कीवर्डहरू -

मोबाइल बैंकिङ, वालेट र क्यूआर कोडमा अन्तरआवद्धता लागु गर्न निर्देशन

मोबाइल बैंकिङ, वालेट र क्यूआर कोडमा अन्तरआवद्धता लागु गर्न निर्देशन

मोबाइल बैङ्किङ, डिजिटल वालेट, क्यूआर कोडलगायतका सेवामा अन्तरआबद्धता अनिवार्य हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार एक निर्देशन जारी गर्दै मोबाइल बैङ्किङ, मोबाइल वालेट, क्यूआर कोडलगायतका सेवामा अन्तरआबद्धता लागु गर्न निर्देशन दिएको हो ।

यो निर्देशनसँगै एउटा सेवाबाट अर्को सेवामा भुक्तानी गर्न र पैसा पठाउन सजिलो हुने भएको छ । यसअघि केही विद्युतीय भुक्तानी सेवा प्रदायक यस्तो किसिमको अन्तरआवद्धता गरिसकेका छन् । तर अब भने यो सबैमा लागु हुनेछ ।

निर्देशन अहिलेलाई नेपाल राष्ट्र बैङ्कबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकबाट सञ्चालित साना मूल्यका भुक्तानी उपकरण तथा सेवा, जस्तैः मोबाइल बैङ्किङ, मोबाइल वालेट, क्यूआर कोड, साना मूल्यका भुक्तानी प्रणालीमा आबद्ध अन्य सहभागी संस्था, समयसमयमा साना मूल्यका भुक्तानी प्रणालीअन्तर्गत पर्ने गरी परिभाषित गरेका कुनै पनि साना मूल्यका भुक्तानी उपकरणमा लागू हुने उल्लेख गरिएको छ ।

अन्यथा तोकेको अवस्थामा बाहेक, नेपालमा साना मूल्यका भुक्तानी प्रणाली सञ्चालन गर्ने वा साना मूल्यका भुक्तानी उपकरण जारी गर्ने सबै अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवाप्रदायक संस्थाले यससम्बन्धी अन्तर्राष्ट्रिय असल अभ्यासद्वारा स्थापित प्राविधिक तथा व्यावसायिक मापदण्डको पालना गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

कुनै संस्थाले सेवा सञ्चालन गर्दा यस्तो मापदण्ड पालना गर्न नसक्ने स्थिति सिर्जना भएमा राष्ट्र बैङ्कको पूर्वस्वीकृति लिएर सेवा सञ्चालन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

साना मूल्यका भुक्तानी प्रणाली सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संस्थाले अन्य कुनै पनि अनुमतिपत्र प्राप्त संस्थालाई आफ्नो भुक्तानी प्रणालीमा पहुँच रोक्ने गरी नियम बनाउन वा प्रविधिको प्रयोगमा रोक लगाउन नपाउने पनि निर्देशनमा उल्लेख छ ।

भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकले अन्तरआवद्धतासम्बन्धी सेवा दिँदा सेवाग्राहीबाट प्राप्त तथ्याङ्कको सुरक्षा तथा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था गरेको छ । साथै तोकिएको सेवा प्रवाह गर्दाबाहेक अन्यत्र त्यस्तो तथ्याङ्कको प्रयोग नहुने सुनिश्चितता गर्न राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

\"\" \"\" \"\"