नेपाल टेलिकमले कल ट्यापिङ नगर्ने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताएका छन् । बुधबार नेपाल टेलिकमको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अधिकारीले टेलिकमले कल ट्यापिङ नगर्ने बताएका हुन् ।
टेलिकमले कल ट्यापिङ नगर्ने र त्यो कानूनले पनि नदिने अधिकारीले बताए । ‘धेरैले जनाले मलाई ह्वाट्सएपबाट भाइबरबाट फोन गर्नुहुन्छ,’ अधिकारीले कार्यक्रममा भने, ‘किन यसबाट गर्नुभयो टेलिकमबाट प्याक लिनुहोस् सस्तो छ गुणस्तरीय छ भन्दा खेरी टेलिकमले रेकर्ड गर्छ भनेर भन्नुहुन्छ ।’
त्यो रेकर्ड गर्ने उपकरण टेलिकमसँग नभएको उनले जानकारी दिए । ‘हुन त सुनिन्छ कहिले जर्मनी चान्सलरको कल रेकर्ड गर्यो भनेको छ । कहिले इन्डियाको गर्यो भनेको छ, कहिले कहाँको गर्यो भनेको छ,’ अधिकारी भन्छन्, ‘त्यो खालको उपकरणहरू हामी कहाँ छैनन् । त्यो कुरा तपाईहरूलाई मैले पनि विश्वस्त गराउन चाहे ।’
टेलिकमसँग कल रेकर्ड गर्ने उपकरण नभएको र कानूनी रूपमा त्यो गर्न पनि नपाउने अधिकारी बताउँछन् । त्यसतर्फ आफुहरूले सोच्दा पनि नसोच्ने उनले बताए ।