कीवर्डहरू -

समृद्ध नेपाललाई सहयोग पुग्ने पाठ्यक्रम आवश्यक : प्रा.डा. शाक्य

समृद्ध नेपाललाई सहयोग पुग्ने पाठ्यक्रम आवश्यक : प्रा.डा. शाक्य

हरेक तहमा आइसिटी शिक्षा
मैले एनआइटिसीको कार्यकारी निर्देशक हुँदादेखि नै भन्दै आएको थिएँ कि समृद्ध नेपाल बनाउनु छ भने विद्यालयतहदेखि विश्वविद्यालय र पिएचडीसम्ममा आइसिटी शिक्षा आवश्यक छ । अहिले विद्यालय तहमा आइसिटी शिक्षा विस्तार भएको देखिन्छ । तर हाम्रो अपेक्षाजस्तो छैन । पहिला डिप्लोमामा आएर मात्रै कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्स पढ्नुपर्ने अवस्था थियो । अहिले कक्षा ८ देखि नै सुरु भएको छ । मैले आइसिटी शिक्षालाई मानव संशाधन विकासको आधारका रुपमा हेरेको छु । योसँगै आइसिटी पूर्वाधार बनाउने, अनलाइन एप्लिकेसन बनाउने, डाटा सेन्टर बनाउने, सञ्चार नेटवर्क बनाउनेलगायतका काममा ध्यान दिनुपर्छ ।

‘समृद्ध नेपाल’लाई सहयोग पुग्ने पाठ्यक्रम
सुरुमा त विद्यार्थीलाई आइीसटी शिक्षाको ज्ञान दिनुपर्याे । यसपछि आउँछ कस्तो पाठ्यक्रममा शिक्षा दिने । मैले भन्दै आएको के हो भने डिजिटल नेपाल र ई–नेपाल बनाउने सुहाउँदो खालको शिक्षा विद्यालय तहदेखि नै विश्वद्यिालय तहसम्म पुर्याउनुपर्छ । नेपालमा ज्ञानमा आधारित उद्योगको सम्भावना भएकाले यसलाई सहयोग पुग्ने पाठ्यक्रम चाहिन्छ । ब्याचलर्स र आइटीका कोर्सले समृद्ध नेपाल र सुखी नेपाललाई सहयोग गर्ने विषयवस्तु राख्नुपर्छ । एकेडेमिक कोर्समै ई–सर्भिस र ई–गभर्नेन्स कसरी दिने, स्मार्ट सिटी कसरी बनाउने भन्ने कुरा समेट्नुपर्छ ।

छात्रवृत्ति र जनशक्ति निर्माण
सरकारले आइटी पढ्न चाहने विद्यार्र्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्याे । सबैले पैसा तिरेर पढ्न सक्दैनन् । सरकारले हरेक वर्ष बजेट (छात्रवृत्ति) छुट्याई निश्चित संख्यामा आइटी जनशक्ति निर्माण गर्नेतर्फ लाग्नुपर्छ र डिजिटल नेपाल वा ई–नेपाल निर्माणमा यस्ता जनशक्तिलाई परिचालन गर्नुपर्दछ । यसका लागि विश्वविद्यालयसँग सहकार्य गरी स्पेसिफिक कोर्स बनाउन पहल गर्नुपर्छ ।

बिदेसिएका प्रतिभालाई फर्काउने कार्यक्रम
नेपालीहरु फेसबुक, गुगल, माइक्रोसफ्टमा गएर काम गरिरहेका छन् । उनीहरुलाई स्वदेशमै फर्काउने वातावरण बनाउन अब पहल गर्नुपर्छ । यहाँ सफ्टवेयर उद्योग पनि छैन, हार्डवेयर उद्योग पनि छैन । उनीहरु फर्किनेभन्दा यहाँका प्रतिभाहरु विदेशीने क्रम बढिरहेको छ । यति मात्रै होइन, नेपालीहरुले विदेशमा कम्पनी खोलेका छन् । यहाँ राम्रो वातावरण हुने हो भने अवश्य कम्पनी विस्तार गर्न सक्छन् । फर्र्किन चाहनेलाई आकर्षक वातावरण दिनेतर्फ सोच्नुपर्छ ।

चीन र भारतसँग सहकार्य
मेरो विचारमा हार्डवेयर उद्योगका लागि चीन र सफ्टवेयर उद्योगका लागि भारतसँग नेपाल सरकारले सहकार्य गर्नुपर्छ । नेपालमा उद्योग विस्तार गर्न अनुकूल वातावरण सिर्जना गर्ने हो भने उनीहरु यहाँ आउनै नसक्ने भन्ने होइन । यसका लागि पूर्वाधारको व्यवस्था, आयात र निर्यात, कर प्रक्रिया स्पष्ट र आकर्षक हुनुपर्छ । साथै प्रतिष्ठित प्रविधि कम्पनीहरुका शाखा नेपालमा खोल्न पहल गर्नुपर्छ ।