फोनपे नेटवर्कमा डिजिटल वालेट प्रभु पे आवद्ध भएको छ । बुधबार एक कार्यक्रम आयोजना गर्दै फोनपे र प्रभु पेबीच सहकार्य भएको हो ।
योसँगै अब प्रभु पेबाट फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने छ ।
सोमबार एमएनएस टावरमा आयोजित एक कार्यक्रमा फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र प्रभु पेका सीईओ बिक्की शाही हस्ताक्षर गरेका हुन् । अब प्रभु पेका ७ लाख प्रयाेगकर्ताले भुक्तानी गर्न पाउने छन् ।
यसअघि प्रभु पेका प्रयोगकर्ताले फोनपेको क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने सुविधा थिएन् । तर यो सम्झौतासँगै प्रभु पेका प्रयोगकर्ताले विभिन्न पसल, धार्मिक स्थल, होटेल, रेष्टुरेन्ट लगायतका अन्य क्षेत्रमा रहेका फोनपेको क्युआरकोड स्क्यान गरेर भुक्तानी गर्न सक्ने छन् ।
प्रभु पेका सीईओ बिक्की शाहीले क्यासलेस र डिजिटल साेसाइटी बनाउन याे सहकार्य भएकाे र आगामी दिनमा पनि सहकार्य गर्दै जाने बताए ।
फोनपे नेटवर्कमा इसेवा, आइएमइ पे र सेलपे, खल्ती जस्ता भुक्तानी सेवा प्रदायक आबद्ध छन् । अब यसमा प्रभु पे पनि थपिएको छ ।
फाेनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटाले अब पहिलाे प्राथमिकता डिजिटल भुक्तानी हुनुपर्ने बताए ।
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।
बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।
दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसी आइडि एसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।