आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आईतबारदेखि बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको कर र नवीकरण शुल्क तिर्न सकिने भएको हो ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नागरिक एपबाट सवारी कर र नवीकरण गर्न सकिने गरी ईसेवा र खल्तीलाई अनुमति दिएको छ ।
मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकबाट हिसा मिलान गर्ने गरी इसेवा र खल्तीलाई सवारी कर र नवीकरण शुल्क संकलन गर्न स्वीकृति दिएको जनाएको छ ।
शुरूमा बागमती प्रदेशबाट सवारीकर र नवीकरण शुल्क तिर्ने व्यवस्था भएपनि विस्तारै अन्य प्रदेश समेत थप्दै जाने नागरिक एपको योजना रहेको छ ।
नागरिक एपमा भेहिकल ट्याक्स नामक अप्सन छ । जसबाट आफ्नो सवारीसाधनको जानकारी हेर्न, बाँकी तिर्नुपर्ने कर र तिरिसकेको कर बारे जानकारी लिन सकिने भने भुक्तानी सेवा प्रदायक छनोट गरेर कर तिर्न समेत सकिने छ ।