सनराइज बैंक लिमिटेडले सहकारीका ग्राहकलाई लक्षित गर्दै चिपमा आधारित एटिएम कार्ड सञ्चालनमा ल्याएको छ । यो सँगै अब सहकारीका सदस्यले समेत बैंकका एटिएममा उक्त कार्ड प्रयोग गरेर रकम निकाल्न सक्ने छन् ।
उक्त कार्डबाट सहकारी सदस्यका ग्राहकले जुनसुकै बैंकको एटिएम बुथबाट पैसा झिक्न सक्नेछन् । यो भिजा कार्ड दक्षिण एशियामै पहिलो पटक प्रयोगमा ल्याइएको बैंकले जनाएको छ ।
एटिएम कार्ड पाउन सम्बन्धित सहकारी संस्थाले बैंकसँग कारोबारका लागि साझेदारी गरेको हुनुपर्नेछ । त्यसपछि सहकारीका सदस्यले बैंकमा गएर एटिएम कार्ड माग गर्न सक्नेछन् ।
बैंकको एटिएमबाट पैसा झिक्दा थप अतिरिक्त शुल्क तिर्नु नपर्ने जनाइएको छ । उक्त कार्ड पस मेसिनमा राखेर पनि विभिन्न भुक्तानी गर्न सकिने छ । साथै विभिन्न अनलाइन भुक्तानीमा समेत उक्त कार्ड प्रयोग गर्न सकिने छ ।