कीवर्डहरू -

आइसिटी क्षेत्रमा कहाँ कहाँ छ अवसर ?

आइसिटी क्षेत्रमा कहाँ कहाँ छ अवसर ?

शिव बस्नेत-
सरकारले चालु बजेटमा ५ वर्षमा ५ लाखलाई रोजगारी दिने योजना ल्याएको सन्दर्भमा यो लक्ष्य पुरा गर्न आइसिटी मुख्य क्षेत्र हुन सक्छ । सरकारी प्राथमिकतामा नपर्दा नपर्दै पनि यो क्षेत्रले थुप्रै अवसर र सम्भावना सिर्जना गरिरहेको छ । केही समयअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा गठित एक कार्यदलको प्रतिवेदनमा ५ वर्षमा ८५ हजारलाई आइसिटी क्षेत्रले रोजगारी दिन सक्ने अनुमान गरेको थियो । तर बजारमा आइसिटी जनशक्तिको तीव्र माग भइरहेको र स्थानीयस्तरमा थुप्रै आइटीजन्य योजना र कार्यक्रम आइरहेको सन्दर्भमा यो संख्याभन्दा धेरैले अवसर पाउन सक्ने अवस्था छ ।

यसैबीच सरकारको तर्फबाट ५ वर्षमा नेपाललाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने गरी गुरुयोजना तयार हुँदैछ । निजी क्षेत्र पनि थप व्यवसायिक बन्दै छ । वर्षेनी ७ हजार ५ सयकाे हारहारीमा जनशक्ति उत्पादन भइरहेका छन् । समृद्द नेपाल बनाउने अभियानमा आइटी क्षेत्रकाे सहयाेग लिने हाे भने चाँडै नै देशकाे कायापलट हुने थियाे ।

रोजगारीको अवस्था
नेपालमा ३ प्रकारका कम्पनीहरु आइटी क्षेत्रमा सञ्चालनमा छन् । यसअन्तर्गत लोकल सोलुसन्स प्रोभाइडर (अफसोरिङ सेन्टर) अर्थात् डोमेस्टिक ओरियन्टेड कम्पनीहरु, निर्यात केन्द्रित कम्पनीहरु, र हाइब्रिड खालका कम्पनीहरु। यस्ता कम्पनीहरुले कल सेन्टर, मेडिकल ट्रान्सक्रिप्सन सर्भिस, जिआइएस, डाटा माइनिङ सर्भिस, एनिमेशन सर्भिस, ब्याक अफिस डाटा प्रोसेसिङ कम्पनीहरु, कस्टमाइज्ड सफ्टवेयर डेभलपमेन्ट, क्वालिटी एसुरेन्स, सेक्युरिटी टेस्टिङ आदि कामहरु गरिरहेका छन् ।

नेपालमा पनि छिटो विकास विस्तार भइरहेको क्षेत्र हो, आइसिटी । आइसिटी क्षेत्रले मुख्यतः दुईवटा उपक्षेत्र र सेवालाई समेट्छ । कम्युनिकेशन सर्भिसअन्तर्गत इन्टरनेट, टेलिफोन र मोबाइल कम्युनिकेशन पर्छन् । त्यस्तै आइटी सर्भिसअन्तर्गत आइटी इनेबल सर्भिस र बिजनेश प्रोसेस आउटसोर्सिङ पर्छन् ।

पछिल्लो समय नेपालको आइटी बजार 'बुम' हुँदै गइरहेको देखिन्छ । आइटी कम्पनीहरुको संख्या पनि तीव्र रुपले वृद्धि हुँदै गएको अवस्था छ । अध्ययन समितिको प्रतिवेदनलाई आधार मान्ने हो भने नेपालमा १ हजार मात्रै आइटी सर्भिस कम्पनीहरु दर्ता भएर सञ्चालनमा रहेका छन् । त्यस्तै १ हजार कम्पनीमात्रै दर्ता भएर सञ्चालनमा रहेका छन् भने ठूलो संख्या अर्थात् ५ हजारको हाराहारीमा फ्रिल्यान्सरको रुपमा काम गरिरहेका छन् । यसमध्ये निकै कम कम्पनीले मात्रै ३ सयभन्दा कर्मचारीलाई रोजगारी दिएका छन् ।

अहिलेसम्म नेपालको आइटी उद्योग कस्तो छ भनेर कुनै पनि आधिकारिक रिपोर्टले बताउन सकिरहेको छैन । यसकारण सुरुमा नेपालको आइटी इकोसिस्टको म्यापिङ हुन जरूरी छ । धेरैजसो कम्पनीहरुले वेब इनेबल एप्लिकेशनको डेभलपमेन्ट, सफ्टवेयर डेभलपमेन्ट, म्यानेजमेन्ट इन्फर्मेशन सिस्टमको डिप्लोयमेन्ट, डाटा प्रोसेसिङ, कल सेन्टर आदिको काम गरिरहेका छन् ।


कहाँ कहाँ छ अवसर ?
आइसिटी क्षेत्रमा पछिल्लो समय धेरै अवसरहरु देखिन थालेका छन् । टेलिकम क्षेत्र, आइएसपी, सफ्टवेयर डेभलपमेन्ट कम्पनी आदि क्षेत्रमा जनशक्तिको धेरै माग छ । नेपालको सन्दर्भमा स्थानीय बजारका लागि काम गर्ने, स्थानीय र विदेशका लागि काम गर्ने र दुवैका लागि काम गर्ने कम्पनीहरु छन् । लोकल सोलुसन्स प्रोभाइडरले लोकल मार्केटका लागि फोकस गरेका छन् । लोकल एनजिओ, सरकारी, एकाडेमिक इन्स्टिच्युछहरु, लोकल बिजनेश आदिका लागि फोकस गरेका छन् । निर्यात केन्द्रित बिजनेश भने इन्टरनेश्नल मार्केटकसँग फोकस भएका छन् । हाइब्रिड सर्भिस प्रोभाइडरले चै दुवै लोकल र इन्टरनेशनल मार्केटमा फोकस गरेका छन् । सब सेक्टरहरु आइटी इनेबल सर्भिस र बिपिओले थुप्रै कामहरु गरिरहेका छन् ।

आइटी सपोर्ट, डाटाबेस एनालाइसिस र डेभलपमेन्ट, सेक्युरिटी, वेब डिजाइन/डेभलपमेन्ट, मोबाइल डेभलपमेन्ट, सफ्टवेयर डेभलपमेन्ट, डिजिटल कन्टेन्ट डेभलपमेन्ट आदि क्षेत्रमा नेपालमा पर्याप्त अवसर छन् ।

बिपिओ सर्भिस दिने केही कम्पनीहरुमा भेरिस्क इन्फर्मेशन टेक्नोलोजी, डियरवाक, जाभ्रा सफ्टवेयर, लिपफ्रग, एफवान सफ्ट, इनसेसान्ट रेन एनिमेसन, क्लाउड फ्याक्ट्री आदि रहेका छन् । आइसिटी सर्भिसको आयात र नियात गर्ने क्रम पछिल्लो एक दशकयता बढेको छ । नेपालमा बिपिओ इन्डस्ट्री फस्टाउनुमा कम शुल्कमा मजदूरी र अंग्रेजी बोल्ने युवा जनसंख्याका कारण हो । आइटी इनेबल सर्भिस र बिपिओ क्षेत्रमा सफ्टवेयर डेभलपमेन्ट, मोबाइल एप्लिकेशन, डिजिटल कन्टेन्ट डेभलपमेन्ट आदि कामका लागि नेपालमा पर्याप्त अवसर रहेका छन् ।

सस्तो श्रमले बिपिओको सम्भावना
आउटसोर्सिङको उपक्षेत्रका रुपमा बिजनेश प्रोसेस आउटसोर्सिङलाई लिइन्छ । नेपालमा पनि यसको प्रशस्त अवसर रहेको विश्लेषण गरिन्छ । हाल नेपालमा बिपिओ सेक्टरबाट एक हजारले रोजगारीको अवसर पाएको अनुमान गरिन्छ । आगामी ५ वर्षमा एक लाखलाई बिपिओबाट रोजगारी दिन सकिने अध्ययन समितिले समेत बताएको कुरा हो ।

यसमार्फत् कन्ट्र्याक्ट रिसर्च, इन्जिनियरिङ डिजाइन, रिमोट एजुकेशन एन्ड पब्लिसिङ, एनिमेशन र गेमिङ सर्मिसेस, बैंकिङ, सेक्युरिटी, इन्सुरेन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मेशिन लर्निङसम्बन्धी कामहरु, ट्रान्सलेसन र लोकलाइजेशनसम्बन्धी कामहरु आदि यस्ता कामहरु अन्तर्गत पर्दछन् । नेपालमा बिपिओसम्बन्धी काम गर्ने केही कम्पनीहरुमा योङ माइन्ड्स क्रिएसन, लिपफ्रग टेक्नोलोजी, ब्रेनडिजिट आदि कम्पनीहरु रहेका छन् । प्राय यी कम्पनीहरुले इन्टरनेशनल आइटी फार्मका लागि बिबिओ सर्भिसको काम गर्दछन् ।

वार्षिक कति कारोबार र कमाई भइरहेको छ भन्ने विषयमा केही आधिकारिक तथ्यांक त छैन । तर पनि बिपिओसम्बन्धी बिजनेश कम्पनीहरुले ठूलो रकम सिर्जना गर्न सक्ने अनुमान छ । अधिकांश बिपिओ फर्महरुले आफ्नो आर्थिक गतिविधि खोतल्न अस्वीकार गर्दछन् । ६ देखि १० बिलियनसम्म वार्षिक रुपमा टर्नओभर हुने अनुमान गरिन्छ । हाल नेपालमा अमेरिक, क्यानडा, अस्ट्रेलियासँग युरोपेली मुलुकहरुका लागि नेपाली बिपिओ फर्महरुले सेवा प्रदान गरिरहेका छन् ।

नलेज प्रोसेस आउटसोर्सिङ
नेपालमा अर्को सम्भावना देखिएको राम्रो क्षेत्र हो, नलेज प्रोसेस आउटसोर्सिङ । सूचना वा ज्ञानसम्बन्धी कामहरु आउटसोर्सिङ गर्ने काम नेपालका लागि राम्रो हुन सक्छ । स्वदेशी कम्पनी वा संगठनका लागि मात्रै नभई बाहिर निकै माग बढ्दो छ । कानूनी सेवा, एइजुकेशन र ट्रेनिङ, हेल्थकेयर सर्भिस, राइटिङ एन्ड कन्टेन्ट डेभलपमेन्ट, मार्केट रिसर्च र एनालाइटिक्स, इन्जिनियरिङ र आर एन्ड डी, फाइनान्सियल सर्भिस आदि यस्तो आउटसोर्सिङ अन्तर्गत पदर्छन् ।

आइटी इनेबल सर्भिस (आइटिइएस)
आइटी इनेबल सेवाका लागि नेपाली बजार निकै महत्वपूर्ण रहेको छ । कल सेन्टर, इलेक्ट्राेनिक पब्लिसिङ, मेडिकल ट्रान्सकिप्सन, डाटा सेन्टर, जिआइएस म्यापिङ, डाटा प्रोसेसिङ, टेलिमार्केटिङ, टेक्निकल सपोर्ट, ब्याक अफिस अपरेसन, डिजिटल कन्टेन्ट डेभलपमेन्ट, एनिमेशन, अनलाइन एजुकेशन आदि कामहरु हुन सक्छन् । यस्ता कामहरु नेपालमा भर्खरै सुरु भएको हुँदा भविष्यमा पनि धेरै कामहरु छन् ।