कीवर्डहरू -

विद्यार्थीको सिकाइमा प्रयोग हुने स्याटेलाइटको नमुना ‘सस्तो क्युब’ आउँदै, कति पर्छ मूल्य ?

विद्यार्थीको सिकाइमा प्रयोग हुने स्याटेलाइटको नमुना ‘सस्तो क्युब’ आउँदै, कति पर्छ मूल्य ?

विद्यार्थीको सिकाइमा प्रयोग हुने स्याटेलाईटको नमुना ‘सस्तो क्युब’ आउने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रको पूर्ण सहयोगमा बनेको शैक्षिक सामग्री सस्तो सामग्री छिट्टै उपलब्ध हुने भएको हो ।

सस्तो क्युब अन्तरिक्षमा पठाईने भू-उपग्रह अर्थात स्याटेलाईटको हुबहु नमुना हो । यो सामग्री ६ कक्षा देखि माथिका विज्ञान विषयमा चाख हुने विद्यार्थीहरुले स्याटेलाइट कसरी बनाउने र त्यसले कसरी काम गर्छ भनेर सिक्नको लागि प्रयोग गर्न सक्नेछन् ।

उक्त सस्तो क्युबको प्रोटोटाइप बनाउने र विकास गर्ने अनुसन्धानको काममा राष्ट्रिय आविष्कार केन्द्रले पूर्ण रुपमा सहयोग गरेको केन्द्रका संस्थापक महावीर पुनले बताए ।

यो सस्तो क्युब भनेको विद्यार्थीहरुले सिक्ने शैक्षिक सामग्री हो । यसलाई विद्यार्थीहरुले खोल खाल गर्न, जोडजाड गर्न र टेस्ट गर्न  सक्नेछन् । यो सँगै यसलाई कसरी खोल्ने, कसरी जोड्ने र कसरी टेस्ट गर्ने भन्ने कुराको विस्तृत निर्देशिका सहित आउनेल पुनले जानकारी दिए ।

यसलाई क्युब स्याट पनि भनिन्छ । विकसित देशहरुले अनुसन्धानको लागि यस्ता हजारौं क्युबस्याटहरु अन्तरिक्षमा पठाइ रहेका छन् ।

नेपाल सरकारको सहयोगमा आभास मास्केको टोलीले बनाएको क्युब स्याटलाई नेपाल स्याट वान नाम दिएर  सन् २०१९ को अप्रिल महिनामा अन्तरीक्षमा पठाएको थियो ।

त्यो स्याटेलाइट २८ महिना सम्म काम गरेर पृथ्वीमा झरेको थियो । त्यो नै नेपालको पहिलो स्याटेलाइट थियो । यो सस्तो क्युब चाहिं त्यहि स्याटेलाइटको ठ्याक्कै अर्थात् हुबहु नमुना भएको पुनले बताए ।

यो सस्तो क्युबलाई नेपाल र अमेरिका, जापान, युरोप, अस्ट्रेलिया जस्ता विकसित मुलुकहरुको विद्यालयलाई शैक्षिक समाग्रीको रुपमा बेच्ने लक्ष्य राखेका छन् ।

त्यसैले विदेशमा बस्ने नेपालीहरुले आफ्नो छोराछोरीको लागि किनेर जन्म दिनको उपहार दिन पनि सक्ने उनले बताए । पुनका अनुसार हाललाई यसको मुल्य ६०० डलर जति परेको र धरै मात्रामा उत्पादन गर्दा मुल्य धेरै कम हुनेछ ।