कीवर्डहरू -

यसरी सम्भव भयो वर्ल्डलिंकको ५ लाख घरधुरी, नयाँ लक्ष्य २० लाख 

यसरी सम्भव भयो वर्ल्डलिंकको ५ लाख घरधुरी, नयाँ लक्ष्य २० लाख 
वर्ल्डलिंक कम्युनिकेसनका निर्देशक मनोज अग्रवाल ।

साढे दुई दशकको अनवरत मिहिनेतपछि मुलुकको अग्रहणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले ५ लाख घरधुरीमा पुगेर नयाँ रेकर्ड बनाउन सफल भएको छ ।

असारको तेर्सो हप्ता उसले घोषणा गर्यो, ‘हामी पाँच लाख घरधुरीको एक सिंगो वर्ल्डलिंक परिवार बन्यौं ।’

५ लाख ग्राहक बनाउनु चानचुने कुरा होइन् । नेपालमा एकजना फिक्स ब्रोडव्यान्ड इन्टरनेट ग्राहक बराबर ४.८८ व्यक्तिले प्रयोग गर्छन भन्नेछ । यस हिसाबले हेर्ने हो भने हाल वर्ल्डलिंक २४ लाख ४० हजार व्यक्तिले प्रयोग गरिरहेका छन्।

संस्थागत प्रयोगकर्ता हेर्ने हो भने २६ हजार पुगेका छन् । नेटवर्क ट्राफिक युटिलाइजेसन १.५ टेराविटभन्दा धेरै भइसकेको छ।
यो उचाइमा पुग्न वर्ल्डलिंकलाई सजिलो थिएन । २५ वर्षको कडा मेहनत, तपस्या, धैर्यतासँग ठूलो लगानी खन्याएपछि आजको वर्ल्डलिंक बनेको हो । संस्थापक मनोज अग्रवालको शब्द सापटी लिने हो भने नेपालमा ‘वर्ल्डलिंक इन्टरनेटको प्रयायवाची शब्द बनेको छ र इन्टरनेट भनेकै वर्ल्डलिंक हो ।’

वर्ल्डलिंक सुरु हुँदा इन्टरनेटका ग्राहक पाउनु शिला खोज्नु बराबर थियो । एक जना, दुई जना ग्राहक पाउँदा वर्ल्डलिंक संस्थापक दीलिप अग्रवालको टिम उत्साहित हुन्थ्यो।

सन् १९९५ मा नेपालको लागि इन्टरनेट नौलो चिज थियो। यसबारे ज्ञान राख्ने व्यक्ति औंलामा गन्न सकिने थिए । एक, दुई, गर्दै ग्राहकको संख्या सय पुग्यो । सयबाट हजार र हजारबाट लाख पुग्न धेरै वर्ष खर्चिनु पर्यो ।

र, आज इन्टरनेट मुलुकको प्रमुख व्यवसाय बनेको छ । जसको श्रेयको ठूलो हकदार वर्ल्डलिंक हो ।

वर्ल्डलिंकले खनेको त्यही बाटो पछ्याउँदै आज दर्जनौं इन्टरनेट सेवा प्रदायक थपिएका छन् । ‘डिजिटल पपुलेसन’ नै लाखौं पुगेको छ । प्रतिस्पर्धा चर्को बनेको छ । आज यही इन्टरनेटका कारण ‘वर्क फ्रम होम’ चल्न थालेको छ।
गएको हप्ता हामी पनि जुमबाट वर्ल्डलिंक कम्युनिकेसनका निर्देशक मनोज अग्रवालसँग जोडियौं । इन्टरनेटसँगै नयाँ प्रविधिको विकासले हाम्रो दैनिकीलाई सहज बनाएको छ । सन् १९९५ मा एक एक जनालाई इमेल–इन्टरनेट बारे सिकाएका अग्रवाल आज लाखौंको डिजिटल पपुलेसन देख्दा दंग छन् ।

२५ वर्षको उतारचढावलाई सम्झनुभन्दा पहिला अग्रवाललाई हामीले सोध्यौं, ‘एक, दुई, तीन गर्दै आज पाँच लाख ग्राहक बनाउनु भएको छ । यो बेला वर्ल्डलिंक टिमलाई कस्तो अनुभव भइरहेको छ ?’

‘यो हाम्रो लागि गर्वको कुरा हो,’ अग्रवालले भने, ‘हामीले जुन लक्ष्य राखेका थियौं, अन्ततः पुरा गरेका छौं ।’ आज मुलुकमा वर्ल्डलिंक इन्टरनेटको पर्यायवाची जस्तै बनेको छ । यो कम्पनीको निम्ती ठूलो उपलब्धी भएको उनी ठान्छन् ।  साढे दुई दशकको अवधिमा वर्ल्डलिंकले नेपालको लाखौं डिजिटल पपुलेसन बनाउन, डिजिटल इकोनोमी निर्माण गर्न ठूलो योगदान गरेको उनी बताउँछन् ।

वर्ल्डलिंकले मुलुकको इन्टरनेट विस्तारको लागि ‘हाइवे’ खन्न सुरु गर्यो । समय क्रमसँगै यही ‘हाइवे’मा अन्य कम्पनीहरु थपिदै गए । जसले मुलुकको इन्टरनेट बजारलाई अझ प्रतिस्पर्धी बनायो ।

‘बजारमा प्रतिस्पर्धा भएन भने हाइवेमा कुद्नुको मजा नै हुदैन,’ अग्रवाल उत्साहित हुदै भन्छन्, ‘हामीलाई गर्व छ, हामीले खनेको हाइवे अहिले धेरै फराकिलो भएको छ ।’ \"\"
...

नेपालमा वर्ल्डलिंकको सुरुवात हुदै गर्दा विदेशमा इमेलको चलन व्यापक भइसकेको थियो । अमेरिका पढ्दै गरेका दीलिपलाई भने घर परिवारको सन्चो विसन्चो बुझ्न इमेल सेवा भए हुन्थ्यो भन्ने लागिरहेको थियो । मनको धोको पुरा गर्न एउटा कोठामा एउटा कम्प्युटर राखेर इमेल आदनप्रदान सुरु गरे । लगानी धेरै थिएन । अध्ययनको क्रममा थेसिसको लागि पाएको प्रोजेक्टको सानो रकम यसमा लगानी गरे ।

त्यही बेला कम्पनीका अध्यक्ष दीलिप अग्रवाल अन्तर्राष्ट्रिय उडानमा थिए । ‘इन्टरनेट कम्पनी त बनाउने तर के नाम राख्ने होला ?’ उनको मन पनि उडिरहेको थियो । उनलाई आइडिया आयो इन्टरनेट भनेको एकअर्कालाई लिंक गर्ने हो । एक व्यक्तिबाट अर्को, एक देशबाट अर्को देश जोड्ने हो । उनलाई नाम फुर्यो, ‘वर्ल्डलिंक’ ।

सन् १९९७ मा इमेलबाट डायल–अप इन्टरनेटमा गएपछि थप उत्साह बढ्यो । मान्छेहरु इन्टरनेटका बारेमा बुझ्न थाले ।
मुलुकमा भर्खर इन्टरनेट सुरु भएकाले पनि उपभोक्ताका घरमा कम्प्युटर वा ल्यापटप थिएनन् । बजारमा साइबर क्याफे सुरु भइसकेको थिए । इन्टरनेट चलाउनेहरु तिनै क्याफे धाउन थाले ।

सुरु–सुरुमा एकदमै ‘सेलेक्टिभ’ व्यक्तिमात्र ग्राहक बन्थे । जस्तो कि जसका छोराछोरी बाहिर पढिरहेका थिए । अलि ठूलो व्यवसाय भएको व्यक्ति, जसको काम देशबाहिर पनि हुन्थ्यो उनीहरु इन्टरनेटको ग्राहक बन्थे ।

अर्कोतिर गैरसरकारी संस्थाहरु इमेल इन्टरनेटको ग्राहक बन्न चाहन्थे । अग्रवाललाई सम्झना छ, प्लान इन्टरनेसन, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), संयुक्त राष्ट्र संघ जनसंख्या कोष (युएनएफपीए) लगायतका संस्थाहरु इन्टरनेट प्रयोग गर्थे ।
इन्टरनेटका ग्राहक बनाउन सजिलो थिएन । एकजना, दुई जना गर्दै ग्राहक बनाउनु पथ्र्यो । ‘ल आज ३ जना ग्राहक थपियो । त्यो नम्बर पाउँदा हामी निकै उत्साहित हुन्थ्यौं,’ अग्रवाल सम्झन्छन् ।

इन्टरनेटको मूल्य पनि धेरै महंगो थियो । ‘हामी किलोवाइटमा चार्ज गथ्र्यौं,’ उनी भन्छन्, ‘किलोवाइट भनेपछि तपाई बुझ्न सक्नुहुन्छ कति महंगो थियो भन्ने ।’

क्यान इन्फोटेक सूचना प्रविधि क्षेत्रमा रुची राख्नेहरुको ठूलो मेला थियो । त्यहाँ पुग्नेहरु इन्टरनेटका बारेमा धेरै रुची राख्थे । वर्ल्डलिंक पनि क्यान इन्फोटेकमा सहभागी भयो । त्यहाँबाट धेरैलाई उनीहरुले इन्टरनेटको बारेमा जानकारी गराए । त्यहाँ आएकाहरु पनि इन्टरनेटको ग्राहक बन्न थाले । सुुरु सुरुमा व्यक्तिगतभन्दा पनि साइबर क्याफे चलाउनेहरु इन्टरनेटको ग्राहक बन्थे । ठमेल, पर्यटकीय क्षेत्रहरु, चोक चोकमा साइबर क्याफे राख्नेहरु वर्ल्डलिंकको ग्राहक बन्न थाले ।

सन् २०१४ मा वर्ल्डलिंकले ‘फाइबर टु दि होम’ (एफटीटीएच) प्रविधिमा आधारित इन्टरनेट सेवा दिन थाल्यो । यो नै वल्र्डलिंकका लागि ‘गेमचेन्जर’का रुपमा सावित भयो । त्यो बेलासम्म इन्टरनेट प्रविधिमा विभिन्न समस्या र गुणस्तरमा समस्या थिए । एफटीटइएचले सबै कुरा परिवर्तन गरिदियो ।

‘त्यसपछि इन्टरनेट सेवाले फड्को मार्यौ,’ अग्रवाल भन्छन् ।

ग्राहक संख्याको विकास क्रम हर्ने हो भने पनि पछिल्लो तीन चार वर्षमा ह्वात्तै बढेको देखिन्छ। विसं.२०७० साउनसम्म वर्ल्डलिंकका ग्राहक १९ हजार ४ सय ५० थिए । विवरण हेर्दा त्यो बेला प्रतिस्पर्धा कम्पनीका ग्राहक अझ बढी थिए। केही वल्र्डलिंक कै हाराहारीमा थिए ।

त्यसपछि वर्ल्डलिंकले लिएको नीति र आक्रमक बजार विस्तारमा उसलाई कसैले पछ्याउन सकेनन् । २०७६ असारसम्म आइपुग्दा उसका ग्राहक ३ लाख पुगेका थिए । २०७७ असारमा ३ लाख ७५ हजार हुदै यो वर्षको असारमा ५ लाख पुगेका छन् । \"\"

पाँच वर्षमा २० लाख पुर्याउने लक्ष्य

पाँच लाखको लक्ष्य पुरा भएसँगै वर्ल्डलिंक तीन वर्षे र पाँच वर्षे योजना बनाइरहेको छ । मुलुकको अग्रणी र ठूलो कम्पनी भएको नाताले अबका दिनमा पनि सफल नेतृत्वदाही भूमिका निभाउनु पर्छ भन्ने ठहर छ वर्ल्डलिंकको ।

आजसम्म नेतृत्व गरेको कम्पनीले आगामी वर्षहरुमा पनि त्यही पोजिसनमा रहेर इन्टरनेट सेवा दिने योजना बनाइरहेको छ।
वर्ल्डलिंकको अबको लक्ष्य छ, पाँच वर्षमा २० लाख ग्राहक बनाउने ।

‘अबको हाम्रो लक्ष्य अलि ठूलै छ,’ अग्रवालले आगमी योजना बारे सुनाउँदै भने, ‘पाँच वर्षमा २० लाख ग्राहक बनाउने योजना तय गरेका छौं ।’ अहिले जस्तो अनुकुल वातावरण र सबैको सहयोग मिल्यो भने २० लाखको लक्ष्य पनि पुरा गर्नेमा दृढ छन् अग्रवाल ।
‘आउने दिनमा थुप्रै चुनौति छन् र चुनौतिसँगै अवसर पनि छन्,’ अग्रवाल भन्छन्, ‘६ डिजिटबाट ७ डिजिटमा कसरी जाने भन्ने बारेमा वर्ल्डलिंकले योजना बनाइरहेको छ ।’

नेपालमा फिक्स ब्रोडव्यान्ड इन्टरनेट विस्तारको लागि ठूलो बजार हिस्सा बाँकी नै छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्टअनुसार ९० प्रतिशत जनसंख्या ब्रोडव्यान्ड पुगेकोमा फिक्स ब्रोडव्यान्ड इन्टरनेट २४ प्रतिशत मात्र छ ।

‘जहाँ वाईफाइ उपलब्ध हुन्छ, त्यहाँ मोबाइल डाटा प्रयोग हुदैन,’ अग्रवाल भन्छन्, ‘गाउँगाउँ जसरी मोबाइल डाटा प्रयोग भइरहेको छ, हामी पुगेपछि फिक्स ब्रोडव्यान्ड नै प्रयोग गर्छन् ।’

फिक्स ब्रोडव्यान्ड मोबाइल डाटाभन्दा सस्तो छ । उपभोक्ताले इन्टरनेटमा बिताउने समय बढ्दै गएको छ भने कन्टेनको सप्लाइ धेरै भइरहेको छ । इन्टरनेट प्रयोगको यस्तो अवस्थामा फिक्स ब्रोडव्यान्ड नै उपयुक्त हुने अग्रवाल बताउँछन् ।
फिक्स ब्रोडव्यान्डमा इन्टरनेट मात्र छैन । एउटै तारबाट डेटा, भ्वाइस र टिभी प्रयोग गर्न पाइने भएकाले अगामी दिनमा यसप्रति उपभोक्ताको आकर्षण धेरै हुनेछ । यसै कारण पनि प्रत्येक वडामा फिक्स ब्रोडव्यान्ड इन्टरनेट पुग्नेमा उनी ढुक्क छन् ।

‘हाम्रो भिजन पनि ‘टु कनेट एभ्रिवान, एभ्रि होयर, एभ्रि टाइम’ भन्ने छ,’ उनी भन्छन्, ‘त्यसलाई साकार गर्न नेटवर्क विस्तार गरिरहेका छौं । साथै, गुणस्तर अझ सुधार गर्न लागिरहेका छौं ।’

पाँच लाख ग्राहकले वर्ल्डक्लास सेवा पाइरहेको उनी बताउँछन् । यसको प्रमुख कारण वर्ल्डलिंकले विश्वमा जति पनि इन्टरनेट सम्बन्धी इनोभेसनहरु भएका छन्, त्यो प्रविधि आफ्ना ग्राहकलाई पनि उपलब्ध गराएको उनको भनाइ छ ।

अबको योजनामा २० लाख ग्राहक बनाउन नेटवर्क विस्तारमा तीव्रता दिनेछन् । नेटवर्क नपुगेको ठाउँहरु जस्तो कि हाइबे, ग्रामिण क्षेत्रमा विस्तार गर्ने योजना वल्र्डलिंकको छ । ‘हाम्रो चाहना वडा वडासम्म पुग्ने छ,’ उनी भन्छन्, ‘जुन आगामी लक्ष्यमा पुरा गर्नेछौं।’

योसँगै आफ्ना ग्राहकलाई सधै गुणस्तरीय सेवा दिनेमा ध्यान दिने उनी बताउँछन् । संख्या वृद्धि गर्ने मात्र होइन, गुणस्तरीय सेवा कसरी दिने भनेर योजना बनाइरहेको उनको भनाइ छ। \"\"

वर्ल्डलिंक टाइमलाइन

सन् १९९५ इमेल सेवाबाट सुरु भएको वर्ल्डलिंक त्यसको दुई वर्षपछि डायलप इन्टरनेट सेवा सुरु गर्यो । त्यस्तै, सन् १९९९ मा भिस्याटबाट अन्तर्राष्ट्रिय व्यान्डविथ ल्याउने र त्यही बेला काठमाडौं बाहिर पनि सेवा विस्तार सुरु गरेको थियो ।

सन् २००० मा वायरलेस ब्रोडव्यान्ड इन्टरनेट सेवा सुरुसँगै थुप्रै अन्तर्राष्ट्रिय कम्पनीसँग कन्टेन क्यासको लागि पार्टनरसिप सुरु भयो । वल्र्डलिंकले नेपालमा पहिलो कन्टेन क्यास सेटअप गर्न अकमइसँग साझेदारी गरेको थियो ।

सन् २००२ मा देशभरी नै भिसेट नेटवर्क तयार गर्यो जसले देशका मुख्य सहरहरु जोडिए । अर्को वर्षदेखि केवल इन्टरनेट सेवा सुरु गरेपछि वायरेसबाट वायरमा जाँदा गुणस्तर सुधारमा धेरै सहयोग गर्यो ।

सन् २००६ मा राष्ट्रमा वायरलेस व्याकबोनको स्थापना गर्यो । यसले पनि मुख्य सहरहरुलाई जोड्न सजिलो भयो । पहिले जसरी भिस्याटबाट भइरहेको थियो, त्यसलाई वायरलेसमा परिवर्तन भयो । त्यसको दुई वर्षपछि अन्तर्राष्ट्रिय व्यान्डविथको लागि क्रस बोर्डर फाइबरको सेटअप गर्यो ।

सन् २०१० मा कन्टेन क्यासको लागि गुगलसँग साझेदारी भयो । सन् २०१२ वर्ल्डलिंकले पहिलो पटक १० एमबीपीएसको केवल इन्टरनेट सेवा सुरुवात गरेका थियो । ‘त्यो बेला १० एमबीपीएस भनेको हाईस्पिड मानिन्थ्यो,’ अग्रवाल भन्छन् ।

सन् २०१४ गेम चेन्जर वर्षको रुपमा आयो । उनीहरु यही वर्षदेखि घरघरमा फाइबर इन्टरनेट (एफटिटिएच) ब्रोडव्यान्ड सेवा सुरु गरे । केवल इन्टरनेटमा भएका गुणस्तरका समस्याहरुलाई यसले समाधान गर्यो । एफटीटीएचको सुरुवातसँगै नेटवर्क विस्तारमा सजिलो भयो भने ग्राहकको संख्या वृद्धिमा तीव्रता आयो । यसमा लगानी वृद्धि गर्दै गए ।

वर्ल्डलिंकले सन् २०१६ मा आईपीटीभी सुरुवात गर्यो । ‘नेपालमा पहिलो पटक हामीले नै आईपीटीभी सुरुवात गरेका थियौं,’ अग्रवाल भन्छन्, ‘यसले ग्राहक माझ एउटै तारबाट इन्टरनेट र टिभी हेर्न सकिने भयो ।’ वर्ल्डलिंकको लागि यो ठूलो उपलब्धि थियो।
त्यसै वर्ष कन्टेन क्यासको लागि फेसबुकसँग फेरि साझेदारी भयो । यसरी प्रगति गर्दै गएको वर्ल्डलिंक सन् २०१७ मा मुलुकमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा धेरै करदाता भनेर नेपाल सरकारबाट सम्मानित भयो ।

वर्ल्डलिंकले सुरक्षित इन्टरनेट प्रयोग गर्न कन्टेन फिल्टरिङ गर्ने ‘सेपरेट’ भन्ने सार्वजनिक गर्यो । यो केटाकेटको लागि अनलाइन ‘प्रोटेक्सन’ थियो ।

वर्ल्डलिंकले सन् २०१८ मा ‘फ्रि वाईफाई’ सेवा सुरुवात गर्यो । जुन आजको दिनमा १० हजारबढी हटस्पट बनिसकेका छन् । वर्ल्डलिंकका प्रयोगकर्ताले यि ठाउँमा सजिलै वाईफाई चलाउन सक्छन् । यस्ता पब्लिक वाईफाईमा दैनिक १ लाख ५० हजारभन्दा धेरै प्रयोगकर्ता जोडिन्छन् ।

सन् २०१९ मा नेपाल सरकारबाट नेसनल आइसिटी अवार्ड पाएको वर्ल्डलिंकले त्यसै वर्ष नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार कोषको परियोजना अन्तर्गत कर्णालीको दुर्गम ठाउँमा ब्रोडव्यान्ड इन्टरनेट पुर्यायो । उक्त वर्ष सीडीसीबाट विदेशी लगानी भित्रयाउन सफल भयो ।

चार हजारभन्दा धेरैलाई रोजगारी दिएर वर्ल्डलिंक सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा रोजगारी दिने कम्पनी बनेको छ । ‘आज वर्ल्डलिंक इन्टरनेटको पर्यायवाची शब्द बनेको छ,’ अग्रवाल भन्छन्, ‘हामी यसमा गर्व गर्छौं ।’