कीवर्डहरू -

काठमाडौं महानगरपालिकाको कर अब खल्तीबाटै तिर्न सकिने, यस्तो छ तरिका

काठमाडौं महानगरपालिकाको कर अब खल्तीबाटै तिर्न सकिने, यस्तो छ तरिका

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीबाट अब काठमाडौ महानगरपालिकाको कर भुक्तानी गर्न मिल्ने भएको छ । यो सुविधा उपलब्ध भएसँगै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू घरमै बसेर तिर्न सक्ने छन् ।

जग्गा, घर, भाडा, सवारी, साधन, व्यवसाय लगायतको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सकिने छ । यस सेवा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क  अनलाइनमार्फत् नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुने बताए ।

‘साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा हामीले राखेका छौं’ उनले भने ।

कसरी तिर्ने कर ?

शुरूमा करदाताले https://eservice.kathmandu.gov.np मा गएर आवश्यक पर्ने सम्पूर्ण विवरण दाखिला गरी करदाता पोर्टलमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ । दर्ता भई सकेको खण्डमा आफ्नो आफ्नो युजर नाम र पासवर्ड दाखिला गरि लग-इन गर्नुपर्ने छ ।

करदाता पोर्टलमा लग इन गरे पश्चात करदाताको विवरण प्राप्त हुनेछ । आफूले तिर्ने करको छनोट गरेर कर मुल्यांकन हुनेछ । सम्पूर्ण विवरण सहि भए भुक्तानी विकल्पहरूमा खल्ती छनौट गरेर प्रक्रिया पूरा गर्न सक्नेछन्।