कीवर्डहरू -

‘विपद् साथी’लाई Yantra Business Cup को उपाधि, ‘प्रवाह’ उपविजेता

‘विपद् साथी’लाई Yantra Business Cup को उपाधि, ‘प्रवाह’ उपविजेता

काठमाडौं । Robotics Association of Nepal (RAN) ले आयोजना गरेको ‘Yantra Business Cup: Softbots Agentic AI Hackathon’ मा टिम InnoVision को ‘विपद् साथी’ परियोजना च्याम्पियन बनेको छ । टिम 0xNull को ‘प्रवाह’ उपविजेता बनेको छ भने टिम PWM (Power With Mind) को ‘Crisis Pilot’ ले मेन्टर्स च्वाइस अवार्ड जितेको छ ।

Yantra X 2026 - The Intelligence & Entrepreneurship Festival अन्तर्गत सेप्टेम्बर ११ र १२ (भदौ २६ र २७) मा काठमाडौंको Sunway College मा आयोजित दुई दिने ह्याकाथनमा विद्यार्थी टोलीहरूले ‘Disaster Response’ विषयमा एजेन्टिक एआईमा आधारित समाधान विकास गर्ने चुनौती पाएका थिए ।

भोटेकोशी–त्रिशूली करिडोरमा हालै आएको बाढीले रसुवागढी र टिमुरेदेखि स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती हुँदै नुवाकोटसम्मका समुदाय प्रभावित भएको पृष्ठभूमिमा ह्याकाथनको विषय ‘Disaster Response’ तय गरिएको थियो ।

null

कार्यक्रमको सुरुवात बाढीले पारेको प्रभावबारे छलफलबाट भएको थियो । विज्ञहरूले नेपालमा विपद् प्रतिकार्यमा चुनौती साहस वा इच्छाशक्तिको कमीभन्दा पनि गति, समन्वय र समयमै सूचना प्राप्तिमा रहेको बताएका थिए । यही अन्तर पूर्ति गर्न इन्टेलिजेन्ट प्रणाली उपयोगी हुन सक्ने धारणा कार्यक्रममा व्यक्त गरिएको थियो ।

पहिलो दिन परम्परागत र प्रविधिको सम्मिश्रण रहेको ‘स्मार्ट दियो’ प्रज्वलन गरी प्रमुख अतिथि तथा नेपाल दूरसञ्चार प्राधिकरण (NTA) का अध्यक्ष अर्जुन घिमिरेले कार्यक्रमको औपचारिक उद्घाटन गरे । RAN का उपाध्यक्ष तथा Yantra X का कार्यकारी निर्देशक मिलन तामाङ र Sunway College का प्राचार्य खुशल रेग्मीले उद्घाटन मन्तव्य राखेका थिए ।

विपद् प्रतिकार्यसँग जोडिएका विज्ञहरूले आफ्ना संस्थागत अनुभव प्रस्तुत गरेका थिए । National Disaster Risk Reduction and Management Authority (NDRRMA) का संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले रसुवा बाढीका क्रममा सरकारको काम र प्रतिकार्यबारे जानकारी दिए । ICIMOD को Glaciers-to-Ocean (G2O) कार्यक्रमका वरिष्ठ परियोजना संयोजक डा. राजेश थापाले डाउनस्ट्रिम विपद्का हिमानी उत्पत्तिबारे प्रकाश पारे ।

TekBay International का प्रबन्ध निर्देशक वैभव खड्काले नेपालको इनोभेसन इकोसिस्टममा उद्योगको भूमिकाबारे धारणा राखे । त्यसपछि सहभागी टोलीहरूले आफ्ना विपद् प्रतिकार्यसम्बन्धी अवधारणाको संक्षिप्त परिचय दिएका थिए ।

null

RAN का महासचिव तथा Yantra X का प्रबन्ध निर्देशक ओमकार जैसवालले संस्थाको Drone Rapid Response Team बारे जानकारी दिए भने Luna IoT का प्रमुख कार्यकारी अधिकृत सुमन पौडेलले विपद् प्रतिकार्यका क्रममा सञ्चारको महत्त्वबारे अनुभव बाँडे ।

प्रमुख अतिथि घिमिरेले समापन मन्तव्यमा सहभागीलाई आफ्ना नवप्रवर्तन नेपाल दूरसञ्चार प्राधिकरण (NTA) सम्म ल्याउन आग्रह गरेका थिए । RAN का अध्यक्ष इन्जिनियर विकास गुरुङले उत्कृष्ट प्रविधि विकास हुने अपेक्षा व्यक्त गर्दै उद्घाटन समारोह समापन गरेका थिए ।

दिउँसो Youth Innovation Lab का कार्यकारी निर्देशक प्रदीप खतिवडाले ‘Rapid Assessment of the Rasuwa Flood and Disasters in Nepal’ शीर्षकमा प्रस्तुति दिँदै ह्याकाथनको चुनौतीलाई वास्तविक तथ्यांकसँग जोड्ने प्रयास गरेका थिए । त्यसपछि टोलीहरूले मेन्टरहरूको मार्गदर्शनमा साँझसम्म प्रोटोटाइप निर्माण गरेका थिए ।

दोस्रो दिनको सुरुवात Mehta Heino का पूर्व संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत र King's College का स्टार्टअप सल्लाहकार सन्तोष मेहताले सञ्चालन गरेको ‘Business Model Development’ सत्रबाट भएको थियो । त्यसपछि Diyo.AI का गौरव भट्टराईले ‘Tools and Techniques for Developing AI Agents’ शीर्षकमा प्राविधिक सत्र सञ्चालन गरेका थिए ।

दिउँसो टोलीहरूले प्रोटोटाइपलाई अन्तिम रूप दिई Next AI का प्रमुख कार्यकारी अधिकृत क्षितिज रिमाल, TekBay International का प्रबन्ध निर्देशक वैभव खड्का तथा Integrated ICT Pvt. Ltd. का सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत विरोध रिजाल सम्मिलित निर्णायक मण्डलसमक्ष प्रस्तुति दिएका थिए ।

Skill Makers, Status 200, PWM (Power With Mind), 0xNull, NEP AI Solutions, सहायक, युक्तियुक्ति, Third Eye, ResQ, Terra Nova, Aegis Echo, GGSRC र InnoVision लगायतका टोलीको प्रस्तुति मूल्यांकनपछि विजेताको घोषणा गरिएको थियो ।

टिम InnoVision को ‘विपद् साथी’ परियोजनाले च्याम्पियनको उपाधिसँगै ५० हजार रुपैयाँ पुरस्कार जितेको छ । राजमार्गका क्यामेरामा २४ घण्टा पहुँच प्रयोग गरी दुर्घटना वा अन्य घटना स्वत: पहिचान गर्ने र सम्बन्धित निकायलाई तत्काल सतर्क गराउने यस प्रणालीले एआई इन्जिनमार्फत घटना पत्ता लगाउनुका साथै एम्बुलेन्स, प्रहरीलगायत आवश्यक स्रोत समेत सिफारिस गर्ने क्षमता राख्छ ।

टिम 0xNull को ‘प्रवाह’ ले ३० हजार रुपैयाँसहित उपविजेताको स्थान हासिल गरेको छ । वर्षा र नदी अनुगमन स्टेसनबाट प्राप्त तथ्यांकका आधारमा जोखिम विश्लेषण तथा पूर्वानुमान गर्ने यस प्रणालीमा एआई एजेन्टले जिल्लागत जानकारी दिने तहको काम गर्छ । यसको उद्देश्य विपद् आउनुअघि नै सम्भावित जोखिमको पूर्वानुमान गर्नु हो ।

यस्तै, टिम PWM (Power With Mind) को ‘Crisis Pilot’ ले मेन्टर्स च्वाइस अवार्ड प्राप्त गरेको छ । यस प्रणालीमार्फत नागरिकले आपत्कालीन घटनाको प्रतिवेदन दर्ता गर्न सक्छन् । त्यसपछि ह्याङ्गरबाट स्वचालित रूपमा ड्रोन उडाई प्रभावित व्यक्तिको पहिचान तथा ट्र्याकिङ गर्ने व्यवस्था गरिएको छ । यसमा सार्वजनिक पारदर्शिता फिड र सरकारी अद्यावधिक समेत जोडिएको छ ।

कार्यक्रमको समापन समारोहमा निर्णायक क्षितिज रिमाल, अतिथि वक्ताका रूपमा CODE Project (Swisscontact) का टोली नेता सिजन मैनाली तथा AI Association of Nepal का अध्यक्ष शैलेन्द्र गिरीले मन्तव्य राखेका थिए । पूर्वमन्त्री (वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय) इन्जिनियर गणेश शाह प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

Sunway College का प्राचार्य खुशाल रेग्मी र RAN का अध्यक्ष इन्जिनियर विकास गुरुङको समापन मन्तव्यसँगै कार्यक्रम सम्पन्न भएको थियो । ‘Yantra Business Cup: Softbots Agentic AI Hackathon’ Robotics Association of Nepal (RAN) ले Yantra X 2026 अन्तर्गत Sunway College, काठमाडौंको सहकार्यमा आयोजना गरेको हो ।