कीवर्डहरू -

फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर मनोरथले पाए ६ लाखबढी पुरस्कार

फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर मनोरथले पाए ६ लाखबढी पुरस्कार

फेसबुकको सुरक्षा कमजोरी (बग) पत्ता लगाएर पाल्पाका २५ वर्षिय मनोरथ अर्यालले ६ लाख भन्दाबढी पुरस्कार प्राप्त गरेका छन् । अर्यालले बग पत्ता लगाएरवापत फेसबुकले ५ हजार २ सय ५० डलर प्राप्त दिएको हो ।

फेसबुकले ५ हजार अमेरिकी डलर रिवार्डसहित त्यसको ५ प्रतिशत बोनस पनि दिएको थियो । उनले फेसबुकमा पेजलाई मेन्सन गर्दा पोष्ट पब्लिस नहुँदै मेन्सन गरेको पेजमा नोटिफिकेसन जाने समस्या पत्ता लगाएका थिए ।

उनले सन् २०२० को डिसेम्बरमा यो बग पत्ता लगाएका थिए । ‘मैले अरू व्यक्तिहरूको सामाजिक सञ्जाल व्यवस्थापन गरिरहेको हुन्छु,’ अर्यालले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘कहिलेकाँही आफ्नो पेजलाई मेन्सन गर्दा पनि त्यो समस्या देखें । २-३ पटक नै यस्तो समस्या देखेपछि डिसेम्बर २४ मा मैले रिपोर्ट गरेको हुँ ।’

उनले उक्त बगको बारे फेसबुकलाई रिपोर्ट गरेपछि फेसबुकले थप अनुसन्धानका लागि केही समय लिएको थियो ।  त्यसपछि उनले उक्त समस्याको भिडियो पनि फेसबुकलाई पठाएका थिए ।

‘बिचमा केही समय ग्याप भएको थियो । जुलाईमा मैले उक्त केसलाई पुनः खोलें,’ उनले भने, ‘अगस्ट १५ उताबाट रिपोर्ट समाधान भयो भनेर म्यासेज आयो । त्यसपछि अगस्ट १७ उनले तपाईको बग समाधान भएछ अहिले मेरोमा देखिएन भनेर रिपोर्ट गरें । त्यसपछि अगस्ट १९ मा फेसबुकले रिवार्ड दिएको हो ।’

शुरूमा उनले पठाएको भिडियोमा अस्पष्टता भएको र पुनः अर्को भिडियो पठाउन फेसबुकले अर्याललाई भनेको थियो । बीचमा व्यस्तताको कारण उनले पुनः भिडियो पठाउन सकेनन् ।

एक महिनासम्म उनले प्रतिक्रिया नदिएपछि उनीहरूले अहिले यस केसलाई बन्द गरेको र केसलाई पुनः खोल्न चाहनुहुन्छ भने पुनः खोल्न सक्नुहुन्छ भनेर म्यासेज पठाएको थियो ।

\"\"

त्यसपछि विस्तृतमा फेरि भिडियो रेकर्ड गरेर पठाएपछि बग भ्यालिड भएर रिवार्ड पाएको उनी बताउँछन् । उनले पहिलोपटक बग पत्ता लगाएका हुन् ।

‘म पूर्ण ह्याकर त होइन । मैले बगमै भनेर कुनै काम गरेको थिएन्,’ उनी भन्छन्, ‘किनभने म पेशागत रूपमा ग्राफिक डिजाइन गर्छु र सामाजिक सञ्जाल व्यवस्थापन गर्छु ।’

विभिन्न सामाजिक सञ्जालका पेजहरू व्यवस्थापन गर्ने उनी आफ्नो कुनै पेजलाई मेन्सन गर्दा पोष्ट पब्लिस नहुँदै आफैले नोटिफिकेसन पाउथे ।

आफ्नोमा मात्रै यो समस्या हो की अरूमा पनि यस्तो छ भनेर उनले साथीहरुको फेसबुकमा पनि चेक गरे । साथीहरूमा पनि उक्त समस्या पाएपछि अर्यालले फेसबुकलाई रिपोर्ट गरेका थिए ।

अब बग बाउन्टीलाई पार्ट टाइमको रूपमा अगाडि बढाउने उनको योजना छ । उनी थप जानकारीका लागि नेपालका अन्य बग हन्टरसँग पनि कुराकानी गरिरहेका हुन्छन् ।

बग बाउन्टीको क्षेत्रमा नयाँ आउनेलाई प्रयास गरिराख्न सुझाब दिन्छन् ।  उनी भन्छन्, ‘चलाउन छोड्नु हुँदैन् । कुनै पनि चिजलाई जति चलायो त्यति समस्या देखिने हो । केही कुरामा समस्या जस्तो लाग्छ भने त्यसलाई रिपोर्ट गर्नुपर्छ ।’

व्यवस्थापन पढेका उनको रूची सूचना प्रविधिमा रहेको छ । उनले बुटबलमा आफ्नो कम्पनी एड्सवर्कसमेत स्थापना गरेका छन् । जसबाट उनले डिजिटल मार्केटिङ सेवा प्रदान गरिरहेका छन् ।  उनले आउटसोर्सबाहेक फुल टाइमको रूपमा २ जनालाई रोजगारी दिएका छन् ।