कीवर्डहरू -

फोनपे नेटवर्कमा प्रभुपे आबद्ध, प्रभु पेका ७ लाख प्रयोगकर्तालाई भुक्तानीमा झनै सहज

फोनपे नेटवर्कमा प्रभुपे आबद्ध, प्रभु पेका ७ लाख प्रयोगकर्तालाई भुक्तानीमा झनै सहज

पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता कायम गर्ने क्रम बढिरहेको छ ।

यसैक्रममा नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको छ । बुधवार एक कार्यक्रमकाबीच अन्तरआवद्धता सम्बन्धी जानकारी दिइएको थियो ।

यस सहकार्यसँगै अब प्रभुपे फोनपे नेटवर्कमा आबद्ध भएको छ । अबदेखि प्रभुपेका ग्राहकले  फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस किसिमको  सहकार्य नेपालको डिजिटल कारोबारमा ठुलो उपलब्धी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, ‘हामी पहिला देखि नै अन्तरआबद्धताका लागि जोड दिँदै आइरहेका थियौँ,पछिल्ला दिनमा नियामक निकाय राष्ट्रबैंकले पनि एक आपसमा अन्तरआद्धताका लागि निर्देशन गरिरहेको छ । हामी सबै कम्पनीको लडाई भनेको नगद कारोबारसँग हो । प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा थप मद्दत पुग्नेछ । हामी अन्य भुक्तानी सेवा प्रदायकलाई पनि हम्रो नेटवर्कमा जोडिन आह्वान गर्दछौँ“।’

यस्तै प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले भने, ‘फोनपेसँगको यस सहकार्यका लागि सबैलाई धन्यवाद छ । हामी डिजिटल कारोबारका लागि धेरै किसिमका सहकार्य गरेर अगाडी बढ्नुपर्छ ।’

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।

दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसी आइडि एसएस भि थ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो ।

प्रभुसमुह अन्तरगत रहेको प्रभुपेले पछिल्ला दिनमा डिजिटल कारोबारलाई अगाडी बढाइरहेको छ । हाल यस कम्पनीका ७ लाख भन्दा धेरै ग्राहक रहेका छन् ।

प्रभुपे मार्फत मोबाइल र टिभी रिचार्ज, हवाइ टिकट, मुभी टिकट लगायतका सेवाका साथै थुप्रै सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदान प्रदान गर्न सकिन्छ ।