कीवर्डहरू -

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौं उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने भएको छ ।

यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भइसकेको र आईतबारदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार भएको हो ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रमकाबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटी प्रभु-पेको किअस्क मेसिन उद्‌घाटन गरेका हुन् । सो उद्‍घाटन पश्चात ७ वटै ट्राफिक कार्यालय सेवा शुभारम्भ भएको छ ।

ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस् भन्ने उदेश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा विस्तार गरिएको एसएसपी जोशीले जानकारी दिए ।

किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाईन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने समेत उनले बताए ।