमा ध्यान दिइरहेका छन् । सिक्सजीको छलफल गरिरहेता पनि अहिले विश्वका धेरै देशहरुले थ्रीजी, फोरजी नै प्रयोग गरिरहेको पाइएको छ ।

अहिले पनि फाइभजीलाई धेरै प्रयोगकर्ताले पहुँच पाएका छैनन् । तर विकसित देशहरु सिक्सजीको बाटोमा हिडिसेकका छन् । यसलाई सिक्सजी नभनेर फाइभजी एडभान्सड वा फाइभ जी इन्ह्यान्सड पनि भनिन सक्ने विज्ञहरु बताउँछन् ।

सिक्सजी कहिले आउँला ?

हरेक एक दशकमा एक नयाँ मोबाइल नेटवर्कले स्पटलाईट पाउँदै आएको छ । त्यसकारणले सन् २०३० को कुनै बेलासम्ममा सिक्स जी पनि आउने हामीले आशा गर्न सक्छौँ र नआएमा पनि दूरसञ्चार कम्पनीहरुले यसको जाँच सुरु गरिदिन्छन् । यसको काम अहिले देखि नै हुँदै आएको छ ।

त्यसकारण तपाईको हातमा फाइभजी फोन आउँदा आउँदै तपाइले सिक्सजीको बारेमा सुन्न थाल्नु हुनेछ । विभिन्न कारणले फाइभजीको रोलआउट सुस्त तरिकाले भइरहेको छ ।

\"\"

त्यसैगरी सिक्सजी आउनमा पनि केही समय लाग्ने देखिन्छ । फ्रिक्वेन्सी ब्याण्ड, स्पेकट्रम लाइसेन्सको खरिद र नीति नियमले गर्दा सिक्सजी रोल आउट हुनमा केही समय लाग्नेछ । फाइभजीको कमजोरीको आधारमा सिक्सजीको विकास हुनेछ ।

सिक्सजीको विकासमा कसरी काम भइरहेको छ ?

१. एफसीसीले टेट्रा हर्ज वेब स्पेकट्रम जसले ९५ गिगाहर्ज भन्दा बढिको स्पेकट्रमको सेवा सुरु गरिदिएका छन् ।

२. सनु २०१८ को सुरुवातमा फिनल्याण्डमा ओल्लु विश्वविद्यालयले सिक्सजी फ्लयागसिप प्रोग्रामका लागि रिसर्च सामाग्री, ऐन्टिना, सफ्टवेयर र सिक्स जी लञ्च गर्न चाहिने अरु सामाग्रीका लागि लगानी गर्ने घोषणा गरेको थियो । यसले गर्दा सिक्स जीलाई चाहिने हार्डवेयर विकास गर्न सकिन्छ ।

३. भर्जिनिया टेक, सामसङ र एलजी जस्ता कम्पनीले सिक्सजीको अनुसन्धान सुरु गरिसकेका छन् ।

४. चीनमा सन् २०१९ मा फाइभजी सार्वजनिक भए लगत्तै त्यहाँको विज्ञान र प्रविधि मन्त्रालयले अब सिक्सजी अन्वेषण र विकासको काममा तत्पर रुपमा लाग्ने प्रतिबद्धता लिएको थियो ।

५. जापानले सन् २०३० सम्ममा सिक्सजी सार्वजनिक गर्ने योजना बनाएको छ ।

६. चीनले सन् २०२० मा सिक्सजी स्याटेलाईटलाई अर्बिटमा पठाएको थियो ।

७. एप्पलले सन् २०२१ मा सिक्सजी विकासका लागि इन्जिनियरको माग गरेको थियो ।

सिक्सजीका फाइदा

तपाईले अहिले प्रयोग गर्ने हरेक कुरा सिक्सजीले अझै विकसित र परिमार्जित हुनेछ । त्यस्तै फाइभजीको सबै कमी कमजोरीलाई सिक्स जीमा सेमेटेर विकसित रुप ल्याइन्छ ।

अहिले फाइभजीले नै शक्तिशाली भिआर, एआर, स्मार्ट सिटी, हाम्रो हातमै एआइए, उद्यममा रोबोटहरुको प्रयोग जस्ता मद्दतहरु पर्‍याइरहेको छ । सिक्सजीले पनि यी सबै क्षेत्रलाई सहयोग पुर्‍याउँदै अझै ब्याण्डविथ प्रदान गर्नेछ ।

त्यस्तै सिक्सजीले इन्नोभेसनको विस्तार गर्ने र प्रविधिको क्षेत्रमा पहुँच नभएको क्षेत्रमा पनि सिक्स जीले परिवर्तन ल्याउनेछ । नोकिया ल्याबको मार्कस वेलडनले सिक्स जीलाई मान्छे र मेशिनको छैठौँ जानेन्द्रिय हुने बताएका छन् ।

फाइभजी र सिक्सजी बिच फरक

फाइभजी र सिक्सजीको सबैभन्दा विशेष फरक भनेको स्पीड र ल्याटेन्सीनै हो । हामीले सिक्सजी फाइभजी भन्दा निकै बढी म्याग्नीट्युडमा हुन्छ भनेर अपेक्षा गर्न सक्छौँ ।

फाइभजी मै हरेक दिनको स्पीड १ गिगाबाइट पर सेकेण्ड रहेको छ र सिक्सजीले यसलाई पनि पार गर्ने छ । स्पीड टेराबाईटमा पनि आउन सक्ने मान्न सकिन्छ ।

सामसङ टेकले फाइभजी भन्दा ५० गुणा बढीमा सिक्सजीलाई जाँच गरेको छ । रेडियो स्पेक्ट्रममा सिक्सजी अझै माथि गएपछि यसले डेटा बोक्ने क्षमता पनि पक्कै पनि बढी हुनेछ ।

यसले ३०० गिगाहर्ज सम्मको हाई फ्रिकेवन्सी क्षमता पाउन सक्ने अनुमान गरिएको छ । सिक्सजी टेट्राहर्जमा भएमा त्यसको रेडिएसनको रेन्ज १० मिटर मात्रै हुन्छ जसकारण सन् २०३० सम्ममा यसको रेन्ज कसरी बढाउने भन्ने कुरामा पनि ध्यान पुर्‍याउनु पर्नेछ ।

के हामीलाई साच्चिकै सिक्सजी चाहिन्छ ?

फाइभजीले धेरै मान्छेका लागि इन्टरनेटको पहुँच बढाउन सक्छ । यसले स्वास्थ्य क्षेत्रदेखि मनोरञ्जन हरेक क्षेत्रमा मान्छेको जीवन अझै सहज बनाउँदै आएको छ ।

विकास र सुधारका लागि ठाउँ खालीनै हुनेहुँदा सिक्सजीले बाँकी रहेको समस्याहरुलाई सम्बोधन गर्न एकदमै मद्दत पुर्‍याउनेछ तर फाइभजीलाई नै अझै परिमार्जित र सुधार हुँदै गएमा भने सिक्सजी नल्याउँदा पनि हुन्छ ।