कीवर्डहरू -

ब्याचलर इन टेक्निकल एजुकेसन कोर्ष शुरू गर्दै केयु, किन गरिदै छ शुरू ?

ब्याचलर इन टेक्निकल एजुकेसन कोर्ष शुरू गर्दै केयु, किन गरिदै छ शुरू ?

काठमाडौं विश्वविद्यालय (केयु) ले ब्याचलरमा टेक्लिकल एजुकेसन कोर्ष शुरू गर्ने भएको छ । आगामी मार्चदेखि विश्वविद्यालयले ब्याचलर इन टेक्निकल एजुकेसन (बीटेक एड) शुरू गर्ने भएको हो ।

देशमा प्राविधिक तथा व्यवसायीक शिक्षा पढाउने शिक्षक तथा सिकाइ सहजकर्ताको अभाव भएकाले बीटेक एड शुरू गर्ने लागेको काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन बाल चन्द्र लुइटेलले बताए ।

प्राविधिक तथा व्यावसायिक शिक्षा पढाउने शिक्षकहरुमा सिकाईका प्रयोग तथा सिद्धान्तहरु, शैक्षणिक प्रक्रियाहरु तथा तरिकाहरु, मूल्याकंनका प्रविधि तथा प्रक्रियाहरु आदिको सिप नभएको वा कम भएको र शिक्षालाई प्राविधिक तथा व्यावसायिक विषयबाट टाढा राखिएको वा छुट्टै बनाइएकाले यसको आवश्यकता भएको विश्वविद्यालयको भनाइ छ ।

बी टेक एड प्राविधिक तथा व्यवसायीक शिक्षाका लागि आवश्यक पर्ने जनशक्ति (शिक्षक तथा शैक्षणिक सहजकर्ता) तयार पार्ने कार्यक्रम भएको जनाइएको छ । यो चार वर्षे स्नातक कार्यक्रम हो ।

यो आठवटा सेमेस्टरमा पढाई हुनेछ । यो कार्यक्रमको जम्मा केडिट आवर १८० रहेको छ । यस कार्यक्रम अन्तर्गत सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, मेकटानिकल इन्जिनियरिङ-अटोमोबाइल र सूचना प्रविधिमा स्पेसलाइजड गर्न सकिने छ ।

१८० आवरमा शिक्षण पेसा, शैक्षिक मनोविज्ञान, पाठ्यक्रम विकास, मापन र मूल्यांकन, जनरल अंग्रेजी र जनरल नेपाली सिकाईने छ । त्यस्तै यस कार्यक्रममा भोकसनल पेडागोजी समेत सिकाइने छ । साथै यो कार्यक्रम पढ्ननेले इन्टर्सीप र रिसर्च समेत गर्नुपर्ने छ ।

यो कोर्ष अध्ययन गर्न कक्षा १२ का प्रत्येक विषयमा कम्तिमा पनि डी प्लस ग्रेड र सीजीपीए १.८ ल्याएको हुनुपर्नेछ । त्यस्तै पीसीएल पढेकाले कम्तिमा सेकेण्ड डिभिजन ल्याको हुनुपर्ने छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षालयाहरुलाई आवश्यक पर्ने शिक्षक तथा सहजकर्ताहरु उत्पादन गर्ने र प्राविधिक तथा व्यावसायिक विषयहरु सँगै शिक्षा तथा शिक्षणसँग सम्वन्धित विषयहरु शिक्षण गर्ने यसको उद्देश्य हो ।

बीटेक एड कार्यक्रम काठमाडौं विश्वविद्यालयको स्टिम एजुकेसन विभाग अन्तर्गत रहने छ । यस कोर्ष अन्तर्गत सूचना प्रविधिमा स्पेस्लाइज्ड गर्न जानकी कलेज फर प्रोफेसनल स्टडिज जनकपुरधाम र सिन्धुली कम्युनिटी टेक्निकल इन्स्टिच्युट सिन्धुलीमा अध्ययन गर्न सकिने छ ।

त्यस्तै सिभिल इन्जिनियरिङमा स्पेसलाइज्ड गर्न सिन्धुली कम्युनिटी टेक्निकल इन्स्टिच्युट सिन्धुलीमा र मेकानिकल इन्जिनियरिङमा स्पेस्लाइज्ड गर्न बुटवल टेक्निकल इन्स्टिच्युट बुटवलमा अध्ययन गर्न सकिने गरी विश्वविद्यालयले सहकार्य गरेको छ ।

बिटेक एड पछि मास्टर्समा एमटिभीइटी, सस्टेनेबल डेभलपमेन्ट, आर्ट्स, स्टिम एजुकेसन लगायतका विषयमा अध्ययन गर्न सकिने छ ।