कीवर्डहरू -

माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने

माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने

अब अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले आगामी माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति काम गर्ने तयारी गरेको हो ।

यो व्यवस्था भएसँगै वैदेशिक रोजगार कार्यालयमा गएर पुनः श्रम स्वीकृत लिन लामो लाइन लाग्नुपर्ने र पुनः श्रम स्वीकृति लिन मात्रै नेपाल आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । २०७७ साल पुस महिनाबाट अनलाइन मार्फत पुनः श्रम स्वीकृति दिन थालिएको थियो ।

अहिलेसम्म वैदेशिक रोजगार विभागले भौतिक उपस्थित र अनलाइन दुबै तरिकाबाट पुनः श्रम स्वीकृति दिइरहेको छ । तर अब भने माघ २ गतेदेखि अनलाइनबाट मात्रै काम हुनेछ ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्ने छ । म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउनुपर्ने शुल्क रकम पनि अनलाइनबाटै बुझाउन सकिने छ । साथै अनलाइन फाराम भर्दा पाएको युजर नेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीलाई छिटो, छरितो, पारदर्शी र सरल सेवा उपलब्ध गराउने योजनासहित अनलाइनबाट मात्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न लागिएको विभागको भनाइ छ ।