के तपाईंसँग पनि यस्ता कुनै साथी वा क्लाइन्ट छन्, जो नेपाली वा अंग्रेजी बाहेक अरु भाषामा कुरा गर्छन्, जसलाई बुझ्न तपाईंलाई गाह्रो हुन्छ? ह्वाट्सएप चाँडै यसको एकदमै सजिलो समाधान लिएर आउँदैछ। अब तपाईंलाई म्यासेज कपी गरेर गूगल ट्रान्सलेटमा जानुपर्ने आवश्यकता पर्नेछैन।
हालै ह्वाट्सएपको बीटा भर्सनमा ‘ट्रान्सलेट म्यासेज’ नामको नयाँ फिचर देखिएको छ। यसको सबैभन्दा विशेष कुरा भनेको यो ‘पर-च्याट’ आधारमा काम गर्नेछ। अर्थात्, तपाईं कुनै एक विशेष च्याटका लागि यो फिचर अन गर्न सक्नुहुन्छ। त्यसपछि त्यस च्याटमा आउने हरेक नयाँ म्यासेज स्वतः तपाईंले छानेको भाषामा बदलिनेछ।
ह्वाट्सएपको यो नयाँ प्रक्रिया अहिलेको तरिकाभन्दा निकै सजिलो र छिटो हुने अपेक्षा गरिएको छ। यसको प्रयोग गर्न तपाईंले सम्बन्धित च्याटको सेटिङ्समा गएर यो फिचर अन गर्नुपर्नेछ। त्यसपछि आउने सबै म्यासेजहरू अटोम्याटिक रूपमा ट्रान्सलेट हुन थाल्नेछन्। यहाँ तपाईंलाई म्यासेजहरू मूल रूपमा कुन भाषामा आएका छन् र आफूले तिनलाई कुन भाषामा पढ्न चाहनुहुन्छ भन्ने चयन गर्ने पूर्ण स्वतन्त्रता मिल्नेछ। सबैभन्दा राम्रो कुरा के हो भने, यो फिचर व्यक्तिगत कुराकानी मात्र होइन, ग्रुप च्याटहरूमा पनि समान रूपमा काम गर्नेछ। यसले विदेशी भाषा बोल्ने ग्रुपमा पनि सहजै तालमेल मिलाउन मद्दत गर्नेछ।
धेरैजसो मनमा प्रश्न आउँछ, अनुवादका कारण हाम्रो कुरा लीक त हुँदैन? हुँदैन। यो फिचर एप्पलको अन-डिभाइस ल्याङ्ग्वेज प्याक प्रयोग गर्छ। यसको अर्थ म्यासेजको अनुवाद तपाईंको फोनभित्रै हुनेछ, कुनै बाहिरी सर्भरमा होइन। यसले तपाईंका च्याटहरू पहिलेझैँ एन्ड-टू-एन्ड इन्क्रिप्टेड र सुरक्षित नै रहनेछन्।
कुन-कुन भाषाहरू समावेश हुनेछन्?
किनकि यो एप्पलको प्रविधिमा आधारित छ, त्यसैले हाल यसमा हिन्दी, अंग्रेजी, अरबी, फ्रेन्च, जर्मन, जापानी, कोरियन र स्पेनिशसहित लगभग २० भन्दा बढी प्रमुख भाषाहरू समावेश हुनेछन्। जति-जति एप्पलले नयाँ भाषाहरू थप्दै जानेछ, त्यति नै ह्वाट्सएप मा पनि तिनको सपोर्ट बढ्दै जानेछ। हाल यो फिचर टेस्टिङ फेजमा छ। आशा गरिएको छ कि चाँडै नै यो सबै आईओएस यूजर्सका लागि रोलआउट गरिनेछ।
आईसीटी समाचार