सपना हरिया
तर, क्रन्दन सहेर
निस्किरहेछन् ढुङ्गाको कापबाट
कोशी, गण्डकी अनि कर्णालीका तटहरूमा ।
बन्द कोठाका ढोकाहरू खुल्नासाथ
‘भिटामिन डि’ युक्त
कलिला आभाहरूले
मलाई सुटुक्क स्वागत गरुन् ।
स्वसावधानीका साथ
चिल्ला सडकहरूमा आफ्नै
स्वाभाविक गतिमा
हिमाल, पहाड अनि तराईका राजमार्गहरूमा
गुडिरहुन् सवारीहरू,
न त कुनै त्रास, न त कतै दुर्घटना ।
सम्पूर्ण नागरिक सेवाहरु
घरमै बसी बसी
न त कतै भीड
न त कतै किलोमिटरका लाइनहरू
आहा ! लाइनमुक्त मेरो नेपाल ।
म पढ्ने विद्यालय, म हिँड्ने बाटो
मैले सिक्ने विधि, मैले सोच्ने तरिका
डिजिटल अनि
स्मार्ट, स्मार्ट, स्मार्ट
मात्र स्मार्ट !
सडकमा सवारीको नियन्त्रण
अब ट्राफिक दाजु दिदीहरूले हैन
चिटिक्क परेको रोबोटले
हातमा रिमोट लिएर स्विचको भरमा ।
सुन्दर सहरहरू झल्याङ्मल्याङ तार हैन
सबै वायरलेस वा अण्डरग्राउण्ड
मति भ्रष्ट्रहरु, नेपाल आमाको छातीमा
प्रहार गर्नेहरुलाई ठाउँको ठाउँ
कर्याप्प पार्नेछ डिजिटल पप्पीले
पुर्याउनेछ कोठरीमा
लगाउने छ ठेगान ।
स्मार्ट विद्यार्थीहरू
मदानीरुपी ज्ञानका पोराहरू घुमाउँदै
निकाल्नेछन् मेधावी नौनीका ताजा डल्लाहरू
हुने छैनन् कोही पनि फूर्सदिला ।
एउटा स्विचको भरमा
पापीहरू लाग्नेछन् ठेगानमा
निर्धक्क बाँच्न पाउनेछन्
निर्मला अनि भागरथीहरू !
प्रविधिकै भाकामा
बज्नेछन् मुर्छनायुक्त सरगमहरू
अलङ्कार सहित गाउनेछन् मीठा राग
प्राविधिक ओस्तादहरू ।
खेर जाने छैनन् हावा, पानी
अनि प्रकृतिका अनमोल उपहारहरू
कुद्नेछन् किलोबाइट, मेगाबाइट
अनि गिगाबाइटका गतिमा
हेर्नेछ विश्वले नेपालको डिजिटल प्रकृति
छक्क परेर !
देशप्रेमको भाव छचल्किएर
फर्किनेछन् होनाहार नेपाली
युवा वैज्ञानिकहरू
बिर्सनेछन् नासा
यतै स्थापित हुनेछन्
खासा अनुसन्धान केन्द्रहरू ।
आत्मसाथ हुनेछन् सूर्यका किरणहरु
भरिने छन् प्राण पहाडी पवनहरुले
दिइरहनेछन् निरन्तर उर्जा
इन्धनका रुपमा ।
सामान्य जीवनशैलीमा पनि
गुणस्तरीय अनि स्मार्ट जीवनहरू
आहा ! कति लोभ लाग्दा दृश्यहरु
भित्र भित्रै आल्हादित हुन्छु म ।
जोड जोडले चिच्याउँछु
पूरा होस् मेरो सपना : डिजिटल नेपालको !
फेरी पनि एकपटक अझै जोडले चिच्याउँछु
पूरा होस् मेरो सपना : डिजिटल नेपालको !
भिडियो पनि हेर्नुहोस्
(बगलामुखी राधाकृष्ण थारु मावि गुलरिया, बर्दिया, कक्षा १० मा पढ्ने प्रश्न सुवेदीको यो कविता ‘मेरो डिजिटल नेपाल, मेरो करिकल्पना’ प्रतियोगितामा दोस्रो हुन सफल भएको थियो ।)