कीवर्डहरू -

पश्चिम नेपालमा इन्टरनेट विस्तार गर्न भायानेट र चाइना कम्युनिकेसनबीच साझेदारी

पश्चिम नेपालमा इन्टरनेट विस्तार गर्न भायानेट र चाइना कम्युनिकेसनबीच साझेदारी

भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तार गर्न चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ ।

चाइना कम्युनिकेसन सर्भिसेज (सीसीएस) चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो, जसले विश्वका ३० भन्दा बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउनेगर्छ ।

सीसीएससँग अत्याधुनिक फाइबर पूर्वाधारको डिजाइन, विकास र कार्यान्वयन गर्ने अनुभव रहेको भायानेटले दाबी गरेको छ । यो साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम (५,६,७) प्रदेशहरूमा द्रुत गतिमा आफ्नो उच्च गतिको फाइबर नेटवर्क निर्माण र विस्तार गर्न सहयोग गर्नेछ ।

यसका साथै भायनेट उत्कृष्ट डिजिटल अनुभवमार्फत आम नेपालीको जीवनलाई समृद्ध बनाउने सपना पूरा गर्न आफ्ना ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट उपलब्ध गराउने दौरमा निरन्तर लागिपरेको छ ।

भायनेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठक बोहराले सीसीएससँग साझेदारी गरेर पश्चिम नेपालमा अत्याधुनिक उच्च गतिको फाइबर नेटवर्क निर्माण गर्न अनुभवी अन्तर्राष्ट्रिय टोलीसँग काम गरिरहेको बताएकी छिन् ।

पश्चिम नेपालमा आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय इन्टरनेट र डिजिटल सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता पूरा गर्न समझदारीले सघाउ पुर्याउने उनको दाबी छ ।

भायनेटले ग्रामीण दूरसञ्चार विकास अनुदान परियोजनाअन्तर्गत डोटी, दार्चुला, डडेल्धुरा र बैतडीका दुर्गम जिल्लाहरूमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने काम पनि सम्पन्न गरिसकेको जनाएको छ ।