नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले शर्ट्स टिभी सार्वजनिक गरेको छ । सोमबार एक भर्चुअल कार्यक्रम आयोजना गर्दै डिशहोमले नेपालमा शर्ट्स टिभी सार्वजनिक गरेको हो ।
शर्ट्स टिभी डिशहोम र डिशहोम गो एपबाट हेर्न सकिने छ । दक्षिण एशियामा भारतपछि नेपालमा शर्ट्स टिभी लञ्च भएको हो । शर्ट्स टिभीबाट विभिन्न शर्ट्स मुभि र अस्कर अवार्डमा नोमिनेटेड भएका शर्ट फिल्महरू हेर्न सकिने छ । नेपालीहरूले बनाएका शर्ट मुभिहरूमा पनि यसमा प्रसारण हुनेछ ।
कार्यक्रममा शर्ट्स टिभीका सीईओ कार्टर पिल्चरले नेपालमा शर्ट्स टिभी सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए । साथै उनले नेपाल आईकनिक देश भएको भनेर प्रशंसा समेत गरे ।
त्यस्तै कार्यक्रममा डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यले नेपाली शर्ट मुभी मेकरका लागि यो राम्रो प्लेटफर्म भएको बताए । यसले नेपाली सामग्रीलाई विश्वसामु पुर्याउने उनको भनाइ छ ।
शर्ट्स टिभी शर्ट्स फिल्महरूको विश्वव्यापी डेडिकेटेड नेटवर्क हो । यसको क्याटलगमा १३ हजार बढी शीर्षहरू रहेका छन् । शर्ट्स टिभीले सन् २००६ देखि अस्कर अवार्डमा नोमिनेटेड भएका शर्ट फिल्महरू रिलिज गर्दै आएको छ ।
शर्ट्स टिभीको प्रमुख कार्यालय लन्डनमा रहेको छ । शर्ट्स टिभी, युरोप, अमेरिका लगायतका देशसँगै अमेजन प्राइम, आईट्युन्स र गूगल प्लेमा समेत उपलब्ध रहेको छ ।