कीवर्डहरू -

शुरू भयो केन्द्रिकृत एसएमएस गेटवे, अब न्युनतम शुल्कमै सरकारी कार्यालयले एसएमएस पठाउन सक्ने

शुरू भयो केन्द्रिकृत एसएमएस गेटवे, अब न्युनतम शुल्कमै सरकारी कार्यालयले एसएमएस पठाउन सक्ने

सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे शुरू गरेको छ । पुस ७ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एसएमएस गेटवेको शुभारम्भ गरेका हुन् ।

विभागले तयार पारेको एसएमएस गेटवे प्रयोग गरी सरकारी निकायले न्युनतम शुल्कमा एसएमएस पठाउन सकिने छ । यसबाट सरकारी निकायहरूले सेवा दिन पठाइएका एसएमएसहरूको एकीकृत प्रतिवेदन समेत पाइने छ ।

उक्त उद्घाटन कार्यक्रममा सञ्चालकमा रूपमा विभाग, एसएमएस सेवा प्रदायक नेपाल टेलिकम र एनसेल तथा सेवा प्रयोगकर्ताका रूपमा महान्याधिवक्ताको कार्यालय, यातायात व्यवस्था विभाग र बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबीच सम्झौता भएको थियो ।

विभागका महानिर्देशका प्रेम शरण श्रेष्ठले यस प्रणालीमा विभिन्न दूरसञ्चार सेवा प्रदायकहरूसँगको भीपीएन कनेक्टिभिटी र सर्भरको व्यस्थापन सो सेवा लिन सबै सरकारी निकायले गर्नुको सट्टा एउटै निकायबाट मात्र गरिने बताए ।

विभिन्न सरकारी निकायले प्रयोग गर्ने कुल एसएमएस संख्याका आधारमा प्रति एसएमएस न्युनतम शुल्क कायम गर्न सकिने उनले जानकारी दिए ।

हाल केही निकायबाट मात्रै यो गेटवे प्रयोगको शुरूवात भएपनि आगामी दिनमा अन्य एसएमएस सेवा प्रदान गर्ने सरकारी निकायहरूलाई यसमा आवद्ध गर्दै लगिने विभागले जनाएको छ ।