हल्ट प्राइज आईओई पुलचोक क्याम्पसले बज्र टेक्नोलोजिज, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, दराज, इम्प्याक्ट नेपाल र भर्टेक्स नेपालसँग आफ्नो अन्तिम कार्यशाला ‘टर्निङ्ग ड्रिम टु रियालिटी’ सफलतापूर्वक सम्पन्न गरेको छ ।
यस कार्यक्रममा आफ्नो ठोस विचारहरुलाइ वास्तविकतामा परिणत गर्ने विषयबारे छलफल भएको थियो ।कार्यक्रमको उद्घाटन इ.स.अ.हल्ट प्राइजकी मिडिया कभरेज प्रबन्धक सुनीति श्रेष्ठले गरेकी थिइन । उनले हल्ट प्राइजको उद्देश्य र विषयवस्तु प्रस्तुत गर्दै कार्यक्रम बारे संक्षिप्तमा टिप्पणी गरेकी थिइन् ।
कार्यक्रममा प्रथम सहजकर्ता हल्टका पुर्व क्याम्पस प्रबन्धक, एसिया क्षेत्रका लागि हल्ट प्राइज फाउन्डेसनका क्षेत्रीय सहयोगी तथा नेक्सजेन फाउन्डेसनका संस्थापक जय किशन पञ्जियार थिए । उनले भर्चुअल ह्याकाथन गर्न क्वान्टम ह्याकको नेतृत्व पनि गरेका थिए ।
उनले विचारलाई यथार्थमा परिणत गर्न चुनौतीहरूको सामना गर्नुपर्ने बताएका थिए । १/२ वर्षमा सानो स्टार्टअप मल्टिमिलियनर सम्म पुग्न सकेको यथार्थ तर्फ इङ्गित गर्दै उनले जुनसुकै विचारहरुमा अन्वेषण गर्न, सहानुभूति दिने सरोकारवालाहरुसगँ राम्रो सम्वन्ध राख्न, अवसरहरू प्रयोग गर्न,बजार परीक्षण गर्न र उपभोक्ताहरुलाई सधै केन्द्रबिन्दुमा राख्नुपर्ने सल्लाह दिए ।
त्यसैगरी कार्यक्रममा मञ्च न्यु इम्प्याक्ट हब काठमाडौंकी निर्देशक, आइ-क्युब व्यापार इन्क्युबेशन कार्यक्रमकी डिजाइनर बाहार कुमारको सहभागिता थियो । कुमारले राम्रो टिम बिना सफलता सम्भव नभएको बताउँदै नाफा मात्र नभइ सामाजिक वातावरणीय परिवर्तन सिर्जना गर्ने विचार हुनुपर्ने बताइन् ।