रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो यन्त्रभित्र पनि जीवन छ । रोबोटको निर्माण विभिन्न प्रकारको काम गराउन गरिन्छ । यसभित्र मानिसहरुसँग दोहोरो संवाद गर्न सक्ने प्रोग्राम राखिएको हुन्छ । रोबोटहरु हिँड्न सक्छन्, आँखाले वस्तुलाई स्क्यान गरेर हेर्न सक्छन् । अनेक प्रकारका शारीरिक हलचल गर्न सक्छन् । अहिलेका आधुनिक ह्युमोमोइड रोबोटहरुले भने मानिसले गर्न नसक्ने जटिल कार्यहरु समेत गर्न सक्छन् ।
प्राचीनकालमा रोबोटलाई रोबोट भन्ने चलन थिएन र सबैभन्दा पहिले रोबोट शब्दको प्रयोग १९२१ मा ’चेकमा रोसमको युनिभर्सल रोबट्स’ (rossums universal Roberts) नामक नाटकमा प्रयोग गरिएको थियो । रोबोटको मतलब चेक भाषामा कठिन परिश्रम अथवा मजदुर भन्ने बुझाउँछ । उक्त नाटकका लेखक केरेल केपेकले रोबोट शब्द प्रचलनमा ल्याएका थिए । त्यसपछि यो शब्द विश्वभरमा व्यापक प्रयोगमा आएको थियो ।
रोबोट सबैभन्दा पहिला कहिले र कहाँ बन्यो होला र कसले निर्माण गर्याे होला आदि अनेकौँ उत्सुकता धेरैमा हुन सक्छ । रोबोटको सुरुवातको कुरा गर्दा धेरै पौराणिक कथाहरुमा समेत रोबोटको विकास भएका तथ्यहरु उल्लेख गरिएका छन् । ग्रिकका देवता हेफेस्टसले यान्त्रिक कर्मचारीहरु निर्माण गरेका थिए । त्यस्तै यहुदीको कथामा माटोको गोलेम, पिगमेलियनको पौराणिक मूर्ति गालातियासमेत जीवित भएका, अनेकाैं पौराणिक कथा छन् । यसकारण अटोमेटा अर्थात् रोबोटको इतिहास प्राचीन चीन, प्राचीन ग्रिस र इजिप्टलगायत विश्वका धेरै देशका पौराणिक कथाहरुको संस्कृतिसँगै विकास भएको मानिन्छ ।
तर वास्तवमै सबैभन्दा पहिले रोबोटको निर्माण भने इसापूर्वको चौथो शताब्दीका एक जना ग्रिकका दार्शनिक अर्काइटसले गरेका थिए । दार्शनिक भए तापनि अर्काइटस म्याथम्याटिसियन, एस्ट्रोनोमर तथा स्ट्राटेजिस्टसमेत थिए । उनले आफै उड्न सक्ने द फ्लाइङ पिजन नामको एउटा डिभाइस निर्माण गरेका थिए । यो डिभाइस बाफको सहायतामा चल्न सक्थ्यो । आर्काइटसले बनाएको यही स्वचालित डिभाइसलाई नै संसारमा सबैभन्दा पहिलो रोबोट मानिन्छ र आर्काइटसको यही प्रयोग रोबोटिक्सको इतिहासमा कोसेढुंगा सावित भयो ।
तत्पश्चात् अलेक्जेन्ड्रियाका हिरो (Hero of Alexandria_) ले बाफबाट चल्ने धेरै स्वचालित यन्त्रहरुको निर्माण गरे । यसपछि दशौँ शताब्दीतिर चीनमा सुसोङले एउटा घण्टाघरको निर्माण गरे, जहाँ एउटा यान्त्रिक मूर्तिले हरेक घण्टामा घण्टी बजाउने काम गर्दथ्यो । रोबोटहरु मानव आकृतिको जस्तो मात्र नभएर जनावर जस्तो र अन्य कुनै वस्तुको आकारमा पनि बनेका छन् ।
चौधाँै शताब्दीको अन्त्यतिर आधुनिक रोबोटको विकास सुरु भयो । त्यतिबेला लियोनार्दो दा भिन्चीले आधुनिक ह्युमोनोइड रोबोट बनाउन खाका तयार गरेका थिए । १९५० तिर दा भिन्चीका नोटबुकहरु पुन खोजी गरियो । जहाँ, यान्त्रिक योद्धाहरुको चित्र भेटिएको थियो । यसकारण अहिले यी रोबोटहरुलाई लियोनार्दो रोबोटका नामले चिनिन्छ । ती रोबोटहरु बस्न तथा हिँडडुल गर्न र हात चलाउन सक्छन् । यिनीहरुको टाउको र अनुहारसमेत चल्छ ।
यसपछि सत्रौं शताब्दीमा यस्ता धेरै आकार र प्रकारका स्वचालित रोबोटहरुका निर्माण भए र ती रोबोटहरुले चित्र बनाउने,उड्ने तथा संगीत बजाउने देखि लिएर मानिसले गर्ने धेरै प्रकारका जटिल कामहरु गर्न सक्दथे । जापानी शिल्पकार हिससिगे तानाका जसलाई जापानका एडिसनका रुपमा समेत चिनिन्छ, उनले एकदमै जटिल मेकानिकल खेलौनाहरु बनाएका थिए । तीमध्ये केहीले चिया बाँड्ने तथा तिर हान्न सक्ने थिए भने केही जापानी कान्जीका चरित्रहरु पनि थिए ।
यसरी १८ औँ दशकतिर विस्तारै ह्युमोनोइड रोबोटको विकास हुँदै गयो । साधारणतया मानव व्यवहारको नक्कल गर्ने र झट्ट हेर्दा पनि मानिससँग मिल्दोजुल्दो रुप रेखा भएका रोबोटहरुलाई ह्युमोनोइड रोबोट भनिन्छ । रोबोटले बोल्नेदेखि लिएर जति पनि मानवीय आचरणको नक्कल गर्छ, त्यो हेर्दा हामीलाई यस्तो लाग्छ कि यसले आफ्नै बुद्धि र विवेक प्रयोग गरेर यी सम्पूर्ण कामहरु गर्दछ । र यसको आफ्नै उद्देश्य छ । तर रोबोट एउटा यान्त्रिक एजेन्ट हो । यसमा विद्युतीय मेकानिकल प्रणाली हुन्छ । संसारकै पहिलो ह्युमोनोइड रोबोट १८१० मा फ्रेडरिक कफमेनले बनाएका थिए । उनले ट्रम्पेटसहितको सैनिक ह्युमोनोइड रोबोट बनाएका थिए ।
सामान्य स्वचालित रोबोट भने मानिसजत्तिकै लचिला हुँदैनन् । तर यिनीहरु आरामले घुमफिर गर्न सक्छन् । कम्प्युटर जस्तै स्वचालित रोबोटहरु पनि सफ्टवेयर तथा अन्य साधनहरु सँग जोडिएका कारण मानिस अथवा कुनै पनि वस्तुलाई सजिलै पहिचान गर्न सक्छन् । कुराकानी गर्न र साथी बन्न सक्छन् । वरपरको वातावरणमा पनि निगरानी राख्न सक्छन् । सामान्य स्वचालित रोबोट भिन्नभिन्नै प्रकारका कार्यहरु एकैसाथमा गर्न सक्छन् र अन्य धेरै उपयोगी कार्य गर्न सक्छन् ।
१९२८ मा डब्ल्यु एच रिचार्डले ह्युमोनोइड रोबोटको निर्माण गरेका थिए र उक्त रोबोटलाई लन्डनमा प्रदर्शनीमा राखिएको थियो । रोबोटलाइ एरिक नाम दिइएको थियो र त्यसमा ११ वटा इलेक्ट्रोम्याग्नेट र १२ भोल्ट पावर भएको मोटरसहित आल्मुनियमको कवच सुट थियो । उक्त रोबोटले हात चलाउन सक्थ्यो भने यसलाई रिमोट कन्ट्रोल र भ्वाइस कन्ट्रोलले कन्ट्रोल गरिएको थियो ।
यसपछि १९३९ मा वल्र्डस फेयरमा अर्को इलेक्ट्रो नामको अर्को ह्युमोनोइड रोबोट देखा प¥यो । जसको उचाइ सात फिट (२.१मिटर ) र वेट २५६ पाएन्ड (१२० केजी) थियो । यो रोबोटले भ्वाइस कमाण्डमा हिँड्न र ७०० शब्द बोल्न सक्थ्यो । यसका अलावा सिगरेट पिउने, बेलुनमा हावा भर्ने तथा हात र टाउको हल्लाउनेसमेत गर्न सक्थ्यो । यसको शरीरमा एक स्टिल गियर क्यामेरा थियो र मोटर स्केलेटेन थियो, जसलाई अल्मुनियम स्किनले ढाकिएको थियो ।
यसरी नै २१औँ शताब्दीसम्म आइपुग्दा धेरै आधुनिक रोबोटहरुको विकास भयो । यान्त्रिक मानव अथवा कृत्रिम सहायक रोबोट र यिनीहरुलाई बनाउने प्रयासको धेरै लामो इतिहास छ । तर पूर्णतया स्वायत्त मेसिनहरु भने केवल २०औँ शताब्दीमा आए । विश्वमा पहिलो कमर्सियल, डिजिटल तथा प्रोग्रामेबल रोबोट जर्ज डेवल १९५४ मा बनाएका थिए, जसको नाम युनिमेट थियो । डिजिटल प्रणालीबाट चल्ने प्रोग्राम भएको पहिलो रोबोट युनिमेटको प्रयोग १९६१ मा मेसिनका लागि आवश्यक धातुका धेरै तातो टुक्राहरु उठाउन गरिएको थियो ।
आज विश्वसनीयताका साथ काम गर्ने वाणिज्य तथा औद्योगिक रोबोटहरु व्यापक रुपमा सहज मूल्यमा उपलब्ध छन् र प्रयोगमा आइरहेका छन् । यसबाहेक नराम्रा र मानव जातिलाई बेफाइदा पु¥याउने कामका लागि पनि रोबोटहरुको व्यापक प्रयोग भइरहेको छ । ह्युमोनोइड रोबोटको प्रयोग यातायात, पृथ्वी र अन्तरिक्षको खोज, सर्जरी, हतियारको निर्माण, प्रयोगशाला अनुसन्धान र उपभोक्ता र औद्योगिक उत्पादनका लागि गरिँदै आएको छ ।