कीवर्डहरू -

३ महिनामा टेलिकमको आम्दानी करिब ११ अर्ब, खुद नाफा ४९ प्रतिशतले वृद्धि

३ महिनामा टेलिकमको आम्दानी करिब ११ अर्ब, खुद नाफा ४९ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासिकमा नेपालको टेलिकमको आम्दानीमा वृद्धि भएको छ । टेलिकमले चालु आर्थिक वर्षको ३ महिनामा १० अर्ब ९५ करोड २३ लाख ४६ हजार कुल आम्दानी गरेको हो ।

टेलिकमले मंगलबार सार्वजनिक गरेको वित्तिय विवरण अनुसार गत आवको पहिलो त्रैमासिकको भन्दा चालु आवको पहिलो त्रैमासमा कुल आय ८.३९ प्रतिशत अर्थात ८४ करोड ७८ लाख ७१ हजारले वृद्धि भएको छ ।

गत आवको पहिलो त्रैमासिकमा टेलिकमको कुल आय १० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेको थियो । चालु आवको पहिलो त्रैमासमा टेलिकमको कुल आय बढेसँगै खुद नाफामा पनि वृद्धि भएको छ ।

गत आवको पहिलो त्रैमासिकमा टेलिकमको खुद मुनाफा रु १ अर्व ५१ करोड ७७ लाख ६९ हजार रहेकोमा चालु आवको सोही अवधिमा रु. ७४ करोड २१ लाख ३४ हजार (अर्थात ४८.९० प्रतिशत) ले वृद्धि भई रु २ अर्ब २५ करोड ९९ लाख ४ हजार रहेको छ ।

त्यस्तै गत आवको प्रथम त्रैमासिकमा इबीआईटीडीए रु ३ अर्ब ९७ करोड ४ लाख ९१ हजार रहेकोमा चालु आवको सोही अवधिमा रु ८४ करोड ४९ लाख ५७ हजार (अर्थात २१.२८ ४८.८९ प्रतिशत)ले वृद्धि भई ईबीआईटीडीए रु ४ अर्व ८१ करोड ५४ लाख ४८ हजार रहेको छ ।

चालु आवको पहिलो त्रैमासिकमा टेलिकमको सञ्चालन आयमा समेत वृद्धि भएको छ । गत आवको सोही अवधि कम्पनीको सञ्चालन आय रु ८ अर्ब ६२ करोड ८४ लाख ३४ हजार रहेकोमा चालु आव को सोही अवधिमा  रु १ अर्व ४ करोड ८९ लाख ४ हजार(अर्थात, १२.१६ १३.२ प्रतिशत) ले वृद्धि भई रु ९ अर्व ६७ करोड ७३ लाख ३८ हजार रहेको छ ।

टेलिकमका अनुसार टुजी, थ्रीजी र फोरजी विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि भइ मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि भएपछि आम्दानी बढेको हो ।

साथै कम्पनीको एफटीटीएच सेवा प्रति ग्राहकको आकर्षणमा वृद्धि भई एफटीटीएच मार्फत बितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटिभी सेवाका ग्राहकहरु वृद्धि हुन गई फिक्स्ड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको टेलिकमले जनाएको छ ।