कीवर्डहरू -

३ महिनामा हाम्रो पात्रोको टेलीहेल्थबाट ५०० बढीलाई सेवा, औषधि अर्डर गर्न मिल्ने सुविधा आउँदै

३ महिनामा हाम्रो पात्रोको टेलीहेल्थबाट ५०० बढीलाई सेवा, औषधि अर्डर गर्न मिल्ने सुविधा आउँदै

नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले ल्याएको टेलीहेल्थ सेवामा ३ महिनामा ५०० भन्दा बढी कलहरू सम्पन्न भएका छन् । तीन महिना अघि मात्र डाक्टरलाई कल गर्न सकिने यो सुविधा प्रयोगकर्ताहरूमाझ लिएर आएको हाम्रो पात्रोमा ५० भन्दा धेरै विशेषज्ञ डाक्टरहरू उपलब्ध छन् ।

आफ्नो स्वास्थ्य समस्या अनुसारको आवश्यक परामर्श घरमै बसेर सजिलै लिन मिल्ने अनि विशेषज्ञ डाक्टर खोज्दै अस्पताल जान नपर्ने भएपछि प्रयोगकर्ताहरूले छोटो समयमै यो सुविधालाई माया दिएको हाम्रो पात्रोले जनाएको छ ।

यसरी ५०० कल पूरा हुँदा बाल रोग विशेषज्ञ, आन्तरिक चिकित्सा र स्त्री रोग विशेषज्ञसँग धेरै परामर्श लिईएको देखिएको छ भने भक्तपुर, काठमाडौँ र पोखराबाट धेरै कल आएको छ ।

यो विशेष अवसरमा हाम्रो पात्रो, इंकका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदारहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

उनले अगाडि भने, ‘यति छोटो समयमा प्रयोगकर्ताहरूले हामीलाई देखाउनुभएको विश्वास सराहनीय छ । म सम्पूर्ण प्रयोगकर्ताहरूलाई उहाँहरूको समर्थन र विश्वासको लागि आभार व्यक्त गर्दछु। उहाँहरूको सकारात्मक प्रतिक्रियाले टेलीहेल्थ सुविधामा नयाँ विशेषताहरू थप्न हामीलाई थप हौसला प्राप्त भएको छ ।’

नेपाली प्रयोगकर्ताहरूलाई आवश्यक हुँदा घरबाटै कम शुल्कमा विज्ञ डाक्टरको परामर्श दिनु आफुहरूको उद्देश्य भएको उनले बताए ।

\"\" उनका अनुसार स्वास्थ्य सेवा प्रविधि प्रयोग गर्दा सहज हुने, कम खर्च लाग्ने र धेरै कुराहरूमा सिमितता नहुने हुँदा स्थानीय डाक्टर या क्लिनिकमा पहुँच नभएका ग्रामीण क्षेत्रका मानिसहरूलाई यो अत्यधिक उपयोगी हुनेछ ।

त्यसबाहेक, प्रयोगकर्ताहरूले फलोअपको लागि डाक्टरसँग च्याट गर्न सक्ने र आफूले चाहेको मितिमा क्यालेन्डरमै अपोइन्टमेन्ट लिएर डाक्टरसँग परामर्श लिन सक्ने सुविधा छिट्टै संचालनमा आउँन लागेको उप्रेतिले जानकारी दिए ।

प्रयोगकर्ताहरुले स्वास्थ्यसँग सम्बन्धित कुनैपनि विषयमा छलफल गर्न हेल्थ फोरम र घरमै बसी ल्याब टेस्ट अनि औषधि अर्डर गर्न मिल्ने सुविधा पनि हाम्रो पात्रो हेल्थमा चाँडै नै प्रयोगकर्ताहरुले पाउने शंकर उप्रेतीले बताए।

टेलीहेल्थ सेवा शुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत प्रदान गरिरहेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट मात्र रु. २०० मा विज्ञ डाक्टरसँग परामर्श लिन सक्ने छन् ।

पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो ।

त्यसपछि हाम्रो पात्रोले नेपाली एपहरुमा नयाँ रेकर्ड कायम गर्दै आएको छ । १० लाख अनि ५० लाख हुँदै १ करोड डाउनलोड पूरा गर्ने हाम्रो पात्रो पहिलो नेपाली एप हो ।