विद्यालयस्तरीय स्टान-युनेस्को विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ सम्पन्न भएको छ । विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ विज्ञान शिक्षक समाज नेपाल (स्टान) र युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहकार्यमा आयोजना गरिएको थियो ।
परोपकार माद्यामिक विद्यालय काठमाडौंको आइसिटी कक्षमा आयोजित अन्तिम प्रतिस्पर्धामा सातै प्रदेशबाट छनौट भइ आएका १४ जना प्रतिस्पर्धी विद्यार्थीहरुले वैकल्पिक माध्यमबाट आ-आफ्नो विज्ञान प्रतिभा युक्त परियोजना प्रस्तुत गरेका थिए ।
विद्यार्थीले निर्माण गरेका परियोजनाको मुल्यांकन नेपाल बविज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा. सुरेश कुमार ढुंगेलको उपस्थितमा पाँच सदस्यीय विज्ञ मुल्यांकन समितिबाट भएको थियो ।
युनेस्को नेपाल सचिवालयका सहायक महासचिव डा. बाबुराम अधिकारी प्रमुख अतिथि, नास्ट प्राज्ञ तथा युनेस्को विज्ञान समिती संयोजक प्रा. डा. रमेश मास्के, त्रि.वि. प्रा. डा. रामेश्वर अधिकारी तथा सचिवालय सचिव युवराज पौडेल विशेष अतिथिहरू रहेको कार्यक्रममा देशैभरिबाट करिब १०० भन्दा बढी विज्ञान शिक्षक र विद्यार्थीहरु सहभागी थिए भने प्रत्यक्ष रुपमा १५ जना स्टानका पदाधिकारी तथा विज्ञ आईसिटी कक्षमा सहभागी थिए ।
स्टानका अध्यक्ष खिल कुमार प्रधानको सभापतित्वमा कार्यक्रम शुरू गरिएको थियो | विशेष रुपमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुमा भएको विज्ञान प्रतिभा प्रस्फुटन गरि राष्ट्रिय अन्तराष्ट्रियकरण गर्न आयोजित कार्यक्रममा पहिलो चरणमा सातै प्रदेशमा छुट्टा छुट्टै प्रतिस्पर्धा गराई प्रत्येक प्रदेशबाट २/२ जनाका दरले केन्द्रिय प्रतिस्पर्धाका लागि १४ जना विद्यार्थी छनौट गरिएको थियो ।
अन्तिम प्रतिस्पर्धाबाट भगवती माबी बर्दियाका प्रान्जल ज्ञवाली प्रथम, होराइजन माबी, कपिलबस्तुका अनुसन्धान पोखरेल दोस्रो, आदर्श माबी बिराटनगरका श्रेता पोखरेल तेस्रो र पद्मकन्या माबी काठमाडौंका स्वीकृति बास्तोला चौंथो भएका थिए ।
उत्कृष्ठ भएका विद्यार्थीहरुलाई आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवसको दिन प्रमाण पत्र र सम्मानका साथ नगद पुरस्कार क्रमश: १० हजार रूपैयाँ, ८ हजार रूपैयाँ, ६ हजार रूपैयाँ र ४ हजार रूपैयाँ प्रदान गरिने छ ।