कीवर्डहरू -

अनलाइनबाटै अब भन्सारको भुक्तानी

अनलाइनबाटै अब भन्सारको भुक्तानी

अबदेखि अनलाइनबाटै भन्सारको राजस्व भुक्तानी गर्न सकिने भएको छ । भन्सार विभागले बिहीबारदेखि वीरगञ्जस्थित सुक्खा बन्दरगाह हुँदै हुने आयात निर्यातबापतको भन्सार शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गर्न लागेको हो ।

नेपाल राष्ट्र बैङ्कसमेतको लगानी गरेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)मार्फत सेवाग्राहीले भन्सार राजस्व भुक्तानी गर्न सक्ने वीरगञ्जस्थित प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो ।

‘आधुनिक भन्सार निर्माणको योजनाअनुसार अबदेखि राजस्व पनि अनलाइनमार्फत नै गर्न लागिएको हो,’ उनले भने ।

भन्सार प्रणाली व्यवस्थापनमा प्रयोग भइरहेको ‘आसिकुडा वर्ल्ड’को मापदण्डअनुसार विभागले राजस्व निर्धारण गर्ने गरेको हो ।

यसरी निर्धारण गरिएको राजस्वलाई महालेखा नियन्त्रक कार्यालयमार्फत प्रतिवेदन तयार गरेर अर्को कार्यदिनमा राष्ट्र बैङ्क हुँदै रेभिन्यु म्यानेजमेन्ट इन्फरमेसन सिष्टम (रिम्स)मा पठाउने गरिन्छ ।

नयाँ व्यवस्थाअनुसार रिम्स प्रणालीमा वास्तविक समयमै अद्यावधिक हुनेगरी राजस्व भुक्तानी प्रणाली सञ्चालन गर्न लागिएको हो ।

पौडेलका अनुसार नगदरहित सेवाका लागि महालेखा, अर्थ, आन्तरिक राजस्व र बैङ्कहरूलाई एकीकृत गरेर भुक्तानी प्रणाली तयार गरिएको छ । वीरगञ्जस्थित एकीकृत भन्सार जाँच–चौकी (आईसीपी)मा व्यवसायीले विदेशबाट आयात गरेर ल्याएका सामानको एकद्वार प्रणालीमा जाँच लागू भएको छ ।

विभागले आगामी माघदेखि देशभरिका सबै ठूला भन्सार कार्यालयमा गरिने राजस्व भुक्तानीलाई पनि अनलाइनबाटै गर्न सकिने बनाउने भएको छ । त्यसका लागि अहिले परीक्षणका रूपमा वीरगञ्जस्थित कार्यालयबाट सुरु गर्न लागिएको हो । गोरखापत्र