कीवर्डहरू -

सीटीईभीटीको नर्सिङ कार्यक्रमको निःशुल्क छात्रवृत्तिका लागि अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

सीटीईभीटीको नर्सिङ कार्यक्रमको निःशुल्क छात्रवृत्तिका लागि अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद (सीटीईभीटी) ले शैक्षिक शत्र २०७८/७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा आवेदन खुलाएको छ ।

सीटीईभीटीले बुधबार एक सूचना प्रकाशित गर्दै पूर्ण शुल्कीयतर्फ र निःशुल्क छात्रवृत्ति तर्फ छनोटका लागि आवेदन फाराम खुलाएको हो ।

पूर्ण शुल्कीयका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले आफुले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा आगामी मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै निःशुल्क छात्रवृत्तिका लागि आगामी मंसिर २८ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने छ । न्यूनतम योग्यता पुगेका आवेदकहरूले मुलुकभरिको कुनै एक प्रदेशमा मात्र आवेदन फाराम भर्न पाइनेछ ।

एकभन्दा बढी प्रदेशमा आवेदन फाराम भरेको पाइएमा स्वतः रद्द हुने परिषद्ले जानकारी दिएको छ । सीटीईभीटीले जम्मा १२५ जनालाई छात्रवृत्ति प्रदान गर्नेछ । जसमा प्रदेश १ मा १८, प्रदेश २ मा २३, बागमति प्रदेशमा ५७, गण्डकी प्रदेशमा ९ र लुम्बिनी प्रदेशमा ९ गरी जम्मा १२५ जनालाई छात्रवृत्ति प्रदान गरिने छ ।

सरकारी तथा सामुदायीक विद्यालयबाट एसईई, प्राविधिक एसएलसी/ प्रिडिप्लोमा र परिषद तथा त्रिभुवन विश्वविद्यालयका आंगिक शिक्षण संस्थाबाट प्राविधिक एसएलसी वा सो सरह उतीर्ण गरेका नेपाली नागरिकलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ ।

छात्रवृत्तिका लागि यसरी भर्नुहोस् अनलाइनबाटै फाराम

सीटीईभीटीले मंसिर १२ गतेदेखि अनलाइन आवेदन फाराम खुल्ला हुने जानकारी दिएको छ । अनलाइनबाट आवेदन खुल्ला भएपछि शुरूमा वेब ब्राउजरमा गएर सिटिईभीटी डट ओआरजी डट एनपी वा सिटिईभीटीएक्जाम डट ओआरजी डट एनपी (www.ctevt.org.np वा www.ctevtexam.org.np) टाइप गरी इन्टर गर्नुहोस् ।

अनि त्यहाँ देखिएको क्लासिफाईड अनलाइन एप्लिकेसन फर्म (Classified Online Form) मा  क्लिक गर्ने । त्यसपछि आफूले अध्ययन गर्न चाहेको एउटा स्तर डिप्लोमा/पिसिएल (Diploma/PCL) छानी न्यू यूजरमा क्लिक गर्ने तथा परीक्षार्थीको नाम, थर र मोबाइल नम्बर राखी प्रोसिडमा क्लिक गर्ने ।

यति गरेपछि शुल्क जम्मा गर्न पे नाउ (PayNow) अप्सनमा क्लिक गरी आफूले शुल्क जम्मा गर्ने कम्पनी छानेर प्रोसिडमा क्लिक गर्नुहोस् । शुल्क ६ सय रूपैयाँ तोकिएको छ ।

शुल्क जम्मा गरेको भेरिफिकेसन पश्चात् आफ्नो पासवर्ड बनाउने र पासवर्ड बनाएपछि क्लासिफाईड स्कलरसिप अनलाइन एप्लिकेसन फर्म ओपन (Classified Scholarship Online Application Form Open) हुन्छ र अनलाइन एप्लिकेसन फर्ममा उल्लेख भएको आवश्यक विवरण भर्दै जानुपर्नेछ ।

अनलाइन फाराम भर्दा पासपोर्ट साइज रंगिन फोटो (35x45mm) को साइज न्यूनतम ८ केबी तथा अधिकतम ५० केबी,परीक्षार्थीको हस्ताक्षरको साइज न्यूनतम ३ केबी तथा अधिकतम २० केबी र आवश्यक पर्ने कागजातको साइजः न्यूनतम ८० केबी तथा अधिकतम ३०० केबी हुनुपर्नेछ । तोकिए अनुसार शुल्क, फोटो र साइज समावेश नभएका आवेदन स्वत रद्ध हुने सीटीईभीटीले जनाएको छ ।

वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको आवेदन फाराम आवेदक स्वयंले अनलाइनमा प्रक्रिया पूरा गरी परिषद्, प.नि.का. बाट स्वीकृत भएपछि तुरुन्त भर्ना अनुमति पत्र प्रिन्ट गर्न सक्ने छन् । सो प्रिन्ट गरिएको भर्ना अनुमति पत्र शिक्षण संस्थामा भर्ना हुनका लागि चाहिने हुनाले सुरक्षित राख्नुपर्नेछ ।

संस्थाले मोबाइल प्रयोग गरी अनलाइन आवेदन फाराम भर्दा फोटो, कागजातहरू संलग्न गर्दा फाराम सबमिसनमा समस्या आउने गरेकोले सकभर कम्प्युटरको प्रयोग गर्नुहुन अनुरोध गरेको छ।