कीवर्डहरू -

नागरिक एपबाटै ४९ हजारले लिए प्यान नम्बर, तपाईले लिने कसरी ? 

नागरिक एपबाटै ४९ हजारले लिए प्यान नम्बर, तपाईले लिने कसरी ? 

नागरिक एपबाट ४९ हजारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिएका छन् । नागरिक एपबाट हालसम्म ४९ हजार १९३ जनाले प्यान नम्बर लिएका हुन् ।

सम्भव भएसम्मका सबै सुविधाहरू नागरिक एपबाट दिने उद्देश्यले शुरू गरिएको नागरिक एपमा अहिले १५ सरकारी निकायमा २६ सेवाहरू एपमा उपलब्ध छन् ।

नागरिक एपबाट प्यान नम्बर लिन शुरूमा एपमा खाता खोल्नुपर्ने हुन्छ र आफ्नो नागरिकता पुष्टि गराउनुपर्ने हुन्छ । पुष्टि गर्न नागरिकता लेखिएको ठाउँमा क्लिक गर्नुहोस् र आफ्नो नागरिकता नम्बर, जारी भएको मिति तथा जिल्ला र जन्मभएको मिति राख्नुहोस् ।

तपाईले दिएको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेमा तत्कालै पुष्टि हुनेछ ।  तर यदी नागरिक एपमा खाता खोल्दा यो पक्रिया पुरा गर्नुभएको छ भने फेरि गरिरहनु पर्दैन् ।

त्यसपछि प्यान लेखिएको ठाउँमा क्लिक गर्नुहोस र रजिष्टर प्यानमा क्लिक गर्नुहोस् । अनि आफुलाई पायक पर्ने राजस्व कार्यालय छनोट गर्नुहोस् र पुनः अगाडि बढ्नुहोस् । अब त्यहाँ तपाईले प्रमाणिकरण गराएका विवरण स्वत भरिएर आउनेछन् ।

यति गरिसकेपछि आफ्नो मोबाइलबाट आफ्नो पासपोर्ट आकारको तस्वीर खिच्नुहोस् । तपाईंको मोबाइलमा यस अघि नै तपाईंले पासपोर्ट आकारको फोटो राख्नुभएको छ भने त्यसलाई पनि प्रयोग गर्न सक्नुहुन्छ ।

फाराममा छुटेका सबै विवरण थप्नुहोस् र गलत विवरण सच्याएर अगाडि बढ्नुहोस् । यति गरेसँगै तपाईंको निवेदन तयार भयो । अब अन्तिममा दायाँतर्फ रहेको बुझाउनुहोस् लेखिएको स्थानमा दबाउनु भयो भने तपाईंको प्यान दर्ता प्रक्रिया पुरा हुन्छ । अनि नागरिक एपमै आफ्नो प्यान कार्ड पाउन सकिन्छ ।