काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ अर्ब ४ करोड रकम बराबरको अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने समूह पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन खेलाउने १० जना भारतीय र १४ जना नेपाली गरी २४ जनालाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।
बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरू अन्तर्गत ८ भन्दा बढी बेटिङ साइटहरुको प्रयोग गरी भारतीय बेटिङ खेल्ने एजेन्टहरू हरुसंग ह्वाट्सएपमार्फत सम्पर्क गरी अनलाइन/अफलाइन गेमिङ खेलाएर हारजित भएको बेटिङ रकम भारतको विभिन्न बैंक खाताबाट नै डिपोजिट/विथड्र गराउने गरिएको थियो ।
उनीहरूले सानेपा स्थित २ वटा घर भाडामा लिई व्यवसायिक तवरले अनलाईन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेका थिए ।
प्रहरीले बरामद गरेको ल्यापटप तथा मोबाईलको प्रारम्भिक अनुसन्धान गर्दा तीन अर्ब चार करोड त्रिहत्तर लाख छपन्न हजार छ सय बाह्र रुपैयाँ बराबरको अनलाईन जुवा कारोबार गरेको देखिन आएको छ ।
निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समेत आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर, पठाईएको छ ।