कीवर्डहरू -

‘नेपाललाई ग्लोबल आईटी हबको रूपमा विकास गर्न प्रविधिमैत्री नीति राजनीतिक प्रतिवद्धता चाहिन्छ’

‘नेपाललाई ग्लोबल आईटी हबको रूपमा विकास गर्न प्रविधिमैत्री नीति राजनीतिक प्रतिवद्धता चाहिन्छ’

नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थान दिने उद्देश्यले काठमाडौंमा अन्तर्राष्ट्रिय आईसीटी सेमिनार सम्पन्न भएको छ । क्यान महासंघको आयोजनामा असार ३० गते शनिवार भएको उक्त कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, एसोसिओका अध्यक्ष डा. ब्रायन शेन, पूर्वमन्त्री गणेश साह लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थान दिनका लागि प्रविधिमैत्री नीति, राजनीतिक प्रतिवद्धता र आवश्यक स्रोतहरूको उचित प्रयोगमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्र बैंकका गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले प्रविधिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले भने, ‘राष्ट्र बैंक प्रविधिमैत्री वातावरणमा काम गर्न सबैलाई प्रोत्साहन गरिरहेको छ भने प्रविधि प्रयोगलाई प्राथमिकतामा राखेको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिनसक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा राखे । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा घोषणा गरी हरेक प्रदेशमा सूचना प्रविधि पार्क निर्माण गर्ने, १५ लाख रोजगारी सिर्जना गर्ने र हरेक वर्ष नेपालबाट कम्तीमा पनि तीन खर्ब रुपैयाँ बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य लिएको प्रसङ्ग उल्लेख गर्दै यसका लागि यसै बमोजिमको लगानीको वातावरण राज्यले निर्माण गर्नुपर्नेमा जोड दिए ।

एसोसिओका अध्यक्ष ब्रायन शेनले नेपालमा प्राकृतिक स्रोत साधन, पर्यटन, कला र संस्कृतिलाई प्रविधिको माध्यमबाट प्रवर्द्धन गर्न सके नेपाल विश्वको गन्तव्यका साथै आईटीको पनि गन्तव्य बन्न सक्ने बताए । यसका लागि नेपाल सरकारले आईटीमार्फत समृद्धि ल्याउने समय सान्दर्भिक नीति बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा मार्कएनी इंक (दक्षिण कोरिया) का सीईओ डा. जोन चोइ, जेआईएसए (जापान) सचिवालयका मासातोशी कोइजुमी र थाई आईसीटी उद्योग संघ (थाइल्याण्ड) का बुनराक सारग्गानन्दाले आफ्ना कार्यपत्रहरू प्रस्तुत गरेका थिए । सो अवसरमा उनीहरूले आफ्ना देशहरूमा सूचना प्रविधि क्षेत्रमा भएका उल्लेखनीय उपलब्धि र आगामी योजनाहरूको बारेमा चर्चा गरे। साथै, नेपालले यी अनुभवहरूबाट के सिक्न सक्छ र कसरी सूचना प्रविधि क्षेत्रमा अझ प्रगति गर्न सक्छ भन्ने विषयमा सुझाव पनि दिए । नेपाल सूचना प्रविधि क्षेत्रमा विश्वभरको ध्यान तान्न सक्‍ने र ग्लोबल आईटी हबको रूपमा स्थापित हुन धेरै समय नलाग्ने बताउँदै राजनीतिक रूपमा प्रतिवद्धताको खाँचो हुनु पर्नेमा उनीहरूको जोड थियो ।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक डा. प्रदीप पौडेलले सरकारको तर्फबाट र इन्फोडेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदीले निजी क्षेत्रबाट कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आयोजित प्यानल छलफलमा नेपाल सरकारका ई-गभर्नेन्स आयोगका सदस्य-सचिव एवं प्रमुख कार्यकारी अधिकतम दिपेश बिष्ट, डिश मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्य, टेकक्राफ्ट इन्क. प्रा.लि. का कार्यकारी निर्देशक सन्तोष कोइराला, र जनरल टेक्नोलोजी प्रालिकी सीईओ सुनैना पाण्डे लगायत विभिन्न देशका प्रतिनिधिहरूले नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थान दिनका लागि आवश्यक उपायहरूको बारेमा छलफल गरेका थिए । प्यानल छलफलको सञ्चालन आईसीटी विशेषज्ञ डा. विवेक एस राणाले गरेका थिए ।

कार्यक्रममा क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले सरकार र निजी क्षेत्र मिलेर नेपाललाई आईटी हब बनाउन नीतिगत रूपमै लाग्नुपर्ने बताए। उनले भने, ‘सरकारले नीति ल्याउनुपर्छ प्रविधिमार्फत समृद्धि ल्याउने र निजी क्षेत्रले त्यसमा साथ दिन्छ । नेपालमा प्रविधिमैत्री नियम कानुन बने १० वर्षमा आईटी हब बन्न सक्छ ।’

एसोसिओका उपाध्यक्ष नवराज कुँवरले नेपाल दक्षिण एसियामै पर्यटन क्षेत्र र प्रविधिमार्फत जोड्न सके विश्वकै नमुना गन्तव्य र आईटी हब बन्न सक्‍ने विश्वास व्यक्त गरे ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले भविष्यमा बीटुबी, वर्कशप, बुटक्याम्प, स्मार्ट सिटी, एआई र अन्य कार्यक्रम गरिने जानकारी दिए ।