कीवर्डहरू -

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली शुरू

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली शुरू

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन गरिएको छ । कार्यालयको कामलाई छिटो, छरितो र पारदर्शी बनाउने गरी एकै प्रकृतिका कार्य एउटै सूचना प्रविधि प्रणालीमार्फत सञ्चालन गरिएको हो ।

सूचना प्रविधि विभाग, मुद्रण विभाग, सूचना तथा प्रसारण विभाग, प्रमाणीकरण नियन्त्रणको कार्यालय र हुलाक सेवा विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन गरिएको छ ।

सूचना प्रविधि विभागले गत साउनदेखि, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत असोज १ गतेदेखिर अन्य कार्यालयले यही मङ्सिर १ गतेदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन गरेको सूचना प्रविधि विभागले जनाएको छ ।

विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले सरकारी कार्यालयको कामलाई कागजातरहित विद्युतीय सेवामार्फत सुशासन अभिवृद्धि गर्नका लागि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन गरिएको जानकारी दिए ।

केही समयभित्र मन्त्रालयअन्तर्गतका अन्य कार्यालय र क्रमिक रूपमा सबै सरकारी कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन गर्ने योजना विभागको छ ।

यस प्रणालीमार्फत कार्यालयमा टिप्पणी, तोक आदेश दिने, दर्ता तथा चलानी, व्यवस्थित अभिलेख राख्ने, विद्युतीय हाजिर, बिदा, काजसम्बन्धी कार्य र सोको व्यवस्थापन गर्ने एउटै प्रकृतिका कार्य गर्ने व्यवस्था रहेको छ । त्यस्तै कार्यसम्पादन मूल्याङ्कन, पत्रको ढाँचा तयार गरी पत्र तयार गर्ने, नियुक्ति, काज सरुवा, रमाना र पदस्थापन गर्ने, कार्यान्वयन योजना तयार गर्ने, प्रगति विवरण भर्ने, प्रगति प्रतिवेदन तयार गर्ने, अनुगमन गर्ने कार्यसमेत कार्यान्वयनमा ल्याइनेछ ।

समिति गठन र बैठक व्यवस्थापन गर्ने, कार्य सम्पादन करारसम्बन्धी कार्यसमेत गर्नका लागि विभागले नेपाल सरकारको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका तयार गरेको छ ।

उनले भने, ‘सरकारी निकायको कामलाई थप व्यवस्थित र प्रभावकारी तथा छिटो छरितो बनाउने उद्देश्यले अहिलेलाई सञ्चार तथा प्रविधि मन्त्रालय एवं अन्तर्गतका विभागमा र क्रमिक सबै सरकारी निकायको कामलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सञ्चालन गर्न लागिएको छ ।’

महानिर्देशक श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा पनि सबै कार्यालय एउटै विधिमा चल्ने गरिएको र नेपालमा पनि सोही प्रणाली सञ्चालन गर्न एकीकृत कार्यालय व्यवस्थान प्रणाली सञ्चालनमा ल्याइएको बताए ।

उनका अनुसार एउटै सूचना प्रविधि प्रणाली सञ्चालनका क्रममा विभागले सबै सरकारी कार्यालयलाई एड्मिन युजर र पासवर्ड प्रदान गरेको छ । सम्बन्धित निकायका प्राविधिक वा सम्बन्धित व्यक्तिद्वारा उक्त एड्मिन युजर र पासवर्ड प्रयोग गरी एकीकृत कार्यालय व्यवस्थान प्रणाली सञ्चालन गरिँदै आएको छ ।

उक्त सबै कार्य गर्नका लागि सरकारी कार्यालयका अधिकारीले विद्युतीय हस्ताक्षरको प्रयोग गर्र्नुपर्ने नेपाल सरकारको एकीकृत कार्य व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापनमा उल्लेख गरिएको छ ।

मुद्रण विभागका सहायक प्रवक्ता विमला कोइरालाले मुद्रण विभागले राजपत्र, ई–हाजिरी, बिदा, काज स्वीकृत गर्नेलगायतका कतिपय प्रशासनिक कार्य विद्युतीय प्रणालीमा सुरु गरिसकेको बताइन ।

‘विभागले २००८ सालदेखि प्रकाशन गरेका सबै राजपत्र डिजिटलाइजेसन गरिसकेको छ,’ उनले भनिन, ‘डिजिटलाइजेसनको प्रक्रिया अलि लामो भए पनि व्यवस्थित र प्रभावकारी भएको छ ।’