कीवर्डहरू -

शुक्रबार एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले, १२ विधामा अवार्ड प्रदान गरिँदै 

शुक्रबार एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले, १२ विधामा अवार्ड प्रदान गरिँदै 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रवार द सोल्टी काठमाडौंमा आयोजना हुने भएको छ । छैटौं संस्करणको आइसिटी अवार्डमा १२ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यस वर्ष अवार्डको लागि ४०० बढिको अनलाइन आवेदन प्राप्त भएको र ४ महिना अवधिसम्म छनौट प्रक्रिया सञ्चालन भएको छ ।

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्वावे स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ विधाहरू समावेश भएका छन् । यी विधाहरूमा १५० बढीको आवेदन प्राप्त भएको थियो । विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट ५ को पब्लिक भोटिङ पनि सञ्चालन गरिएको थियो ।

व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्ड विधाहरू रहेका छन । यि विधाहरूमा १०० बढिको नोमिनेशन प्राप्त भएको थियो ।

संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड विधाहरू समावेश छन् ।

यी विधाहरूमा १५० बढीको नोमिनेशन प्राप्त भएको र विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट ३ को छनौट भएको अवार्ड जुरी समितिका मुख्य संयोजक हेमपाल श्रेष्ठले जानकारी दिएका छन् ।

आइसिटी अवार्ड २०२१ मा लगभग ६ महिनाको तयारी सम्पन्न भएको आयोजक समितिका संयोजक राजन लम्सालले बताए । हरेक पक्षबाट अवार्डलाई सर्वोत्कृष्ट बनाउनको लागि जुरी, सल्लाहकार लगायत सबैले उत्तिकै मेहनत गरेको उनको भनाइ छ ।

ग्राण्ड फिनालेको लागि आयोजकले सम्पूर्ण तयारी पूरा गरेको र निमन्त्रणादेखि नै प्रविधिको अधिकतम प्रयोग गरिएको आयोजकले जनाएको छ । छनौट प्रक्रियामा समेत हरेक जुरीलाई ओटिपी पठाएर इन्डिपेन्डेन्ट रूपमा भोट लिइएको छ ।

ग्राण्ड फिनालेको लागि आयोजकले यहाँ क्लिक गरी टिकट पनि खरिद गर्न सकिने जनाएको छ । हिमालय टेलिभिजन, हाम्रो पात्रो एप लगायतबाट अवार्डको प्रत्यक्ष प्रसारण समेत हुनेछ ।

अवार्डको लागि २५ भन्दा बढि जुरी मिटिङ सम्पन्न भएका छन् । १५ जना विशिष्ट सल्लाहकारहरू रहेको आइसिटी अवाडले नेपालको डिजिटल इकोसिस्टमको महत्वपूर्ण आधार तयार पारिरहेको नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले बताए ।

आइसिटी अवार्डको महत्वपूर्ण पक्ष यसको छनौट प्रक्रिया रहेको र यसमा सुरुवातदेखि नै विशेष ध्यान दिइएको जुरी सदस्य सुवास ढकालले जनाए । आइसिटी अवार्ड पछिल्लो समय नेपालको आइसिटी क्षेत्रको लागि महत्वपूर्ण प्लाटफर्मको रुपमा विकास भइरहेको जुरी नरोत्तम अर्यालको भनाइ छ ।

अवार्डको सिलसिलामा यस वर्ष स्टार्टअप एण्ड इन्नोभेसन फेस्ट, मेन्टरिङ सेसन, पूर्वविजेता र अहिलेका प्रतिस्पर्धीको स्टोरी सेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेशन तथा स्पिड डेटिङहरू सञ्चालन भएका छन् ।

एफवान सफ्टले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३० भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको कार्यक्रममा नेपाल टेलिकम र जिनस सोलुसन इन एसोसिएसनमा रहेका छन् ।

विश्व प्रसिद्ध कम्पनी ह्वावे र डिस होम पावर्ड बाईमा रहेका छन् । यसैगरी वुमन आइकन अवार्डलाई सम्मान गरिरहेको एनसेल क्याटेगोरी स्पोन्सर, राष्ट्रिय वाणिज्य बैंक बैंकिङ पार्टनर र प्रेसिडेन्सियल कलेज नलेज पार्टनरमा सहभागी भएका छन् ।

यसैगरी अमेरिकाको प्रसिद्ध साइबर सेक्युरिटी कम्पनी रिसेक्युरिटी, भारतको प्रसिद्ध कम्पनी अपग्राडले कार्यक्रममा सहकार्य गरेको छ । नेपाल बैंक लिमिटेड, फ्युज मेशिन्स, एप्लाईजब, एमिनेन्स वेइज, डाइनामिक इआरपी लगायतको सहकार्य रहेको कार्यक्रम हिमालय टेलिभिजन, डिस होमका विभिन्न च्यानल, विभिन्न अनलाइन र हाम्रोपात्रोमा लाइभ प्रसारण हुनेछ ।

यस्ता छन् उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट तथा राइजिङ स्टार इन्नोभेसनहरू

विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ स्टार्टअप कम्पनीहरू डुलुवा एक्सपेडिसन्स प्रा.लि, हाउस अफ बुक्स प्रा.लि, खेती भेन्चर प्रा.लि, निर्वाण साथी टेक्नोभेसन प्रा.लि र पुर्‍याउ सर्भिसेस प्रा.लि रहेका छन् ।

प्रडक्ट आइसिटी अवार्ड २०२१ को लागि उत्कृष्ट ५ मा छनौट भएका प्रडक्टहरूमा बगभी, आइएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम, मिखा, प्लान्टस्याट र सायक रहेका छन् ।

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ को लागि छनौट भएका उत्कृष्ट ५ इन्नोभेसनहरूमा आक्स माट्ररव, आइओटी ब्यास्ड इकोनोमिकल एयर प्युरिफायर फर द ग्लोबल साउथ, मुसोर, ओपन पास्टपेपर र रेन्ट अ बाइक रहेका छन । यि मध्ये शुक्रवारको ग्राण्ड फिनालेमा हरेक विधामा एक सर्वोत्कृष्ट घोषणा गरिनेछ ।

विजेताले पाउछन् ३ लाख रुपैयाँदेखि १५ लाखको सहुलियतपूर्ण ऋण सुविधासम्म

आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्नेछन् ।

यो सम्मानलाई यस अघिका विजेताहरूले एक महत्वपूर्ण उपलब्धि र गौरवको रूपमा ग्रहण गरेका छन् । आइसिटी अवार्डको उपाधि पाउनु नै महत्वपूर्ण सम्मान गरेको प्रथम पायोनियर आइसिटी अवार्ड विजेता मुनिबहादुर शाक्य बताउँछन् ।

यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइीसटी अवार्ड २०२१ का विजेताले बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछ । एनसेलले वुमन आइकन आइसिटी अवार्ड विजेतालाई आकर्षक रकम सहित पुरस्कार प्रदान गर्नेछ ।

पावर्र्ड बाई स्पोन्सर ह्वावेले विजेता र उत्कृष्ट ५ मा परेका स्टार्टअपलाई ३ लाखसम्मको ह्वावे क्लाउड सेवा उपलब्ध गराउनेछ । नेपाल टेलिकमले सबै विजेतालाई वर्षको १२० जिबीको डेटा प्याकेज उपलब्ध गराउनेछ भने डिसहोमले उच्चगति फाइबरनेट प्रदान गर्नेछ ।

यसैगरी यी विभिन्न विधाका उत्कृष्टलाई इसेवाले २५ हजार बराबरको आफ्नो विजनेश इन्टिग्रेसन र प्रवद्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ ।

अन्य कम्पनी तथा सहयोगी संस्थाहरूले स्टार्टअप र इन्नोभेसनका विधामा विभिन्न किसिमले सहयोग, आवश्यक लगानीको लागि अवसर प्रदान गर्नेछन् ।