कीवर्डहरू -

अनलाइन सपिङ आलिया बजार सञ्चालनमा

अनलाइन सपिङ आलिया बजार सञ्चालनमा

उपभोक्ताको अनलाइन माध्यमबाट आवश्यक सामाग्री खरिद गर्ने क्रम बढ्दै गएसँगै नयाँ–नयाँ इकमर्स कम्पनी पनि सञ्चालनमा आउने क्रम पछिल्लो समय बढ्दै गएको छ । यसै सन्दर्भमा अनलाइनबाटै ग्राहकलाई गुणस्तरीय सामाग्री सुपथ मूल्यमा उपलब्ध गराउन भन्दै आलिया बजार नामक अनलाइन सपिङ कम्पनी सञ्चालनमा आएको छ ।

हाल प्रचलनमा रहेको दराज, ग्यापु जस्ता मल्टि भेन्डर्स कम्पनी जस्तै आलिया बजारले पनि ग्राहकलाई अनलाइनमार्फत ग्राहकले गर्ने अर्डरपछि घरघरमा सामान डेलिभरी गर्नेछ । डिलरबाट नभइ सिधै डिलरमार्फत सामाग्री खरिद गरेर सुपथ मूल्यमा गुणस्तरीय सामग्री ग्राहकलाई डेलिभरी गर्नेगरी आफूहरु लागिपरेको कम्पनीकी सञ्चालक समीक्षा कार्कीले जानकारी दिइन् ।

उनले कम्पनीमार्फत कारोबार सुरु भइसकेको र केही समयभित्रै औपचारिक रुपमा उद्घाटन समेत गर्ने बताइन् । आलिया बजारमा ग्राहकको रोजाइ र आवश्यकताका विभिन्न सामाग्री उपलब्ध रहेका छन् भने ती सामग्री बजारमा भन्दा सुपथ मूल्यमा उपलब्ध हुने कम्पनीको दावी छ ।

‘यो इकमर्स कम्पनी लामो रिसर्च गरेर सञ्चालनमा ल्याइएको हो । हामी डाइरेक्ट कम्पनीहरूबाट सामान ल्याउँछौँ । हामी डिलरहरूबाट ल्याउँदैनौँ’, कार्कीले भनिन्, ‘छिटो र स्तरीय सेवा दिन्छौं । ब्रान्डेड सामानमात्रै बेच्ने भएकाले सबैले विश्वास गर्नुहुनेछ भन्ने अपेक्षा कम्पनीको छ ।’

आलिया बजारले निकट भविष्यमै आलिबाबा लगायतसँग सम्झौता गरेर नेपाली कृषि उपजलाई विदेशी बजारमा पुर्याउने लक्ष्य समेत लिएको छ ।  उपभोक्ताले आवश्यक सामान आलिया बजारको बेबसाइट मा गएर अर्डर गर्न सक्नेछन् भने आलिया बजारको मोबाइल एप्सबाट पनि खरिद गर्न सकिनेछ ।