कीवर्डहरू -

के हो नमस्ते पे ? यस्तो छ प्रयोग गर्ने तरिका

के हो नमस्ते पे ?  यस्तो छ प्रयोग गर्ने तरिका

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले डिजिटल वालेट नमस्ते पे सार्वजनिक गरेको छ । कम्पनीले पहिलो चरणको व्यावसायिक शुरूवात मंगलबारबाट गरेको हो ।

पहिलो चरणमा नमस्ते पेको मोबाइल एप एन्ड्रोइडमा उपलब्ध भएको छ । आईओएसमा पनि एप छिट्टै सञ्चालनमा ल्याउने कम्पनीको जनाएको छ ।

प्रयोगकर्ताले *५००# डायल गरेर समेत खाता खोल्न सक्नेछन् । यसरी खोलिएको खाताबाट ५ हजार रूपैयाँसम्मको कारोबार गर्न सकिने छ ।

नमस्ते पेबाट अहिले नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महशुल भुक्तानी गर्न सकिने छ । थप सेवा पनि आवद्ध गराउँदै जाने कम्पनीको योजना छ ।

कसरी प्रयोग गर्ने नमस्ते पे ?

आफ्नो स्मार्टफोनबाट नमस्ते पे प्रयोग गर्न शुरूमा यहाँ क्लिक गरेर एन्ड्रोइड एप डाउनलोड गर्नुहोस् । त्यसपछि मोबाइल एप खोल्नुहोस् र रजिष्टरमा क्लिक गर्नुहोस् ।

यति गरेपछि त्यहाँ तपाईले कन्ट्याक्ट डिटेल फोन, इमेल राख्नुहोस् । तपाईले त्यहाँ राखेको आफ्नो फोन नम्बर भेरिफाइ समेत गर्नुपर्नेछ । जसको लागि नम्बर राखेको छेउमा भेरिफाइ लेखेको अप्सनमा क्लिक गर्नुहोस् र म्यासेजमा एउटा ओटीपी कोड आउँछ त्यो कोड राखेर भेरिफाई गर्नुहोस् ।

रिफरल कोड भए राख्नुहोस् यदी छैन् भने टर्म्स, कन्डिसन र प्राइभेसी पोलिसीमा ठिक चिन्ह लगाउनुहोस् र अगाडि बढ्नुहोस् । अगाडि बढेपछि तपाईले त्यहाँ आफ्नो व्यक्तिगत विवरण आफ्नो नाम, जन्ममिति र जेन्डर छनोट गर्नुहोस । अनि नेक्स्टमा क्लिक गरेर अगाडि बढ्नुहोस् र एड्रेस डिटेलमा आफ्नो प्रदेश, जिल्ला, पालिका छनोट गर्नुहोस् र अगाडि बढ्नुहोस् ।

आफ्नो एड्रेस राखेर अगाडि बढेपछि केवाईसी डिटेलमा गएर डकुमेन्ट अपलोड गर्ने ठाउँमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, भोटर आईडी, प्यान कार्ड, ड्राइभिङ लाइसेन्स र सरकारी परिचयपत्र मध्ये कुनै एउटा परिचयपत्र छनोट गर्नुहोस् ।

त्यसपछि छनोट गरेको परिचयपत्रको नम्बर राख्नुहोस् । यति गरेपछि आफ्नो डकुमेन्ट वा परिचयपत्रको फोटो खिचेर वा अपलोड गर्नुहोस् र सेभ गरी अगाडि बढ्नुहोस् । डकुमेन्ट पीएनजी, जेपीईजी र पीडीएफ फर्म्याटमा अपलोड गर्न सकिने छ । जसको साइज २ एमबी भन्दा कम हुनुपर्नेछ ।

यति भएपछि रजिष्टर सफल भएको जानकारी त्यहाँ देखिन्छ । त्यसपछि त्यहाँ ओकेमा क्लिक गर्नुहोस् र आफ्नो नम्बरमा आएको चार अंकको पीन कोड राख्नुहोस् । अनि आफुले नयाँ चार अंकको पीन कोड बनाउनुहोस् र चेञ्ज पीनमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईको नम्बरमा पुनः एउटा ओटीपी कोड आउछ, उक्त कोड राखेपछि तपाईको पीन चेन्ज हुन्छ ।

यति भएपछि तपाईले आफ्नो पीन हानेर अकाउन्ट लगइन गर्न सक्नुहुन्छ । साथै यदी तपाईले अकाउन्ट लगआउट गर्नुभयो भने तपाईले अकाउन्ट बनाउँदा राखेको नम्बर तथा पीन राखेर नेक्स्ट गर्नुहोस् । अनि एउटा ओटीपी कोड आउँछ नम्बरमा त्यो कोड राखेर फेरी लगइन गर्न सकिन्छ ।

लगइन गरेपछि भुक्तानी गर्न सक्नुहुन्छ । बैंक अकाउन्ट लिंक गरी वालेटमा पैसा लोड गर्न सकिन्छ । अहिलेलाई सेञ्चुरी बैंक, ग्लोबल आइएमई बैंक, कामना सेवा विकास बैंक, लक्ष्मी बैंक, मेगा बैंक, मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक, प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंकमध्ये कुनै पनि बैंक छनोट गरी अकाउन्ट लिंक गर्न सकिने छ । एपबाट क्युआर कोड स्क्यान गरेर समेत भुक्तानी गर्न सकिन्छ ।

कस्तो छ प्रतिक्रिया ?

नमस्ते पे मंगलबार सार्वजनिक हुने भनिएपछि प्रयोगकर्ताहरू चलाउन उत्सुक भएर बसेका थिए । तर मंगलबार साँझ मात्र सार्वजनिक भएको एप चलाउन नपाएपछि निराश बनेका छन् ।

सामाजिक सञ्जालमा एप डाउनलोड भएपनि एप नचलेको र क्र्यास भएको उनीहरूले गुनासो गरेका छन् । केही प्रयोगकर्ताले एप चलाउन पाएपनि अझै पनि धेरै प्रयोगकर्ताले एप चलाउन पाएका छैनन् ।

कम्पनीले प्रयोगकर्तालाई सुझाबको लागि धन्यवाद दिएको छ । एपमा केही बग भएको र उक्त बगहरू छिट्टै समाधान गर्ने कम्पनीले बताएको छ ।

इन्टरनेट नभए पनि रकम ट्रान्सफर

*५००# युएसएसडी डायल गरेर इन्टरनेट नभएपनि रकम ट्रान्सफर गर्न सकिने, रिचार्ज र बैंकिङ कारोबार सकिने छ । युएसएसडीबाट आफ्नो अकाउन्टको जानकारी लिन, पीन परिवर्तन गर्न, पेन्डिङ कारोबारको जानकारी लिन, ब्यालेन्सको जानकारी लिन, नमस्ते पे वालेटमा रकम ट्रान्सफर, रकमको अनुरोध गर्न, दर्ता नभएको नम्बरमा रकम पठाउन, आफ्नो नम्बर र अरूको नम्बरको रिचार्ज गर्न, बैंकबाट रकम लोड गर्न र बैंकमा ट्रान्सफर गर्न सकिन्छ । साथै तपाईले *५००# डायल गरेर प्राप्त निर्देशन अनुसार इन्टरनेट नभएपनि अकाउन्ट बनाउन सक्नुहुन्छ ।

नेपाल डिजिटल पेमेन्ट्स लिमिटेडको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । यस कम्पनीमा नेपाल टेलिकमको ६१ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३९ प्रतिशत लगानी रहेको छ । गत चैत ३ गते राष्ट्र बैंकबाट ‘नमस्ते पे’ले स्वीकृत पाएको थियो ।

चुक्ता पुँजीका आधारमा हेर्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त २८ वटा भुक्तानी सेवा प्रदायकमा सबैभन्दा ठूला नमस्ते पे रहेको छ । नमस्ते पे यसअघि नै सञ्चाललनमा आउने भनिएपनि विविध कारणले हिजोदेखि मात्रै सञ्चालनमा आएको हो ।