कीवर्डहरू -

अनलाइन नेटवर्किङ व्यवसायमा नलाग्नुस्, कोही लागेको भए सूचना दिनुस्ः अर्थमन्त्री शर्मा

अनलाइन नेटवर्किङ व्यवसायमा नलाग्नुस्, कोही लागेको भए सूचना दिनुस्ः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अनलाइन नेटवर्किङ व्यवसायमा नलाग्न आग्रह गरेका छन् । बिहिबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका हुन् ।

डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न पनि उनले आग्रह गरे ।  कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना सरकारलाई दिन समेत उनले अनुरोध गरे ।

पछिल्लो समय क्रिप्टोकरेन्सी र परामीड शैलीको डिजिटल नेटवर्किङबाट अवैध रूपमा नेपाली पैसा बाहिरिन थालेपछि यसलाई नियन्त्रण गर्न सरकारले समिति बनाउने तयारी गरेको छ ।

उक्त समितिमा अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार, राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रतिनिधि सदस्य रहने छन् ।